12
यस्तो भयो, जब रहबामको राज्‍य स्थापित भयो र तिनी शक्तिशाली भए, तब तिनले परमप्रभुको व्यवस्था त्‍यागे - र तिनीसँगै जम्मै इस्राएलले पनि त्‍यागे ।2 रहबाम राजाको शासनकालको पाँचौँ वर्षमा मिश्र देशका राजा शीशक यरूशलेमको विरुद्धमा आए, किनभने मानिसहरू परमप्रभुप्रति अविश्‍वासी भएका थिए ।3 तिनी बाह्र सय रथ र साठी हजार घोडचढी लिएर आए । तिनीसँग मिश्र देशबाट आएका असङ्‌ख्‍य फौजहरूः लिबियाली, सुक्किया र कूशीहरू आए ।4 तिनले यहूदाका किल्लाबन्‍दी गरिएका सहरहरू जिते र यरूशलेममा आइपुगे ।5 शीशकको कारणले यरूशलेममा भेला भएका रहबाम र यहूदाका अगुवाहरू भएको ठाउँमा शमयाह अगमवक्ता आए । शमायाहले तिनीहरूलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छः ‘तिमीहरूले मलाई त्‍यागेका छौ, यसैले मैले पनि तिमीहरूलाई शीशकको हातमा सुम्पिदिएको छु’ ।”6 तब इस्राएलका शासकहरू र राजाले आफूलाई विनम्र बनाए र भने, “परमप्रभु धर्मी हुनुहुन्‍छ ।”7 जब तिनीहरूले आफूलाई विनम्र तुल्याएका छन् भनी परमप्रभुले देख्‍नुभयो, तब परमप्रभुको वचन शमायाहकहाँ यसो भनेर आयो, “तिनीहरूले आफूलाई विनम्र तुल्याएका छन् । म तिनीहरूलाई विनाश गर्नेछैनँ । म तिनीहरूलाई केही हदसम्म उद्धार गर्नेछु, र शीशकको हातद्वारा यरूशलेममा म आफ्नो क्रोध खन्‍याउनेछैनँ ।8 तापनि तिनीहरू त्‍यसका सेवकहरू हुनेछन् ताकि मेरो सेवा गर्नु र अरू देशका शासकहरूका सेवा गर्नमा के भिन्‍नता रहेछ सो तिनीहरूले बुझून् ।”9 यसैले मिश्र देशका राजा शीशक यरूशलेमको विरुद्धमा आए र परमप्रभुको मन्‍दिरमा भएका कोषहरू र राजाको महलका भण्डारका धन-सम्पत्ति लुटेर लगे । तिनले हरेक कुरा लगे । सोलोमनले बनाएका सुनका ढालहरू पनि तिनले लगे ।10 रहबाम राजाले तिनका सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको ढोकाहरूका रक्षा गर्ने रक्षकहरूका कप्‍तानको जिम्मामा दिए ।11 जब राजा परमप्रभुको मन्‍दिरभित्र पस्थे, तब रक्षकहरूले ती बोक्थे । अनि तिनीहरूले रक्षक बस्‍ने कोठामा फेरि ती फर्काउँथे ।12 जब रहबामले आफूलाई विनम्र तुल्याए, तब तिनलाइ पूरै नष्‍ट नगर्नलाई परमप्रभुको क्रोध तिनीबाट हट्‌यो । यसका अतिरिक्त, यहूदामा केही असल कुरा अझै बाँकी थियो ।13 यसरी रहबाम राजाले यरूशलेममा आफ्नो राजकाज बलियो बनाए, र यसरी तिनले राज्‍य गरे । रहबामले राज्‍य गर्न सुरु गर्दा तिनी एकचालीस वर्षका थिए, र परमप्रभुले इस्राएलका सारा कुलबाट आफ्नो नाउँ राख्‍नका निम्ति चुन्‍नुभएको सहर यरूशलेममा तिनले सत्र वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अम्मोनी स्‍त्री नामा थियो ।14 तिनले जे खराब थियो त्‍यही गरे, किनभने तिनले आफ्नो हृदय परमप्रभुको खोजी गर्न लगाएनन् ।15 रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्म शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्तकहरूमा समेत लेखिएका छैनन् र, जसमा वंशावलीहरू र रहबाम र यारोबामका बीचमा निरन्‍तर भएको युद्धका अभिलेख पनि राखिएको छन् ?16 रहबाम आफ्ना पुर्खाहरूसित सुते, र दाऊदको सहरमा गाडिए । तिनका छोरा अबिया तिनका ठाउँमा राजा भए ।