11
जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्‍य पुनःर्स्थापित गर्नलाई, इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्‍यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।2 तर परमप्रभुको वचन परमेश्‍वरका मानिस शमायाहकहाँ यसो भनेर आयो,3 “सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्‍यामिनका भएका सारा इस्राएललाई यसो भन्,4 ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ, “आफ्नै दाजुभाइहरूका विरुद्धमा तिमीहरूले आक्रमण गर्नु वा युद्ध गर्नु हुँदैन । हरेक व्यक्ति आ-आफ्नै घरमा फर्केर जानुपर्छ, किनकि मैले नै यसो हुन दिएको हो” ।’ ” यसैले तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आक्रमण गर्नबाट पछि हटे ।5 रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।6 तिनले बेथहेलेम, एताम, तको,7 बेथ सर, सोखो, अदुल्लाम,8 गात, मारेशा, जीप,9 अदोरेम, लाकीश, आजेका,10 सोरा, अय्यालोन र हेब्रोन निर्माण गरे । यहूदा र बेन्‍यामीनका किल्लाबन्‍दी गरिएका सहरहरू यी नै थिए ।11 तिनले ती गढीहरू किल्लाबन्‍दी गरे र तिनमा सेनापतिहरू नियुक्त गरे । त्‍यहाँ तिनले खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्चय गरिदिए ।12 तिनले सबै सहरमा ढाल र भालाहरू राखे, र तिनीहरूलाई धेरै बलियो बनाए । यसरी यहूदा र बेन्‍यामीन तिनका भए ।13 जम्मै इस्राएलमा भएका चारैतिरबाट पूजाहारीहरू र लेवीहरू आ-आफ्ना सिमानाहरूबाट तिनीकहाँ गए ।14 किनकि लेवीहरूले यहूदा र यरूशलेममा आउनको निम्ति आफ्ना खर्कहरू र जग्गाजमिन छोडे, किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई लखेटेका थिए, जसका कारण तिनीहरूले परमप्रभुको पूजाहारीको काम गर्न पाएनन् ।15 डाँडाका अग्‍ला थानहरू र आफूले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्नै पूजाहारीहरू नियुक्त गरे ।16 परमप्रभु इस्राएलका परमेश्‍वरलाई खोज्‍न आफ्नो हृदयहरू दिएका इस्राएलका सबै कुलबाट मानिसहरू तिनीहरूको पछि आए । तिनीहरू परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरलाई बलिदान चढाउन यरूशलेममा आए ।17 यसैले तिनीहरूले यहूदाको राज्‍य बलियो बनाए र तीन वर्षसम्म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्‍यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार तीन वर्षसम्म हिँडे ।18 रहबामले आफ्नो निम्ति एउटी पत्‍नी ल्याएः तिनी महलत थिइन् । तिनका बुबा दाऊदका छोरा यरीमोत थिए र आमाचाहिँ यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन् ।19 उनले तिनको निम्ति छोराहरू जन्‍माइन्ः येऊश, शमरयाह र साहम ।20 महलतपछि तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे । उनले तिनको निम्ति अबिया, अत्तै, जीजा र शलोमीत जन्‍माइन् ।21 रहबामले आफ्ना सबै पत्‍नीहरू र उपपत्‍नीहरूलाई भन्‍दा धेरै माया माकालाई गरे (तिनले अठाह्र पत्‍नीहरू र साठी उपपत्‍नीहरू ल्याए, र तिनका अट्ठाईस छोराहरू र साठी छोरीहरू थिए) ।22 रहबामले माकाका छोरा अबियालाई दाजुभाइहरूका प्रमुख अगुवा नियुक्त गरे । तिनले उनलाई राजा बनाउने विचार गरेका थिए ।23 रहबामले बुद्धिमानीपूर्वक राज्‍य गरे । तिनले आफ्ना सबै छोराहरूलाई यहूदा र बेन्‍यामीनका किल्लाबन्‍दी गरिएका जम्मै सहरहरूमा पठाए । तिनले उनीहरूका निम्ति प्रशस्त खानेकुरा दिए र तिनीहरूका निम्ति धेरै जना पत्‍नीहरू खोजिदिए ।