10
रहबाम शकेममा गए, किनकि सारा इस्राएल तिनलाई राजा तुल्याउन शकेममा आइरहेका थिए ।2 जब नबातका छोरा यारोबामले यो कुरा सुने (किनकि तिनी मिश्र देशमा थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्र देशबाट फर्के ।3 यसैले तिनीहरूले मानिसहरू पठाए र तिनलाई बोलाए, र रहबाम र सबै इस्राएल आए । तिनीहरूले रहबामसित कुरा गरे र भने,4 “तपाईंका बुबाले हाम्रो जुवा गाह्रो बनाउनुभयो । यसकारण, अब तपाईंका बुबाको कठोर कामलाई सजिलो बनाउनुहोस्, र उहाँले हामीमाथि लाद्नुभएको गह्रौँ जुवा हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौँ ।”5 रहबामले तिनीहरूलाई भने, “तीन दिनपछि फेरि मकहाँ आओ ।” यसैले मानिसहरू गए ।6 राजा रहबामले आफ्नो बुबा सोलोमन जीवित छँदा तिनका सेवा गर्ने पाका मानिसहरूसँग सल्लाह मागे । तिनले भने, “यी मानिसहरूलाई जवाफ दिन तपाईंहरू कस्तो सल्लाह दिनुहुन्छ ?”7 उनीहरूले तिनलाई यसो भने, “यी मानिसप्रति तपाईं असल हुनुभयो र तिनीहरूलाई खुसी पार्नुभयो, र तिनीहरूलाई असल वचन दिनुभयो भने, तिनीहरू सधैँ तपाईंका सेवकहरू हुनेछन् ।”8 तर ती पाका मानिसहरूले आफूलाई दिएको सल्लाहलाई रहबामले बेवास्ता गरे, र आफूसित हुर्केका र आफ्नो सामु खडा भएका जवान मानिसहरूका सल्लाह तिनले मागे ।9 तिनले उनीहरूलाई भने, “तिमीहरू मलाई कस्तो सल्लाह दिन्छौ, ताकि मसित कुरा गर्ने मानिसहरूलाई हामी जवाफ दिन सकौँ जसले भने, ‘तपाईंका बुबाले हामीमाथि लाद्नुभएको गह्रौँ जुवा हलुङ्गो गरिदिनुहोस्’ ?”10 रहबामसित हुर्केका ती जवान मानिसहरूले यसो भनेर तिनीसित कुरा गरे, “तपाईंको बुबा सोलोमोनले तिनीहरूका जुवा गह्रौँ बनाउनुभयो, तर तपाईंले त्यो हलुङ्गो बनाउनुपर्छ भन्ने यी मानिसहरूलाई तपाईंले यसो भन्नुपर्छ । तिनीहरूलाई तपाईंले यसो भन्नुपर्छ, ‘मेरो कान्छी औँला मेरा बुबाको कम्मर भन्दा मोटो छ ।11 यसैले अब, मेरा बुबाले तिमीहरूमाथि गह्रौँ जुवा बोकाउनुभए तापनि, तिमीहरूका जुवामाथि म थप्नेछु । मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्ड दिनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले दण्ड दिनेछु’ ।”12 यसैले “तीन दिनपछि फेरि मकहाँ आओ”, भन्ने राजाको हुकुमबमोजिम यारोबाम र ती सबै मानिसहरू तेस्रो दिन रहबामकहाँ आए ।13 अनि ती पाका मानिसहरूका सल्लाहलाई बेवास्ता गरेर रहबामले तिनीहरूसँग कठोर किसिमले बोले ।14 ती जवान मानिसहरूका सल्लाहको अनुसरण गरेर उनीहरूसँग तिनले यसो भने, “मेरा बुबाले तिमीहरूको जुवा गह्रौँ बनाउनुभयो, तर म त्यसमा थप्नेछु । मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्ड दिनुहुन्थ्यो, तर म तिमीहरूलाई बिच्छीहरूले दण्ड दिनेछु ।”15 यसरी राजाले ती मानिसहरूका कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्नुभएको वचन पूरा हुनलाई परमेश्वरले नै यस्ता घटनाहरू हुन दिनुभयो ।16 जब राजाले आफ्ना कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए र भने, “दाऊदमा हाम्रो के हिस्सा छ र ? यिशैका छोरामा हाम्रो केही उत्तराधिकार छैन ! ए इस्राएल, तिमीहरू हरेका आ-आफ्नै पालमा जानुपर्छ । अब ए दाऊद, तिम्रो आफ्नै घरको रेखदेख गर ।” यसैले सबै इस्राएल आ-आफ्ना पालहरूमा फर्के ।17 तर यहूदाका सहरहरूमा बस्ने इस्राएलका मानिसहरूमाथि चाहिँ रहबामले राज्य गरे ।18 तब राजा रहबामले ज्यालाबिना काममा लगाइएका मानिसहरूका निरीक्षक अदोनीरामलाई पठाए, तर इस्राएलका मानिसहरूले तिनलाई ढुङ्गाले हानेर मारे । राजा रहबामचाहिँ आफ्नो रथमा चढेर तुरुन्तै यरूशलेमतर्फ भागे ।19 अनि आजको दिनसम्म पनि दाऊदका घरानाप्रति इस्राएलचाहिँ विद्रोही भएको छ ।