9
जब शेबाकी रानीले सोलोमनको ख्यातिको बारेमा सुनिन्, तब कठिन प्रश्‍नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन् । तिनी मसलाहरू, प्रशस्त सुन र धेरै बहुमूल्य रत्‍नहरूलाई ऊँटहरूमा लदाएर एक अत्‍यन्‍तै ठूलो लावालश्करसाथ आइन् । जब तिनी सोलोमनकहाँ आइन्, तब तिनले आफ्नो मनमा भएका सबै कुरा उनलाई भनिन् ।2 सोलोमनले तिनका सबै प्रश्‍नहरूका जवाफ दिए । सोलोमनको निम्ति कुनै कुरा पनि प्रश्‍न कठिन भएन । तिनले जवाफ नदिएको कुनै पनि प्रश्‍न बाँकी रहेन ।3 जब शेबाकी रानीले सोलोमनको बुद्धि, र तिनले बनाएको राजमहल देखिन्,4 तिनको टेबिलको भोजन, तिनका सेवकहरूका बसाइ, तिनका सेवकहरूका काम र तिनीहरूका पोशाकहरू, र तिनका मद्य पियाउनेहरू र तिनका पोशाकहरू, र परमप्रभुको मन्‍दिरमा तिनले चढाएका होमबलिहरू देखिन्, तिनी आश्‍चर्यचकित भइन् ।5 तिनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको विषयमा मैले आफ्नो देशमा सुनेको कुरा साँचो रहेछ ।6 म यहाँ नआएसम्म मैले जे सुनेँ त्‍यो मैले विश्‍वास गरिनँ, र अहिले मेरा आँखाले यी देखेका छन् । तपाईंको बुद्धि र सम्पत्तिको विषयमा मलाई आधा कुरा पनि भनिएको रहेनछ ! तपाईंको ख्याति मैले सुनेको भन्‍दा बढी रहेछ ।7 तपाईंका मानिसहरू कति धन्‍यका हुन् र निरन्‍तर तपाईंको सामु खडा रहने तपाईंका सेवकहरू कति धन्‍यका हुन् किनभने तिनीहरूले तपाईंका बुद्धिका कुराहरू सुन्‍न पाउँछन् ।8 तपाईंसित प्रसन्‍न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्नुहुने परमप्रभु तपाईंका परमेश्‍वर धन्‍यका होउन् । किनभने इस्राएललाई सदाको निम्ति स्थापित गराउनलाई तपाईंका परमेश्‍वरले त्‍यसलाई प्रेम गर्नुभयो । तपाईंले न्‍याय र धार्मिकता कायम राख्‍नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा बनाउनुभयो !”9 तिनले राजालाई चार टन सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्‍नहरू दिइन् । सोलोमन राजालाई शेबाकी रानीले दिएको जति धेरै मसलाहरू तिनलाई फेरि कसैले पनि दिएन ।10 ओपीरबाट सुन ल्याउने हीरामका सेवकहरू र सोलोमनका सेवकहरूले चन्‍दनको काठ र बहुमूल्य रत्‍नहरू पनि ल्याए ।11 चन्‍दनका काठबाट राजाले परमप्रभुको मन्‍दिर र राजमहलका सिँढी र संगीतकारहरूका निम्ति वीणा र सारङ्‌गीहरू पनि बनाए । यहूदा देशमा यस भन्‍दा अघि कहिल्यै पनि यस्ता काठहरू देखिएका थिएनन् ।12 शेबाकी रानीले जे इच्‍छा गरिन् र जे मागिन् ती हरेक कुरा सोलोमन राजाले तिनलाई दिए । तिनले राजालाई ल्याएर दिएका थोक भन्‍दा धेरै तिनले उनलाई दिए । यसरी उनी बिदा भइन् र आफ्ना सेवकहरूका साथ आफ्नो देशमा फर्किन् ।13 सोलोमनकहाँ हरेक वर्षमा आएको सुनको तौल तेईस टन हुन्‍थ्यो,14 यो व्यापारीहरू र कारोबारीले ल्याएका सुनबाहेक थियो । अरब देशका सबै राजा र प्रादेशिक राज्‍यपालहरूले पनि राजाको निम्ति सुन र चाँदी ल्याए ।15 सोलोमन राजाले पिटेका सुनका दुई सय ठूला ढालहरू बनाए । प्रत्‍येक ढाल बनाउन साढे तीन किलोग्राम सुन लागेको थियो ।16 पिटेको सुनका तीन सय साना ढाल पनि तिनले बनाए । प्रत्‍येक ढालमा करीब डेढ किलोग्राम सुन थियो । राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे ।17 तब राजाले हस्ती-हाडको एउटा ठूलो सिंहासन बनाए र त्‍यसमा निखुर सुनको जलप लगाए ।18 सिंहासनमा उक्लने छ वटा खुड्किला थिए, र सुनको एउटा पाउदान सिंहासनसँग जोडिएको थियो । आसनका दुवैतिर हात अड्‌याउने ठाउँ थिए जसको दुवै छेउमा दुई वटा सिंहहरू खडा थिए ।19 छ वटै खुड्किलाका दुवैपट्टि एक-एक वटा गरी जम्मा बाह्र वटा सिंह खडा थिए । कुनै पनि राज्‍यमा यस्तो किसिमको सिंहासन थिएन ।20 सोलोमनका पिउने कचौरा सबै सुनका थिए, र लेबनानको वन भनिने राजमहलमा भएका पिउने कचौरा सबै सुनका थिए । चाँदीको केही पनि थिएन, किनभने सोलोमनको समयमा चाँदीलाई बहुमूल्य ठानिदैनथ्‍यो ।21 हिरामका समुद्री जहाजका साथमा राजाका पनि जहाजहरू थिए । हरेक तीन वर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हस्ती-हाड, ढेडुहरू र बाँदरहरू लिएर आउँथे ।22 यसरी सोलोमन राजाले धन-सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजाहरूलाई जितेका थिए ।23 परमेश्‍वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्‍न पृथ्वीका सबै राजाहरूले तिनको उपस्थितिमा बस्‍न खोज्‍थे ।24 आउने हरेकले आफ्नो सौगात, चाँदी र सुनका भाँडाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोडा र खच्‍चरहरू वर्षैपिच्‍छे ल्याउँथे ।25 सोलोमनसँग आफ्ना घोडा र रथहरूका निम्ति चार हजार तबेला थिए । अनि तिनका बाह्र हजार घोडचढी थिए, जसलाई तिनले रथहरू राख्‍ने सहरहरूमा र अरूलाई चाहिँ आफूसित यरूशलेममा राखे ।26 तिनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूका देश र मिश्र देशको सिमानासम्मै राज्‍य गरे ।27 राजासँग यरूशलेममा चाँदीचाहिँ ढुङ्‌गैसरह थिए । तिनले देवदारुको काठचाहिँ पहाडका जङ्‌गली अञ्‍जीरका बोटहरूसरह तुल्याए ।28 तिनीहरूले सोलोमनका निम्ति मिश्र देश र अरू सबै देशबाट घोडाहरू ल्याए ।29 सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र दर्शी इद्दोका दर्शनको पुस्तकमा (जसमा नबातका छोरा यारोबामको विषयमा पनि जानकारी छ) वर्णन गरिएका छैनन् र ?30 सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालीस वर्ष राज्‍य गरे ।31 त्‍यसपछि तिनी आफ्ना पुर्खाहरूसित सुते, र मानिसहरूले तिनलाई तिनका बुबा दाऊदको सहरमा गाडे । तिनका ठाउँमा तिनका छोरा रहबाम राजा भए ।