15
परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो ।2 तिनी आसालाई भेट गर्न गए र तिनलाई भने, “ए आसा, यहूदा र बेन्यामीनका सबै जना, मेरा कुरा सुन्नुहोस्ः जब तपाईंहरू परमप्रभुसँग रहनुहुन्छ, तब उहाँ पनि तपाईंहरूसँग हुनुहुन्छ । तपाईंहरूले उहाँलाई खोज्नुभयो भने, तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ । तर तपाईंहरूले उहाँलाई त्याग्नुभयो भने उहाँले पनि तपाईंहरूलाई त्याग्नुहुनेछ ।3 अब धेरै समयसम्म इस्राएल साँचो परमेश्वर, सिकाउने पूजाहारी र व्यवस्थाबिना थियो ।4 तर जब आफ्नो कष्टमा तिनीहरू परमप्रभु इस्राएलका परमेश्वरतिर फर्के र उहाँलाई खोजे, तब तिनीहरूले उहाँलाई पाउन सके ।5 त्यसबेला यहाँबाट यात्रा गरेर टाढा जाने र यात्रा गरेर यहाँ आउने दुवैलाई शान्ति थिएन । बरू, देशमा बसोबास गर्ने सबैमाथि ठूलो सङ्कष्ट थियो ।6 तिनीहरू टुक्राटुक्रा पारिए, राष्ट्रको विरूद्ध राष्ट्र, र सहरको विरूद्ध सहर, किनकि परमेश्वरले तिनीहरूलाई सबै किसिमका दुःखले समस्यामा पार्नुभयो ।7 तर तपाईंहरू बलियो हुनुहोस्, आफ्ना हातहरू कमजोर हुन नदिनुहोस्, किनकि तपाईंका कामहरूको प्रतिफल दिइनेछ ।”8 जब आसाले यी कुरा सुने, ओदेदका छोरा अजर्याह अगमवक्ताको अगमवाणी, तब तिनको साहस बढ्यो, र यहूदा र बेन्यामीनका सारा देश र तिनले कब्जा गरेका एफ्राइमका पहाडी देशका सहरहरूबाट घिनलाग्दा कुराहरू सबै हटाइदिए, र तिनले परमप्रभुको मन्दिरका दलानको अगि भएको परमप्रभुको वेदी पनि मर्मत गरे ।9 तिनले सारा यहूदा र बेन्यामीन र एफ्राइम, मनश्शे र शिमियोनबाट तिनीहरूसँग बस्नेहरूलाई भेला गरे । किनभने परमप्रभु तिनका परमेश्वर तिनीसँग हुनुभएको तिनीहरूले देखेर इस्राएलबाट तिनीहरू धेरै सङ्ख्यामा तिनीकहाँ आए ।10 यसैले आसाका राजकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा एकसाथ भेला भए ।11 त्यस दिन तिनीहरूले ल्याएको लूटका मालबाट परमप्रभुलाई सात सय साँढे र सात हजार भेडाहरू र बाख्राहरू बलिदान चढाए ।12 तिनीहरू आफ्ना सारा हृदय र आफ्ना सारा प्राणले परमप्रभु आफ्ना पुर्खाका परमेश्वरको खोजी गर्नलाई करार बाँधे ।13 अनि परमप्रभु इस्राएलका परमेश्वरलाई नखोज्ने जोसुकैलाई मारिनुपर्छ भन्ने कुरामा तिनीहरूले सहमति गरेः चाहे त्यो व्यक्ति सानो होस् वा ठूलो होस्, चाहे पुरुष होस् वा स्त्री होस् ।14 तिनीहरूले ठूलो स्वरले, चिच्च्याहटका साथ, र तुरहीहरू र नरसिङ्गा बजाउँदै परमप्रभुसँग शपथ खाए ।15 सारा यहूदा शपथमा आनन्दित भयो, किनकि तिनीहरूले आफ्ना पूरा हृदयले शपथ खाएका थिए, र तिनीहरूले आफ्ना सारा इच्छाले परमेश्वरलाई खोजे, र तिनीहरूले उहाँलाई पाउन सके । तिनीहरूका वरिपरि सबैतिरबाट परमप्रभुले तिनीहरूलाई शान्ति दिनुभयो ।16 तिनले आफ्नी हजुरआमा माकालाई पनि राजमाताको पदबाट हटाइदिए, किनभने तिनले अशेरा देवीको खम्बाबाट घिनलाग्दो मूर्ति बनाएकी थिइन् । आसाले त्यो घिनलाग्दो मूर्तिलाई काटेर ढालिदिए, त्यसलाई धूलोपीठो पारे र किद्रोन खोल्सामा जलाइदिए ।17 तर डाँडाहरूमा भएका अग्ला थानहरू इस्राएलबाट हटाइएनन् । तापनि आसाको जीवनकालभरि तिनको हृदय विश्वासयोग्य रहिरह्यो ।18 तिनले आफ्ना पिताले अर्पण गरेका सुन, चाँदी र भाँडाकुँडाहरू परमेश्वरको मन्दिरमा ल्याए ।19 आसाको राजकालको पैँतीसौँ वर्षसम्म कुनै युद्ध भएन ।