26
द्वारपालहरूका विभाजन यस प्रकार थियोः कोरहीहरूबाट, कोरेका छोरा मेशेलेम्याह, जो आसापका छोरा थिए ।2 मेशेलेम्याहका छोराहरूः जेठा जकरिया, माहिला येदीएल, साहिँला जबदियाह, काहिँला यत्नीएल,3 ठाइँला एलाम, अन्तरे येहोहानान, र कान्छा एल्यहोएनै थिए ।4 ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिँला योआ, काहिँला साकार, ठाइँला नतनेल,5 अन्तरे अम्मीएल, जन्तरे इस्साखार र कान्छा पुल्लतै, किनकि परमेश्वरले ओबेद एदोमलाई आशिष् दिनुभएको थियो ।6 तिनका छोरा शमायाहका छोराहरू जन्मे जसले आ-आफ्ना परिवारहरूमाथि शासन गरे । तिनीहरू धेरै क्षमता भएका मानिसहरू थिए ।7 शमायाहका छोराहरू ओत्नी, रपाएल, ओबेद, र एल्जाबाद थिए । तिनका आफन्तहरू एलीहू र समक्याह पनि धेरै क्षमता भएका मानिसहरू थिए ।8 यी सबै ओबेद एदोमका सन्तानहरू थिए । तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्यता भएका मानिसहरू थिए । ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्ख्या ६२ जना थिए ।9 मेशेलेम्याहका छोराहरू र आफन्तहरू सबै योग्यता भएका मानिसहरू थिए । तिनीहरूको सबै सङ्ख्या १८ जना थिए ।10 मरारीका सन्तान होसाका छोराहरूः अगुवा शिम्री (तिनी जेठा नभए तापनि तिनका बाबुले तिनलाई अगुवा बनाए),11 माहिला हिल्कियाह, साहिँला तबलियाह र कान्छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्मा सङ्ख्या 13 जना थिए ।12 तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्ना आफन्तहरूझैँ परमप्रभुको मन्दिरको सेवा गर्नु पर्थ्यो ।13 तिनीहरू जवान र बूढ़ा दुवैले आ-आफ्ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्ति चिट्ठा हाले ।14 जब पूर्व ढोकाको लागि चिट्ठा हालियो, तब त्यो शेलेम्याहको नाउँमा पर्यो । तब तिनका छोरा बुद्धिमान् सल्लाहकार जकरियाको निम्ति तिनीहरूले चिट्ठा हाले, र उत्तर ढोकाको निम्ति तिनलाई चिट्ठा पर्यो ।15 ओबेद एदोमलाई दक्षिण ढोका दिइयो, र तिनका छोराहरूलाई ढुकुटीहरू दिइयो ।16 शुप्पीम र होसालाई पश्चिम ढोका र माथिल्लो बाटोको शल्केत प्रवेशद्वार पर्यो । हरेक परिवारबाट रक्षकको व्यवस्था गरियो ।17 पूर्वतिर छ जना लेवीहरू थिए, उत्तरतिर दिनमा चार जना, दक्षिणतिर दिनमा चार जना र ढुकुटीमा दुई जना पहरा बस्थे ।18 पश्चिमको स्तम्भमा बाटोमा चार जना र स्तम्भमा दुई जनालाई खटाइएको थियो ।19 द्वारपालका दलहरू यी नै थिए । तिनीहरू कोरह र मरारीका सन्तानहरूबाट भरिएको थियो ।20 लेवीहरूमध्येबाट अहीजा परमेश्वरको मन्दिरका भण्डारहरू र परमप्रभुका अर्पण गरिएका थोकहरूका भण्डारका जिम्मावाल थिए ।21 लादानका सन्तानहरू, जो लादानबाट जन्मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका अगुवाहरू थिए, यहीएली र22 यहीएलीका छोराहरू, र जेताम र तिनका भाइ योएल । तिनीहरू परमप्रभुको मन्दिरका भण्डारहरूका जिम्मावाल थिए ।23 अम्राम, यिसहार, हेब्रोन र उज्जीएलका वंशहरूबाटः24 मोशाका छोरा गेर्शोमका छोरा शूबाएल भण्डारहरूका सुपरिवेक्षक थिए ।25 एलीएजरबाट तिनका आफन्तहरूमा तिनका छोरा रहब्याह, रहब्याहका छोरा यशयाह, यशयाहका छोरा योराम, योरामका छोरा जिक्री, जिक्रीका छोरा शलोमीत थिए ।26 दाऊद राजा, परिवारका मुखियाहरू, हजार र सयका फौजका सेनापतिहरू र सेनाका अरू सेनापतिहरूले परमप्रभुका लागि समर्पण गरेका थोकका भण्डारहरूका लागि सबै जिम्मा यी नै शलोमीत र तिनका आफन्तहरूलाई दिइएको थियो ।27 तिनीहरूले लडाइँमा लिएका लूटका मालहरू परमप्रभुको मन्दिरका मर्मतको निम्ति छुट्याएका थिए ।28 अगमवक्ता शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले परमप्रभुको निम्ति छुट्याएका सबै थोक तिनीहरूका जिम्मामा थियो । परमप्रभुको निम्ति छुट्याइएका अरू सबै थोकहरू शलोमीत र तिनका तिनीहरूका जिम्मामा थिए ।29 यिसहारीका सन्तानहरूबाट, कनन्याह र तिनका छोराहरूलाई इस्राएलको नागरिक मामिलाहरूको जिम्मा दिइएको थियो । तिनीहरू अधिकारीहरू र न्यायकर्ताहरू थिए ।30 हेब्रोनका सन्तानहरूबाट, हशब्याह र तिनका दाजुभाइहरू, १,७०० योग्य मानिसहरू परमप्रभु र राजाका कामका निरीक्षकहरू थिए । तिनीहरू यर्दन नदीका पश्चिमतिर थिए ।31 हेब्रोनका सन्तानहरूबाट, यरियाहचाहिँ तिनीहरूका परिवारहरूका सूचीबाट गनिएका सन्तानहरूका अगुवा थिए । दाऊदका शासनको चालीसौँ वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलास गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्यका मानिसहरू भेट्टाइए ।32 यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलमाथि परमेश्वर सम्बन्धी हरेक कुरा र राज्य शासनका कामको हेरविचार गर्नेहरू बनाए ।