1
आहाबको मृत्‍युपछि मोआब इस्राएलको विरुद्धमा बागी भयो ।2 तब अहज्‍याह सामरियामा माथिल्लो कोठाको झ्यालबाट तल खसे र घाइते भए । यसैले तिनले सन्‍देशवाहकहरू पठाए र तिनीहरूलाई भने , “जाओ र यस चोटबाट म निको हुन्‍छु कि हुन्‍न एक्रोनको देवता बाल-जिबबलाई सोध ।3 तर परमप्रभुका दूतले तिश्बी एलियालाई भने, “उठ, र सामरियाका राजाका सन्‍देशवाहकहरूलाई भेट्न जाऊ, अनि तिनीहरूलाई सोध, ‘के इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ ?4 त्‍यसकारण परमप्रभु भन्‍नुहुन्‍छ, “तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्‍चय नै मर्नेछस्’ ।” तब एलिया गए ।5 जब सन्‍देशवाहकहरू अहज्‍याहकहाँ फर्के तब तिनले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केका छौ ?6 तिनीहरूले तिनलाई भने, “एक जना मानिस हामीलाई भेट्न आए जसले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ फर्की जाऊ र तिनलाई भन, “परमप्रभु यसो भन्‍नुहुन्‍छः के इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ ? त्‍यसकारण तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्‍चय नै मर्नेछस्” ।’ ।7 अहज्‍याहले आफ्ना सन्‍देशवाहकहरूलाई भने, “तिमीहरूलाई भेट्न आउने र यी कुराहरू भन्‍ने मानिस कस्‍तो किसिमको थियो ?8 तिनीहरूले तिनलाई जवाफ दिए, “तिनले रौँका लुगा लगाएका थिए, र आफ्नो कम्‍मरमा छालाको पेटी बाँधेका थिए ।” त्‍यसैले राजाले भने, “तिनी त तिश्बी एलिया हुन् ।9 तब राजाले पचास जना सिपाहीहरूसँगै एक जना कप्‍तानलाई एलियाकहाँ पठाए । कप्‍तान एलियाकहाँ गए जहाँ तिनी डाँडाको टाकुरामा बसिरहेका थिए । कप्‍तानले तिनलाई भने, “हे परमेश्‍वरका मानिस, राजाले भन्‍नुभएको छ, ‘तल आउनुहोस्’ ।10 एलियाले कप्‍तानलाई भने, “म परमेश्‍वरका मानिस हुँ भने स्‍वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसहरूलाई भस्म पारोस् ।” तब स्‍वर्गबाट आगो झर्‍यो र तिनलाई र तिनका पचास जना मानिसहरूलाई भस्म पार्‍यो ।11 फेरि राजा अहज्‍याहले अर्का कप्‍तानलाई पचास जना सिपाहीहरूसहित एलियाकहाँ पठाए । यी कप्‍तानले पनि एलियालाई भने, “हे परमेश्‍वरका मानिस, राजा भन्‍नुहुन्‍छ, ‘झट्टै तल आउनुहोस्’ ।12 एलियाले तिनीहरूलाई भने, “म परमेश्‍वरका मानिस हुँ भने स्‍वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसहरूलाई भस्म पारोस् ।” फेरि स्‍वर्गबाट परमेश्‍वरको आगो झर्‍यो र तिनलाई र तिनका पचास जना मानिसहरूलाई भस्म पार्‍यो ।13 तथापि राजाले पचास जना योद्धाको तेस्रो समूह पठाए । यो कप्‍तान माथि उक्‍ले, एलियाको सामु आफ्‍ना घुँडा टेके र तिनले विनम्रतापूर्वक बिन्‍ती गरेर भने, “हे परमेश्‍वरका मानिस, म तपाईंसँग बिन्‍ती गर्छु, कि मेरो जीवन र तपाईंका यी पचास जना दासहरूका जीवन तपाईंको दृष्‍टिमा मूल्यवान् होऊन् ।14 वास्‍तवमा स्‍वर्गबाट आगो झर्‍यो र यस अघिका दुई जना कप्‍तानलाई तिनीहरूका मानिसहरूसँगै भस्म पार्‍यो, तर मेरो जीवन तपाईंको दृष्‍टिमा मूल्यवान् होस् ।15 परमप्रभुका दूतले एलियालाई भने, “त्‍योसँगै तल जा । त्‍योदेखि नडरा ।” त्‍यसैले एलिया उठे र त्‍योसँगै राजाकहाँ गए ।16 पछि एलियाले अहज्‍याहलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘तैँले एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन सन्‍देशवाहकहरू पठाएको छस् । जानकारी लिनको लागि इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले त्‍यसो गरेको हो ? यसैले तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । तँ निश्‍चय नै मर्नेछस्’ ।17 यसरी एलियाले बोलेको परमप्रभुको वचनअनुसार अहज्‍याह मरे । अहज्‍याहको कुनै छोरो नभएको हुनाले यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योरामले तिनको ठाउँमा राज्‍य गर्न थाले ।18 अहज्‍याहका सम्‍बन्धमा भएका अरू कुराहरूका बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्‍तकमा लेखिएका छैनन् र ?