2
जब परमप्रभुले एलियालाई हावाको भूमरीद्वारा उठाएर स्‍वर्गमा लानै लाग्‍नुभएको थियो, तब एलीशालाई साथ लिएर एलिया गिलगालबाट गए ।2 एलियाले एलीशालाई भने, “कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई बेथेलमा पठाउनुभएको छ ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्‍छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्‍यसैले तिनीहरू बेथेलमा झरे ।3 बेथेलमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ ?” एलीशाले जवाफ दिए, “हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर ।4 एलियाले तिनलाई भने, “एलीशा, कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई यरीहोमा पठाउनुभएको छ ।” तब एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्‍छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्‍यसैले तिनीहरू यरीहोमा गए ।5 तब यरीहोमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ ?” एलीशाले जवाफ दिए, “हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर ।6 तब एलियाले तिनलाई भने, “कृपागरी, यहीँ बस, किनकि परमप्रभुले मलाई यर्दनमा पठाउनुभएको छ ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्‍छु, म तपाईंलाई छोड्नेछैनँ ।” त्‍यसैले ती दुई जना गइरहे ।7 पछि यी दुई जना यर्दन नदीनेर उभिरहँदा अगमवक्ताहरूका छोराहरूमध्‍ये पचास जना तिनीहरूका सामु उभिए ।8 एलियाले आफ्नो खास्टो उतारे, त्‍यसलाई बेह्रे अनि त्‍यसले पानीलाई हिर्काए । नदी दुईतिर विभाजित भयो जसको कारणले ती दुई जना सुक्खा जमिनबाट हिँडे ।9 तिनीहरू पारि पुगेपछि एलियाले एलीशालाई भने, “तिमीबाट मलाई लानुअघि तिम्रो निम्ति मैले के गर्नुपर्छ मलाई भन ?” एलीशाले जवाफ दिए, “तपाईंको आत्माको दोब्बर भाग ममा आउन दिनुहोस् ।10 एलियाले भने, “तिमीले कठिन कुरा मागेका छौ । तापनि तिमीबाट मलाई लगिएको तिमीले देख्यौ भने, तिम्रो निम्‍ति यो हुनेछ, तर देखेनौ भने, यो हुनेछैन ।11 तिनीहरू कुराकानी गर्दै अगाडि बढ्दा थिए, हेर, एउटा अग्‍निमय रथ र घोडाहरू देखा पर्‍यो, जसले यी दुई मानिसहरूलाई एक-अर्काबाट अलग गरिदियो, अनि एलिया हावाको भूमरीद्वारा स्‍वर्गमा लगिए ।12 एलीशाले यो देखे र तिनी चिच्‍च्‍याए, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र तिनीहरूका घोडाहरू !” तिनले एलियालाई फेरि देखेनन्, र तिनले आफ्‍ना वस्‍त्र समाते र दुई भागमा च्‍याते ।13 तिनले एलियाबाट खसेको खास्टो उठाए र यर्दन नदीको किनारमा खडा हुनलाई फर्केर गए ।14 एलियाबाट खसेको खास्टोले तिनले पानीलाई हिर्काए र भने, “एलियाका परमप्रभु परमेश्‍वर कहाँ हुनुहुन्‍छ ?” जब तिनले पानीलाई हिर्काए तब त्‍यो दुईतिर विभाजित भयो र एलीशा पारि गए ।15 जब यरीहोबाट आएका अगमवक्ताहरूका छोराहरूले तिनी पारि तरेको देखे तब तिनीहरूले भने, “एलियाका आत्माले एलीशामा बास गरेको छ ।” त्‍यसैले तिनलाई भेट्न तिनीहरू आए, र तिनको अघि आफैलाई भुइँसम्मै निहुराए ।16 तिनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईंका दासहरूका माझमा पचास जना बलिया मानिसहरू छन् । हामी अनुरोध गर्छौं कि तिनीहरूलाई जान र तपाईंका मालिकको खोजी गर्न दिनुहोस्, कतै परमप्रभुका आत्माले तिनलाई माथि लानुभएको छ र तिनलाई कुनै पहाड वा उपत्‍यकामा फाल्‍नुभएको छ कि ?” एलीशाले जवाफ दिए, “अहँ, तिनीहरूलाई नपठाओ ।17 तर एलिशा लज्‍जित नहोऊञ्‍जेलसम्‍म तिनीहरूले बिन्‍ती गरेको हुनाले तिनले भने “तिनीहरूलाई पठाओ ।” तब तिनीहरूले पचास जना मानिसहरू पठाए, र तिनीहरूले तीन दिनसम्‍म खोजी गरे, तर तिनलाई भेट्टाएनन् ।18 एलीशा यरीहोमा हुँदा तिनीहरू तिनीकहाँ फर्केर आए, र तिनले तिनीहरूलाई सोधे, “के ‘नजाओ’ भनी मैले तिमीहरूलाई भनेको थिइनँ र ?19 सहरका मानिसहरूले एलीशालाई भने, “हेर्नुहोस्, तपाईं देख्‍न सक्‍नुहुन्‍छ कि यो सहरको अवस्था राम्रै छ, तर पानी दूषित छ, र जमिनले फल दिँदैन ।20 एलीशाले जवाफ दिए, “एउटा नयाँ कचौरा मकहाँ लेओ, र त्‍यसमा नून हाल ।” त्‍यसैले तिनीहरूले त्‍यो तिनीकहाँ ल्याए ।21 एलीशा पानीको मुहानमा गए, र त्‍यसमा नून छर्किदिए । तब तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘मैले यो पानीलाई शुद्ध पारेको छु । अब फेरि मृत्‍यु हुने वा फलविहीन जमिन हुनेछैन’ ।22 त्‍यसैले एलीशाले बोलेको वचनद्वारा आजको दिनसम्‍म पानी शुद्ध छ ।23 त्‍यसपछि एलीशा त्‍यहाँबाट बेथेलमा गए । तिनी बाटोमा जाँदै गर्दा सहरबाट केही केटाहरू आए र तिनको खिसी गरे । तिनीहरूले भने, “ए मुडुले, तिमी माथि जाऊ ! ए मुडुले, तिमी माथि जाऊ !24 एलीशा पछिल्‍तिर फर्के र तिनीहरूलाई देखे । तिनीहरूमाथि सराप परोस् भनी तिनले परमप्रभुलाई पुकारे । त्‍यसपछि जङ्‌गलबाट दुई वटा पोथी भालु निस्केर आयो र बयालीस जना केटाहरूलाई घाइते बनायो ।25 तब एलीशा त्‍यहाँबाट कर्मेल डाँडामा गए, र त्‍यहाँबाट तिनी सामरिया फर्के ।