3
यहूदाका राजा यहोशापातको अठारौँ वर्षमा आहाबका छोरा योरामले सामरियामा बसेर इस्राएलमा राज्‍य गर्न थाले । तिनले बाह्र वर्ष राज्‍य गरे ।2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्‍यही गरे, तर आफ्ना आमाबाबुले गरेझैँ त गरेनन् । किनकि आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्‌गाको मूर्तिलाई तिनले हटाए ।3 तापनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापहरूमा तिनी लागे । तिनी तीबाट फर्केनन् ।4 मोआबका राजा मेशाले भेडाहरू पाल्‍थे । तिनले इस्राएलका राजालाई एक लाख भेडाका पाठा र एक लाख भेडाका ऊन दिनुपर्थ्‍यो ।5 तर आहाब मरेपछि मोआबका राजाले इस्राएलको राजाको विरुद्धमा विद्रोह गरे ।6 त्‍यसैले त्‍यस बेला युद्धको लागि सारा इस्राएललाई भेला गराउन राजा योरामले सामरिया छाडे ।7 तिनले यहूदाका राजा यहोशापातलाई यसो भनेर सन्‍देश पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन् । मोआबको विरुद्धमा तपाईं मसँगै युद्ध गर्न जानुहुन्‍छ ?” यहोशापातले जवाफ दिए, “म जानेछु । म तपाईं जस्‍तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरू जस्‍तै हुन्, मेरा घोडाहरू तपाईंका घोडाहरू जस्‍तै हुन् ।8 तब तिनले भने, “हामीले कुन दिशाबाट आक्रमण गर्नुपर्छ ?” यहोशापातले जवाफ दिए, “एदोमको उजाड-स्थानको बाटोबाट ।9 त्‍यसैले यहूदाका राजा र एदोमका राजासँगै इस्राएलका राजा गए । तिनीहरू सात दिनसम्‍म यताउता भौँतारिए, अनि त्‍यहाँ सेनाका निम्‍ति र तिनीहरूलाई पछ्याउने पशुहरूका निम्‍ति पानी भएन ।10 त्‍यसैले इस्राएलका राजाले भने, “यो के हो ? के परमेश्‍वरको मोआबको हातमा सुम्पिदिन हामी तीन जना राजालाई बोलाउनुभएको हो ?11 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै अगमवक्ता छैनन् जसद्वारा हामी परमप्रभुसँग सल्‍लाह लिन सक्छौँ ?” इस्राएलका राजाका सेवकहरूमध्‍ये एक जना जवाफ दियो र भन्‍यो, “शाफातका छोरा एलीशा यहीँ छन् जसले एलियाका हातमा पानी हाल्‍थे ।12 यहोशापातले भने, “परमप्रभुको वचन तिनीसित छ ।” त्‍यसैले इस्राएलका राजा यहोशापात र एदोमका राजा तिनीकहाँ तल गए ।13 एलीशाले इस्राएलका राजालाई भने, “मेरो तपाईंसित के सरोकार छ र ? तपाईंका बुबाआमाका अगमवक्ताहरूकहाँ जानुहोस् ।” त्‍यसैले इस्राएलका राजाले तिनलाई भने, “अहँ, परमप्रभुले हामी तीन जना राजालाई एकैसाथ मोआबको हातमा सुम्पिदिनलाई बोलाउनुभएको छ ।14 एलीशाले भने, “सर्वशक्तिमान् परमप्रभु जीवित जसको सामु म खडा हुन्‍छु, उहाँको नाउँमा शपथ खाएर म भन्‍छु । मैले यहूदाका राजा यहोशापातको उपस्थितिलाई आदर नगर्ने भए म तपाईंलाई ध्‍यान दिने थिइनँ वा तपाईंलाई हेर्ने पनि थिइनँ ।15 तर अब मकहाँ एक जना सङ्‌गीतकार ल्याउनुहोस् ।” जब वीणा बजाउनेले वीणा बजाए तब परमप्रभुको हात एलीशामाथि पर्‍यो ।16 तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘यो सुक्खा नदीको उपत्‍यकालाई खाल्डै-खाल्डो बनाओ ।’17 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘तिमीहरूले बतास देख्‍नेछैनौ, न त वर्षा देख्‍नेछौ, तर यो नदीको उपत्‍यका पानीले भरिनेछ, अनि तिमीहरू, तिमीहरूका गाईवस्तु र सबै पशुले पिउनेछौ ।’18 यो परमप्रभुको दृष्‍टिमा मामुली कुरो हो । उहाँले तिमीहरूलाई मोआबीहरूमाथि विजयी पनि तुल्याउनुहुनेछ ।19 किल्लाले घेरिएको हरेक सहर र हरेक असल सहरलाई तिमीहरूले आक्रमण गर्नेछौ, हरेक असल रूखलाई काटेर ढालिदिनेछौ, पानीका सबै मुहान बन्‍द गरिदिनेछौ र हरेक असल खेतलाई ढुङ्‌गाले विनाश गरिदिनेछौ ।20 त्‍यसैले बिहान बलि चढाउने समयमा एदोमको दिशाबाट पानी आयो । देश पानीले भरियो ।21 जब सारा मोआबीहरूले तिनीहरूको विरुद्धमा लडाइँ गर्न राजाहरू आए भनी सुने, तिनीहरूमध्‍ये हतियार भिर्न सक्‍ने सबै जनाले आफैलाई एकसाथ भेला गराए र तिनीहरू सिमानामा तैनाथ भए ।22 तिनीहरू बिहान सबेरै ब्युँझे र पानीमा घाम प्रतिबिम्‍बित भयो । मोआबीहरूले तिनीहरूको सामु भएको पानी हेरे, तब त्‍यो रगत जस्‍तै रातो देखियो ।23 तिनीहरू चिच्‍च्‍याए, “यो त रगत पो हो ! निश्‍चय नै राजाहरूको नाश भएको छ र तिनीहरूले एक-अर्कालाई मारेका छन् ! त्‍यसैले, हे मोआबी हो, हामी गएर तिनीहरूलाई लुटौँ ।24 जब तिनीहरू इस्राएलको छाउनीमा आए, तब इस्राएलीहरूले तिनीहरूलाई छक्‍क पारे र मोआबीहरूलाई आक्रमण गरे, जो तिनीहरूका सामुबाट भागे । इस्राएलका सेनाले मोआबीहरूलाई मार्दै तिनीहरूलाई देशको पारिसम्‍म खेदे ।25 तिनीहरूले सहरहरू नष्‍ट पारे, र हरेक असल खेत ढुङ्‌गाले नभरिएसम्‍म हरेक मानिसले ढुङ्‌गा फ्याँके । तिनीहरूले हरेक पानीको मुहान थुनिदिए, र सबै असल रूखहरू काटिदिए । कीर-हरेशेत मात्र ढुङ्‌गाहरूसमेत त्‍यसको ठाउँमा छोडियो । तर घुयेँत्रो भिरेका सिपाहीहरूले त्‍यसलाई पनि घेरा हाले र आक्रमण गरे ।26 जब मोआबका राजा मेशाले युद्ध हारेको देखे, तब एदोमका राजाकहाँ छिरिजानलाई तिनले सात सय जना तरवार भिरेका मानिसहरूलाई आफूसँग लगे, तर तिनीहरू सफल भएनन् ।27 तब तिनले आफ्नो जेठो छोरो लिए जो तिनीपछि राजा हुने थिए र तिनलाई होमबलिको रूपमा पर्खालमा चढाए । यसैले इस्राएलको विरुद्धमा चर्को क्रोध पर्‍यो, र इस्राएली सेनाले राजा मेशालाई छाडे र तिनीहरूका आफ्‍नै देशमा फर्के ।