4
अगमवक्ताका छोराहरूमध्‍ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्‍थ्यो भनी तपाईंलाई थाहा छ । अब मेरा दुई छोराहरूलाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन् ।2 त्‍यसैले एलीशाले तिनलाई भने, “तिम्रो निम्ति म के गरौँ ? घरमा तिमीसँग के छ मलाई भन ।” तिनले भनिन्, “तपाईंका दासीको घरमा एउटा भाँडोमा तेलबाहेक केही छैन ।3 तब एलीशाले भने, “तिम्रा छिमेकीहरूबाट रित्ता भाँडाहरू पैँचो माग्‍न जाऊ । सकेजति धेरै पैँचो माग ।4 त्‍यसपछि तिमी भित्र जाऊ र तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका बन्‍द गर, अनि ती सबै भाँडामा तेल खन्‍याऊ । भरिएका भाँडाहरू एकापट्टि राख ।5 त्‍यसैले तिनी एलीशाबाट बिदा भइन्, र तिनले आफ्ना छोराहरूलाई पनि भित्र राखेर ढोका बन्‍द गरिन् । तिनीहरूले तिनीकहाँ भाँडाहरू ल्याए, र तिनले ती तेलले भरिन् ।6 जब ती भाँडाहरू भरिए तब तिनले आफ्नो छोरोलाई भनिन्, “अर्को भाँडा मकहाँ ल्याऊ ।” तर उसले तिनलाई भन्‍यो, “अब एउटै भाँडा पनि छैन ।” त्‍यसपछि तेल आउन पनि छाड्‌यो ।7 तब तिनी आइन् र परमेश्‍वरका मानिसलाई त्‍यो कुरो बताइन् । तिनले भने, “गएर तेल बेच । तिम्रो ऋण तिर, र आफ्ना छोराहरूसित आरामसित बस ।8 एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्‍ठित स्‍त्री बस्थिन् । उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन् । त्‍यसैले जब एलीशा त्‍यो बाटो भएर जान्‍थे, तब तिनी खानको लागि त्‍यहाँ रोकिन्‍थे ।9 ती स्‍त्रीले आफ्ना पतिलाई भनिन्, “हेर्नुहोस्, अब मलाई थाहा भयो, कि यिनी परमेश्‍वरका पवित्र मानिस हुन् जो सधैँ यो बाटो हिँड्छन् ।10 कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्‍यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ । तब तिनी हामीकहाँ आउँदा तिनी त्‍यहीँ बस्‍नेछन् ।11 यसरी फेरि एक दिन आयो जब एलीशा त्‍यहाँ रोकिए, तिनी त्‍यो कोठामा बसे, र त्‍यहीँ विश्राम गरे ।12 एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “ती शूनम्मीलाई बोला ।” त्‍यसले तिनलाई बोलाएपछि तिनी एलीशाको सामु खडा भइन् ।13 एलीशाले उसलाई भने, “तिनलाई भन्, ‘हाम्रो वास्ता गर्न तिमीले यो सबै कष्‍ट झेलेकी छ्यौ । तिम्रो लागि के गर्न सकिन्‍छ ? के हामी तिम्रो लागि राजा वा सेनापतिसित कुरा गरौँ’ ?” तिनले जवाफ दिइन्, “मेरा आफ्नै जातिको बीचमा म बस्‍दैछु ।14 त्‍यसैले एलीशाले भने, “त्‍यसो हो भने, तिनको लागि हामी के गर्न सक्छौँ त ?” गेहजीले जवाफ दियो, “वास्‍तवमा तिनीसँग छोरो छैन, र तिनका पति बुढो भएका छन् ।15 त्‍यसैले एलीशाले भने, “तिनलाई बोला ।” जब त्‍यसले तिनलाई बोलायो, तिनी ढोकामा खडा भइन् ।16 एलीशाले भने, “एक वर्षपछि यही समयमा तिम्रो काखमा एउटा छोरो हुनेछ ।” तिनले जवाफ दिइन्, “होइन, हे मेरा मालिक र परमेश्‍वरका मानिस, आफ्नी दासीसित झूट नबोल्नुहोस् ।17 तर एलीशाले त्‍यो स्‍त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठीक त्‍यही समयमा एउटा छोरो जन्‍माइन् ।18 बालक हुर्केपछि एक दिन त्‍यो आफ्नो बुबाकहाँ गयो जो कटनी गर्नेहरूसँगै थिए ।19 त्‍यसले आफ्नो बुबालाई भन्‍यो, “मेरो टाउको दुख्यो । मेरो टाउको दुख्‍यो ।” उसका बुबाले आफ्नो सेवकलाई भने, “त्‍यसलाई त्‍यसकी आमाकहाँ लिएर जाऊ ।20 जब नोकरले केटोलाई उठाएर त्‍यसकी आमाकहाँ ल्यायो तब केटो मध्‍यान्हसम्‍म आमाको काखमा बस्यो, र त्‍यो मर्‍यो ।21 त्‍यसैले ती स्‍त्री उठिन्, र केटोलाई परमेश्‍वरका मानिसको ओछ्यानमा सुताइन्, ढोका बन्‍द गरेर बाहिर निस्किन् ।22 तिनले आफ्ना पतिलाई बोलाइन् र भनिन्, “कृपया, मलाई एक जना नोकर र एउटा गधा पठाउनुहोस् ताकि म छिटो परमेश्‍वरका मानिसकहाँ जान र फर्केर आउन सकूँ ।23 तिनका पतिले भने, “किन तिमी आजै उहाँकहाँ जान चाहन्‍छ्यौ ? आज न औँसी हो, न त शबाथ हो ।” उनले जवाफ दिइन्, “यो ठीक हुनेछ ।24 त्‍यसपछि उनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “छिटो कुदा । मैले नभनेसम्‍म दौडन ढिला नगर् ।25 त्‍यसैले तिनी गइन् र कर्मेल डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइन् । जब परमेश्‍वरका मानिसले टाढैबाट तिनलाई देखे तिनले आफ्नो सेवक गेहजीलाई भने, “हेर्, शूनम्मी स्‍त्री आउँदैछिन् ।26 तिनलाई भेट्न दौडेर जा र तिनलाई सोध, ‘तिमी, तिम्रा पति र छोरोलाई सबै ठीकै छ’ ?” तिनले भनिन्, “ठीकै छ ।27 जब तिनी डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइपुगिन् तब तिनले एलीशाको पाउ समातिन् । गेहजी तिनलाई हटाउनलाई अगाडि बढ्‌यो, तर परमेश्‍वरका मानिसले भने, “तिनलाई नछोऊ किनकि तिनी अत्‍यन्‍तै दुखी छिन्, र परमप्रभुले मबाट समस्या लुकाउनुभएको छ, र मलाई केही भन्‍नुभएको छैन ।28 तब तिनले भनिन्, “हे मेरा मालिक, मैले, तपाईंसँग छोरो मागेकी थिएँ र ? मैले ‘मलाई नछकाउनुहोस्’ भनेकी थिइनँ र’ ?29 तब एलीशाले गेहजीलाई भने, “यात्राको लागि लुगा लगा, र तेरो हातमा मेरो लट्ठी समात् । तिनको घरमा जा । कुनै मानिसलाई भेटिस् भने अभिवादन नगर्, र कसैले तँलाई अभिवादन गर्‍यो भने जवाफ नदे । बालकको अनुहारमा मेरो लट्ठी राखिदे ।30 तर बालककी आमाले भनिन्, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर म भन्‍छु, म तपाईंलाई छाड्दिनँ ।” त्‍यसैले एलीशा उठे, र तिनको पछि लागे ।31 गेहजी तिनीहरू भन्‍दा अगिअगि गयो र बाललको अनुहारमा लट्ठी पसार्‍यो, तर बालकले बोलेन र सुनेन । त्‍यसैले गेहजी एलीशालाई भेट्न फर्क्यो र तिनलाई यसो भन्‍यो, “बालक ब्युँझेको छैन ।32 जब एलीशा घरमा आइपुगे, तब बालक मरिसकेको थियो, र ओछ्यानमा शान्‍त थियो ।33 त्‍यसैले एलीशा भित्र गएर बालक र आफूलाई राखेर ढोका बन्‍द गरे, र परमप्रभुलाई प्रार्थना चढाए ।34 तिनी ओछ्यानमाथि चढे र बालकमाथि सुते । तिनले आफ्नो मुख उसको मुखमा, आफ्ना आँखा उसको आँखामा, र आफ्ना हात उसको हातमा राखे । तिनले आफैलाई बालकमाथि लमतन्‍न पारे, र बालकको शरीर न्‍यानो भयो ।35 तब एलीशा उठे, र कोठाको वरिपरि घुमे अनि तिनी फेरि ओछ्यानमा चढे र बालकमाथि लमतन्‍न परे । बालकले सात पटक छिउँ काढ्‌यो र आफ्ना आँखा खोल्यो ।36 त्‍यसैले एलीशाले गेहजीलाई बोलाए र भने, “शूनम्मीलाई बोला ।” त्‍यसले उनलाई बोलायो, र जब तिनी कोठाभित्र आइन्, तब एलीशाले भने, “तिम्रो छोरोलाई बोक ।37 तब एलीशाको पाउमा तिनी भुइँसम्‍मै घोप्‍टो परिन्, अनि आफ्नो छोरोलाई उठाइन् र बाहिर गइन् ।38 तब एलीशा फेरि गिलगालमा आए । देशमा अनिकाल परेको थियो अनि अगमवक्ताहरूका छोराहरू तिनका सामु बसिरहेका थिए । तिनले आफ्नो सेवकलाई भने, “आगोमा ठूलो भाँडो बसाल् र यी अगमवक्ताहरूका छोराहरूका निम्ति जाउलो पका ।39 तिनीहरूमध्‍ये एक जना तरकारी खोज्‍न बारीमा गयो । त्‍यसले जङ्‌गली दाख भेट्टायो, र त्‍यसले जङ्‌गली लौका आफ्नो पोल्टाभरि जम्‍मा गर्‍यो । तिनीहरूले ती काटे र जाउलोमा हाले, तर ती कस्‍ता किसिमका थिए भनी तिनीहरूलाई थाहा थिएन ।40 मानिसहरूले खानका लागि तिनीहरूले जाउलो खन्‍याए । पछि तिनीहरूले खाँदै गर्दा तिनीहरू चिच्‍च्‍याए र भने, “हे परमेश्‍वरका मानिस, भाँडामा त मृत्‍यु पो छ ।” त्‍यसैले तिनीहरूले त्‍यो फेरि खान सकेनन् ।41 तर एलीशाले भने, “केही पीठो ल्याऊ ।” तिनले त्‍यसलाई भाँडोभित्र हाले र भने, “मानिसहरूलाई यो खान देऊ ताकि तिनीहरूले त्‍यो खान सकून् ।” तब त्‍यस भाँडोमा त्‍यस्‍तो हानिकारक कुनै कुरो बाँकी रहेन ।42 बाल-शलीशाको कोही एक जना मानिस परमेश्‍वरका मानिसकहाँ आयो, र त्‍यसले अगौटे फलबाट तयार गरिएको जौका बीस वटा रोटी र केही अन्‍नका ताजा बाला आफ्नो बोरामा लिएर आयो । तिनले भने, “यो मानिसहरूलाई दे ताकि तिनीहरूले खान सकून् ।43 तिनको सेवकले भन्‍यो, “एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्याउन सक्छु र ?” तर एलीशाले भने, “यो मानिसहरूलाई दे ताकि तिनीहरूले खान सकून्, किनकि परमप्रभु भन्‍नुहुन्‍छ, ‘तिनीहरूले खानेछन्, र केही बच्‍नेछ’ ।44 त्‍यसैले तिनको सेवकले त्‍यो तिनीहरूका सामु राखिदियो र तिनीहरूले खाए अनि परमप्रभुको वचनले प्रतिज्ञा गरेझैँ केही बच्‍यो ।