5
अरामका राजाका सेनापति नामान आफ्ना मालिकको दृष्‍टिमा महान् र इज्‍जतदार मानिस थिए किनकि तिनीद्वारा परमप्रभुले अरामलाई विजय दिनुभएको थियो । तिनी बलिया र साहसी मानिस पनि थिए, तर तिनी कुष्‍ठरोगी थिए ।2 अरामीहरू दलहरूमा मिलेर हमला गर्न गएका थिए, र तिनीहरूले इस्राएल देशबाट एउटी सानी केटीलाई ल्याएका थिए । त्‍यसले नामानकी पत्‍नीको सेवा गर्थी ।3 केटीले आफ्नी मालिक्‍नीलाई भनी, “मेरा मालिक सामरियामा भएका अगमवक्ताको साथमा भएको भए हुन्‍थ्यो ! तब उहाँले मेरा मालिकलाई कुष्‍ठरोगबाट निको पार्नुहुन्‍थ्यो ।4 त्‍यसैले नामान भित्र प्रवेश गरे, र इस्राएल देशबाट ल्याइएकी त्‍यो केटीले के भनेकी थिई त्‍यो राजालाई भने ।5 त्‍यसैले अरामका राजाले भने, “अब जाऊ, र म इस्राएलका राजालाई एउटा चिठी पठाउनेछु ।” नामान गए र तीन सय चालीस किलो चाँदी, सत्तरी किलो सुन र दश जोर लुगा तिनले आफूसितै लगे ।6 तिनले इस्राएलका राजाको निम्ति चिठी पनि लिएर गए जसमा लेखिएको थियो, “जब यो चिठी तपाईंकहाँ ल्याइन्‍छ मैले तपाईंकहाँ आफ्‍नो सेवकलाई पठाएको तपाईंले देख्‍नुहुनेछ, ताकि तपाईंले तिनको कुष्‍ठरोगबाट तिनलाई निको पारिदिनुभएको होस् ।7 जब इस्राएलका राजाले चिठी पढेका थिए, तब तिनले आफ्ना लुगा च्‍याते र भने, “के म परमेश्‍वर हुँ र, मार्न र जीवित पार्न, कि कुष्‍ठरोग भएको मानिसलाई मैले निको पारोस् भनी यस मानिसले इच्‍छा गर्छ ? उसले मसित झगडाको निहुँ खोजेको जस्‍तो पो लाग्‍दैछ ।8 त्‍यसैले इस्राएलका राजाले आफ्ना लुगा च्‍याते भनी जब परमेश्‍वरका मानिस एलीशाले सुने, तब तिनले राजालाई यसो भनी समाचार पठाए, “किन तपाईंले आफ्नो लुगा च्‍यात्‍नुभएको ? अब ऊ मकहाँ आओस्, र इस्राएलमा अगमवक्ता रहेछन् भनी उसले थाहा पाउनेछ ।9 त्‍यसैले नामान आफ्ना घोडाहरू र रथहरू लिएर आए र एलीशाको घरको ढोकामा उभिए ।10 एलीशाले तिनीकहाँ यसो भनेर एक जना सन्‍देशवाहक पठाए, “जानुहोस् र यर्दनमा आफूलाई सात पल्ट डुबुल्की लगाउनुहोस् र तपाईंको देह पहिलेको जस्‍तै हुनेछ । तपाईं शुद्ध बन्‍नुहुनेछ ।11 तर नामान रिसाए र यसो भन्‍दै गए, “हेर, निश्‍चय नै तिनी मकहाँ बाहिर आउनेछन् र खडा हुनेछन् अनि तिनले आफ्ना परमप्रभु परमेश्‍वरको नाउँ पुकार्नेछन् र मेरो कुष्‍ठरोगमाथि आफ्‍ना हात हल्‍लाउनेछन् र मेरो कुष्‍ठरोग निको पार्नेछन् भनी मैले सोचेको थिएँ ।12 के दमस्कसका अबाना र फारपर नदीहरू इस्राएलका सबै पानी भन्‍दा असल छैनन् र ? के म तिनमा नुहाएर शुद्ध हुन सक्दिनँ र ?” त्‍यसैले तिनी फर्के र क्रुद्ध हुँदै आफ्नो बाटो लागे ।13 तब नामानका सेवकहरू नजिक आए, र तिनलाई भने, “हे मेरा पिता, अगमवक्ताले तपाईंलाई कुनै कठिन कुरो गर्न लगाएको भए के तपाईंले त्‍यो गर्नुहुने थिएन र ? त्‍यसको बदलामा ‘आफैलाई डुबुल्की लगाउन र शुद्ध हुन’ भन्‍दा झन् किन नगर्ने त ?14 तब तिनी तल गए र परमेश्‍वरका मानिसको सल्‍लाह मानेर यर्दनमा आफैलाई सात पल्ट डुबुल्की लगाए । तिनको देह बच्‍चाको झैँ पहिले जस्‍तै भयो र तिनी निको भए ।15 नामान र तिनको दल परमेश्‍वरका मानिसकहाँ फर्केर आए र तिनको सामु खडा भए । तिनले भने, “हेर्नुहोस्, सारा पृथ्वीमा इस्राएलमा बाहेक अन्‍त कतै परमेश्‍वर हुनुहुन्‍न रहेछ भनी अब मलाई थाहा भयो । त्‍यसकारण तपाईंको दासबाट उपहार ग्रहण गर्नुहोस् ।16 तर एलीशाले जावाफ दिए, “परमप्रभु जसको सामु म खडा हुन्‍छु, उहाँको नाउँमा शपथ खाएर भन्‍छु, म केही लिनेछैनँ ।” नामानले एलीशालाई उपहार लिन बिन्‍ती गरे तर तिनले इन्कार गरे ।17 त्‍यसैले नामानले भने, “तपाईं लिनुहुन्‍न भने तपाईंका दासलाई दुई वटा खच्‍चरले बोक्‍न सक्‍ने माटो लान दिनुहोस् । किनकि अबदेखि तपाईंका दासले परमप्रभुबाहेक अन्‍य कुनै ईश्‍वरलाई न त होमबलि न बलिदान चढाउनेछ ।18 यो एउटा कुरामा परमप्रभुले तपाईंको दासलाई क्षमा गरून्, त्‍यो हो, जब मेरा राजा रिम्मोनको मन्‍दिरमा पूजा गर्न जान्‍छन् अनि मेरो हातमा भर पर्छन्, अनि रिम्मोनको मन्‍दिरमा म पनि निहुरिन्‍छु, तब यस विषयमा परमप्रभुले हजूरको दासलाई क्षमा गरून् ।19 एलीशाले तिनलाई भने, “शान्‍तिसित जाऊ ।” यसरी नामान फर्केर गए ।20 तिनी अलि पर मात्र पुगेका थिए, परमेश्‍वरका मानिस एलीशाको सेवक गेहजीले आफ्नो मनमा भन्‍यो, “मेरा मालिकले यी अरामी नामानको हातबाट तिनले ल्याएका उपहारहरू ग्रहण नगरी तिनको बचत गर्नुभएको छ । परमप्रभुको नाउँमा शपथ खाएर म भन्‍छु, म तिनको पछि दौडेर जानेछु, र तिनीबाट केही लिनेछु ।21 त्‍यसैले गेहजी नामानको पछि गयो । जब नामानले तिनको पछि कोही दौडेर आएको देखे, तब आफ्नो रथबाट त्‍यसलाई भेट्न तिनी ओर्ले र भने, “के सबै कुरा ठीकै छ ?22 गेहजीले भन्‍यो, “सबै ठीकै कुरा छ । मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, ‘हेर, एफ्राइमको पहाडी देशबाट अगमवक्ताहरूका छोराहरूमध्‍ये दुई जना युवाहरू मकहाँ आएका छन् । कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा दिनुहोस् ।23 नामानले भने, “म तिमीलाई दुई तोडा चाँदी दिन अत्‍यन्‍तै खुसी छु ।” नामानले गेहजीलाई जिद्दी गरे र दुई वटा थैलामा दुई तोडा चाँदी र दुई जोर लुगा राखिदिए, अनि तिनले ती आफ्ना दुई जना सेवकहरूलाई दिए जसले ती थैलाहरू बोकेर गेहजीको अगि लागे ।24 जब गेहजी डाँडामा आइपुग्यो त्‍यसले तिनीहरूका हातबाट चाँदीका थैलाहरू लियो र ती घरमा लुकायो । त्‍यसले ती मानिसहरूलाई पठायो र उनीहरू गए ।25 जब गेहजी भित्र गयो र आफ्ना मालिकको अघि खडा भयो, तब एलीशाले भने, “ए गेहजी, तँ कहाँबाट आएको ?” त्‍यसले जवाफ दियो, “तपाईंको दास कतै गएन ।26 एलीशाले गेहजीलाई भने, “ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन र ? के यो रुपियाँ-पैसा र लत्ता कपडा, भद्राक्षका बोटहरू र दाखबारीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू अनि कमारा-कमारीहरू ग्रहण गर्ने समय हो र ?27 त्‍यसैले नामानको कुष्‍ठरोग तँ र तेरा सन्‍तानमाथि सधैँभरि रहनेछ ।” त्‍यसैले गेहजी हिउँ जस्‍तै सेतो कुष्‍ठरोगी बनेर तिनको उपस्थितिबाट बाहिर गयो ।