23
जब दाऊद वृद्ध भए र आफ्नो जीवनको अन्तिम क्षणमा थिए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए ।2 पूजाहारीहरू र लेवीहरूसँगै तिनले इस्राएलका सबै अगुवाहरूलाई भेला गराए ।3 तीस वर्ष र त्यस भन्दा बढी उमेरका लेवीहरूको सङ्ख्याको गणना भयो । तिनीहरूको सङ्ख्या अठ्तीस हजार थियो ।4 “तीमध्येका चौबीस हजारको काम परमप्रभुका मन्दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्यायकर्ताहरू थिए ।5 चार हजार द्वारपालहरू, र चार हजारले मैले दिएका बाजा बजाएर परमप्रभुको स्तुतिगान गर्नपर्छ”, दाऊदले भने ।6 तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे ।7 लादान र शिमी गेर्शोनका वंशका थिए ।8 लादानका तीन छोराहरूः अगुवा यहीएल, जेताम र योएल थिए ।9 शिमीका तीन छोराहरूः शलोमोत, हजीएल र हारान थिए । लादानका वंशका मुखियाहरू यी नै थिए ।10 शिमीका चार छोराहरूः यहत, जीजा, येऊश र बरीआ थिए ।11 यहत जेठा थिए, जीजा माइला, तर येऊश र बरीआका धेरै छोराहरू थिएनन्, त्यसैले तिनीहरू एउटै कामको निम्ति एकै वंशको रूपमा गनिए ।12 कहातका चार छोराहरूः अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए ।13 अम्रामका छोराहरू हारून र मोशा थिए । अति पवित्र कुराहरू अलग गर्न हारूनलाई चुनिएका थियो । तिनी र तिनका सन्तानहरूले परमप्रभुको सामु धूप चढाउनु, उहाँको सेवा गर्नु र उहाँको नाउँमा सधैँ आशीर्वाद दिनु पर्थ्यो ।14 तर परमेश्वरका मानिस मोशाका छोराहरू भने लेवीकै कुलका मानिए ।15 मोशाका छोराहरू गेर्शोम र एलीएजर थिए ।16 गेर्शोमका सन्तानमा शूबाएल जेठा थिए ।17 एलीएजरका सन्तान रहब्याह थिए । एलीएजरका अरू छोरा थिएनन्, तर रहब्याहका धेरै सन्तानहरू थिए ।18 यिसहारका छोरा अगुवा शलोमीत थिए ।19 हेब्रोनका छोराहरू यरियाह जेठा, अमर्याह माइला, यहासेल साहिँला र यकमाम कान्छा थिए ।20 उज्जीएलका छोराहरू मीका जेठा र दोस्रा यिशियाह थिए ।21 मरारीका छोराहरू महली र मूशी थिए । महलीका छोराहरू एलाजार र कीश थिए ।22 एलाजार छोराहरू नभइ मरे । तिनका छोरीहरू मात्र थिए । कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे ।23 मूशीका तीन छोराहरू महली, एदेर र यरीमोत थिए ।24 आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए । परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका र सूचिकृत गरिएका बीस वर्ष र त्यस भन्दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए ।25 किनकि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्वरले आफ्नो मानिसहरूलाई आराम दिनुभएको छ । उहाँले सदासर्वदाको निम्ति यरूशलेममा आफ्नो मन्दिर बनाउनुहुन्छ ।26 लेवीहरूले फेरि कहिल्यै पवित्र वासस्थान अथवा त्यसको सेवामा प्रयोग गरिने भाँडाहरू बोक्नुपर्दैन ।”27 किनकि दाऊदका अन्तिम वचनद्वारा बीस वर्ष र त्यस भन्दा बढी उमेरका लेवीहरूको सङ्ख्या गनिए ।28 तिनीहरूको काम परमप्रभुका मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सघाउनुपर्ने थियो । तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्वरका मन्दिरका सेवामा अरू काम गर्नुपर्ने थियो ।29 उपस्थितिको रोटी, अन्नबलिको मसिनो पीठो, पातला अखमिरी रोटी, पोलेका र तेलमा पकाएका भेटीहरूको हेरविचार गर्नुपर्ने, अनि विभिन्न कुराहरू नाप्नको निम्ति ढक र तराजू तयार गर्नुपर्ने जिम्मा पनि तिनीहरूको थियो ।30 हरेक बिहान परमप्रभुलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि तिनीहरू खडा हुन्थे । तिनीहरूले बेलुका,31 र शबाथ र औँसीका चाडमा र चाडका दिनहरूमा परमप्रभुको निम्ति होमबलि चढाउने बेलामा पनि यसै गरे । तोकिएको सङ्ख्यामा नियमअनुसार जिम्मा दिइएकाहरू परमप्रभुको सामु उपस्थित हुनु पर्थ्यो ।32 तिनीहरूको जिम्मामा भेट हुने पाल र पवित्रस्थान थिए, र आफ्ना आफन्त हारूनका सन्तानहरूलाई परमप्रभुका मन्दिरको सेवामा सहयोग गर्थे ।