22
तब दाऊदले भने, “इस्राएलको निम्ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीँ हुनेछ ।”2 यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्‍वरको मन्‍दिर बनाउन ढुङ्‌गा काटेर तयार गर्ने काममा खटाए ।3 तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्ति धेरै मात्रामा फलाम दिए । तिनले जोख्‍न सक्‍ने भन्‍दा धेरै काँसा,4 र गन्‍न सक्‍ने भन्‍दा धेरै देवदारुका काठ पनि दिए (सीदोनी र टुरोसका मानिसहरूले गन्‍नै नसक्‍ने गरी प्रशस्त मात्रामा देवदारु दाऊदकहाँ ल्याइदिए) ।5 दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै र अनुभवहीन छ, र परमप्रभुको निम्ति निर्माण गरिने भवन विशेष रूपले भव्य हुनुपर्छ, ताकि यो अरू सबै देशहरूमा प्रसिद्ध र महिमित होओस् । यसैले यसको भवन निर्माणको तयारी म नै गर्नेछु ।” यसैले दाऊदले आफ्नो मृत्‍यु हुनुअगि ठूलो तयारी गरे ।6 तब तिनले आफ्नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए ।7 दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो ।8 तर परमप्रभु मकहाँ आउनुभयो र भन्‍नुभयो, ‘तैँले धेरै रक्तपात गरेको र धेरै युद्ध गरेको छस् । मेरो नाउँको निम्ति मन्‍दिर तैँले बनाउनेछैनस्, किनभने मेरो दृष्‍टिमा तैँले पृथ्वीमा धेरै रगत बगाएको छस् ।9 तापनि, तेरो एउटा छोरो हुनेछ जो शान्‍तिप्रिय मानिस हुनेछ । उसका चारैतिरका शत्रुहरूबाट म उसलाई आराम दिनेछु । किनकि उसको नाउँ सोलोमन हुनेछ, र उसको समयमा म इस्राएललाई शान्‍ति र चैन दिनेछु ।10 मेरो नाउँको निम्ति एउटा मन्‍दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्‍यको सिंहासन इस्राएलमा सदासर्वदा स्थापित गर्नेछु ।’11 अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्‍वरको मन्‍दिर तैँले नै बनाउनेछस् भनी उहाँले भन्‍नुभएझैँ तैँले त्‍यो बनाउनेछस् ।12 परमप्रभुले नै तँलाई अन्‍तर्दृष्‍टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैँले परमप्रभु तेरा परमेश्‍वरको व्यवस्था पालन गर् ।13 तब इस्राएलको निम्ति परमप्रभुले मोशालाई दिनुभएका विधि र नियमहरूलाई तैँले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् । बलियो र साहसी हो । नडरा वा निरुत्साहित नहो ।14 अब हेर्, ज्‍यादै प्रयत्‍नका साथ मैले परमप्रभुका मन्‍दिरको निम्ति एक लाख तोडा सुन, दश लाख तोडा चाँदी, धेरै मात्रामा काँसा र फलाम तयार गरेको छु । मैले काठपात र ढुङ्‌गा पनि तयार गरिराखेको छु । यी सबैमा तैँले अरू थप्‍नुपर्छ ।15 तँसित धेरै कामगर्ने मानिसहरू छन्ः ढुङ्‌गा काट्नेहरू, डकर्मीहरू, सिकर्मीहरू, र हरेक किसिमका शिल्पकारहरू अनगिन्‍ती छन्,16 जसले सुन, चाँदी, काँसा र फलामका काम गर्न सक्छन् । उठ् र काम सुरु गर्, र परमप्रभु तँसित हुनुभएको होस् ।”17 दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए,18 “परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍छ र उहाँले तिमीहरूलाई चारैतिरबाट शान्‍ति दिनुभएको छ । उहाँले यस क्षेत्रका बासिन्‍दाहरूलाई मेरो हातमा दिनुभएको छ । यो क्षेत्र परमप्रभु र उहाँका मानिसहरूका अधीनमा छन् ।19 अब आफ्नो सारा हृदय र आफ्नो प्राणले परमप्रभु आफ्ना परमेश्‍वरको खोजी गर । उठ र परमप्रभु परमेश्‍वरको पवित्रस्थान निर्माण गर । त्‍यसपछि तिमीहरूले परमप्रभुका करारको सन्‍दूक र परमेश्‍वरका पवित्र कुराहरू परमेश्‍वरको नाउँको निम्ति बनाइएको मन्‍दिरमा ल्याओ ।”