19
त्यसको केही समयपछि अम्मोनीहरूका राजा नाहाशको मृत्यु भयो, र तिनको सट्टामा तिनका छोरा राजा भए ।2 दाऊदले भने, “म नाहाशका छोरा हानूनलाई दया देखाउनेछु, किनकि तिनका पिताले मलाई दया देखाए ।” यसैले तिनका पिताको बारेमा सहानुभूति प्रकट गर्न दाऊदले दूतहरू पठाए । दाऊदका दूतहरू हानूनलाई सहानुभूति प्रकट गर्न अम्मोनीहरूको देशमा पसे ।3 तर अम्मोनी राजकुमारहरूले हानूनलाई भने, “दाऊदले तपाईंलाई सहानुभूति प्रकट गर्न मानिसहरू पठाउँदा तिनले तपाईंका पितालाई आदर गरेका हुन् भनी के तपाईं सम्झनुहुन्छ ? तपाईंको देशलाई पराजित गर्नको निम्ति जाँच गर्नलाई तिनका सेवकहरू आएका होइनन् र ?”4 यसकारण हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका कपाल खौरिदिए, र काँधदेखि कम्मरसम्म तिनीहरूका आधा लुगा काटेर तिनीहरूलाई पठाइदिए ।5 जब तिनीहरूले यो कुरा दाऊदलाई वर्णन गरिदिए, तिनले तिनीहरूसित भेट गर्न पठाए, किनकि ती मानिसहरू साह्रै लाजमा पारिएका थिए । राजाले भने, “तिमीहरूका दाह्री फेरि नबढुञ्जेल यरीहोमा नै बस र त्यसपछि फर्क ।”6 जब अम्मोनीहरूले आफूहरूलाई दाऊदको दृष्टिमा दुर्घन्दित भएको देखे, तब हानून र अम्मोनीहरूले अराम-नाहारैम, अराम-माका र सोबाबाट रथहरू र सारथिहरू ज्यालामा ल्याउन एक हजार तोडा चाँदी पठाए ।7 उनीहरूले बत्तीस हजार रथ र सारथिहरू, अनि माकाका राजा र उनका मानिसहरूलाई ज्यालामा लिए, र उनीहरू आएर मेदबाको सामुन्ने छाउनी बनाए । त्यसपछि अम्मोनीहरूचाहिँ आ-आफ्ना सहरहरूबाट भेला भएर लडाइँ गर्न आए ।8 जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।9 अम्मोनका मानिसहरू आए र सहरको मूल ढोकामा लडाइँको निम्ति पङ्क्तिबद्ध भए । सहायताका निम्ति आएका राजाहरू भने खुला मैदानमा थिए ।10 जब योआबले आफूलाई अगि र पछि दुवैतिर लडाइँले घेरेको थाहा पाए, तब तिनले केही असल इस्राएली फौजलाई लिए र अरामीहरूको विरुद्ध तयार पारे ।11 तिनका अरू बाँकी फौजलाई तिनले आफ्ना भाइ अबीशैको कमाण्डमा दिए, र उनीहरूलाई तिनले अम्मोनीहरूको विरुद्ध यद्धमा खडा गरे ।12 योआबले भने, “अरामीहरू मेरो निम्ति साह्रै शक्तिशाली भए भने अबीशै तिमीले मेरो उद्धार गर्नुपर्छ । अम्मोनीहरू तिम्रो निम्ति साह्रै शक्तिशाली भए भने म आएर तिम्रो उद्धार गर्नेछु ।13 साहसिलो होऊ ! हामी आफ्ना मानिसहरू र हाम्रा परमेश्वरका सहरहरूका निम्ति साहसिलो होऔँ, किनकि परमप्रभुको दृष्टिमा जे असल छ उहाँले त्यही गर्नुहुनेछ ।”14 यसैले योआब र तिनका सेनाका फौज अरामीहरूका विरुद्ध अगाडि बढे । तिनीहरू इस्राएलको सेनाको सामुबाट भाग्न बाध्य पारिए ।15 जब अम्मोनका सेनाले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागे र सहरभित्र फर्के । यसकारण योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा फिर्ता गए ।16 जब अरामीहरूले आफू इस्राएलद्वारा परास्त भएका देखे, तब तिनीहरूले यूफ्रेटिस नदीको पारिबाट हददेजेरका सेनापति शोपकको कमाण्डमा/अधीनमा भएका अरू अरामी सेनालाई बोलाए ।17 जब दाऊदलाई यस बारेमा बताइयो, तिनले जम्मै इस्राएललाई जम्मा गरे, यर्दन नदी पार गरे र उनीहरूकहाँ गए । तिनले आरामीहरूको विरुद्धमा लडाइँ गर्न सेनाको तयारी गरे र तिनीहरूले तिनीसँग युद्ध गरे ।18 अरामीहरू इस्राएलदेखि भागे, र दाऊदले अरामीहरूका सात हजार सारथिहरू र चालीस हजार पैदल सिपाहीहरूलाई मारे । तिनले सेनापति शोपकलाई पनि मारे ।19 हददेजेरका अधीनमा भएका राजाहरूले जब आफू इस्राएलद्वारा परास्त भएका देखे, तब तिनीहरूले दाऊदसँग सन्धि गरे र तिनको सेवा गरे । यसैले अरामका मानिसहरूले फेरि कहिल्यै अम्मोनीहरूलाई सहायता दिनलाई राजी भएनन् ।