18
यसपछि दाऊदले पलिश्तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई जिते । तिनले गात र त्यसका वरिपरिका गाउँहरू तिनीहरूबाट लिए ।2 तब तिनले मोआबलाई जिते र मोआबीहरू तिनका सेवक भए र तिनलाई कर तिरे ।3 सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्नो राज्य स्थापित गर्न जाँदै गर्दा दाऊदले हददेजेरलाई हमातमा पराजित गरे ।4 एक हजार रथहरू, सात हजार घोडचढीहरू र बीस हजार पैदल सिपाहीहरूलाई दाऊदले तिनीबाट कब्जा गरे । दाऊदले रथका सबै घोडाका नशा काटे, तर सय वटा रथहरूका लागि आवश्यक पर्ने घोडाहरू मात्र बचाएर राखे ।5 जब सोबाका राजा हददेजेरलाई सहायता गर्न दमस्कसका अरामीहरू आए, तब दाऊदले बाईस हजार अरामीहरूलाई मारे ।6 तब दाऊदले दमस्कसको अराममा सेनाको छाउनी राखे, र अरामीहरू तिनका सेवक भए र तिनलाई कर तिरे । दाऊद जहाँ गए त्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो ।7 हददेजेरका सेवकहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसे र ती यरूशलेममा ल्याए ।8 तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्याए । यसैबाट सोलोमनले पछि “खड्कुँलो” भनिने काँसाको एउटा विशाल बाटा, स्तम्भहरू र काँसाका विभिन्न भाँडाहरू बनाए ।9 जब दाऊदले सोबाका राजा हददेजेरका जम्मै सेनालाई परास्त गरेको कुरा हमातका राजा तोऊले सुने,10 तब दाऊद राजालाई अभिवादन गर्न र बधाइ दिन तोऊले आफ्ना छोरा हदोरमलाई तिनीकहाँ पठाए । दाऊदले हददेजेरलाई आक्रमण गरेको र पराजित गरेको, अनि हददेजेर र तोऊका बीचमा प्राय युद्ध चल्ने गरेको कारण तिनले यसो गरे । तोऊले सुन, चाँदी र काँसाबाट बनेका विभिन्न किसिमका सरसामान पनि दाऊदकहाँ पठाए ।11 दाऊद राजाले यी भाँडाहरू परमप्रभुको निम्ति अलग गरे, साथमा तिनले सबै जातिहरूः एदोम, मोआब, अम्मोनका मानिसहरू, पलिश्तीहरू र अमालेकबाट लिएका सुन र चाँदी पनि अलग गरे ।12 सरूयाहका छोरा अबीशैले नूनको उपत्यकामा अठाह्र हजार एदोमीहरूलाई मारे ।13 तिनले एदोममा सेनाको छाउनी राखे, र सबै एदोमीहरू अब दाऊदका सेवक भए । दाऊद जहाँ गए त्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो ।14 दाऊदले सारा इस्राएलमाथि राज्य गरे, र आफ्ना सबै मानिसहरूको न्याय र धार्मिकता कायम गरे ।15 सरूयाहका छोरा योआब सेनाका प्रधान थिए, र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।16 अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए, र शब्शा सचिव थिए ।17 यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका निरीक्षक थिए । दाऊदका छोराहरूचाहिँ राजाका मुख्य अधिकारीहरू थिए ।