17
राजा आफ्नो महलमा बसेपछि उनले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारुको घरमा बस्दैछु, तर परमप्रभुको करारको सन्‍दूकचाहिँ पालमुनि राखिएको छ ।”2 तब नातानले दाऊदलाई जवाफ दिए, “जानुहोस्, आफ्नो मनमा जे छ त्‍यो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ ।”3 तर त्‍यही रात परमेश्‍वरको यो वचन नातानकहाँ यसो भनेर आयो,4 “जा र मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छः तैँले मेरो लागि बस्‍ने घर बनाउनेछैनस् ।5 किनकि इस्राएललाई मिश्र देशबाट ल्याएको दिनदेखि यता आजको दिनसम्म म कहिल्यै घरमा बसेको छैनँ । बरू, विभिन्‍न ठाउँमा पवित्र पालमा म बस्दै आएको छु ।6 सारा इस्राएलसँग सबै ठाउँमा म सरेको बेलामा, मेरा मानिसहरूको रेखदेख गर्नलाई मैले नियुक्त गरेका इस्राएलका कुनै अगुवालाई के मैले यसो भनेँ, “मेरो निम्ति देवदारुको घर किन बनाएको छैनस् ?” ’ ”7 “अब मेरो दास दाऊदलाई यसो भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छः मैले तँलाई खर्कमा भेडाहरूको पछिपछि हिँड्नदेखि मेरा मानिसहरू इस्राएलको राजा हुनलाई बोलाएँ ।8 तँ जहाँ गए पनि म तँसँगै भएको छु र तेरो सामुबाट तेरा शत्रुहरूलाई हटाएको छु, अनि तेरो नाउँलाई म पृथ्वीमा भएका महान् व्यक्तिहरूझैँ प्रसिद्ध तुल्याउनेछु ।9 म आफ्ना मानिसहरू इस्राएलको निम्ति एउटा ठाउँ तोक्‍नेछु ताकि तिनीहरू आफ्नै देशमा बसून् र फेरि कष्‍टमा नपरून् । दुष्‍ट मानिसहरूले पहिले गरेझैँ फेरि तिनीहरूलाई थिचोमिचो गर्नेछैनन्,10 जसरी मैले आफ्ना मानिसहरू इस्राएलमाथि न्‍यायकर्ताहरू नियुक्त गरेको समयदेखि नै तिनीहरूले गर्दै आएका थिए । त्‍यसपछि तेरा सबै शत्रुहरूलाई म वशमा पार्नेछु । साथै म तँलाई भन्‍दछु, कि म परमप्रभुले तेरो निम्ति घर बनाउनेछु ।11 जब तेरो जीवन पूरा हुनेछ, र तँ तेरा पुर्खाहरूसित मिल्न जानेछस्, तब तँपछि म तेरै सन्‍तानलाई खडा गर्नेछु, र तेरै एक सन्‍तानहरूमध्‍ये एक जनाको राज्‍यलाई म स्थापित गर्नेछु ।12 उसैले मेरो लागि एउटा मन्‍दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्ति स्थापित गर्नेछु ।13 म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ । तँ भन्‍दा पहिले राज्‍य गर्ने शाऊलबाट मेरो आफ्नो करारको विश्‍वसनीयता फिर्ता लिएझैँ म उसदेखि फिर्ता लिनेछैनँ ।14 उसलाई म आफ्नो मन्‍दिर र मेरो राज्‍यमाथि सधैँको निम्ति राख्‍नेछु, र उसको सिंहासन सदासर्वदाको निम्ति स्थापित हुनेछ’ ।”15 नातानले दाऊदसँग कुरा गरे र यी सबै वचन सुनाए, र सबै दर्शनको बारेमा उनले तिनलाई बताए ।16 तब दाऊद राजा भित्र गए र परमप्रभुको सामु बसे । तिनले भने, “हे परमप्रभु परमेश्‍वर, म को हुँ अनि मेरो घराना के हो, र तपाईंले मलाई यहाँसम्म ल्याउनुभएको छ ?17 किनकि हे परमेश्‍वर, तपाईंको दृष्‍टिमा यो त सानो कुरा थियो । हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्नो दासको घरानालाई भविष्यको बारेमा बोल्नुभएको छ, र मलाई भविष्यका पुस्ताहरू देखाउनुभएको छ ।18 म दाऊदले तपाईंलाई यस भन्‍दा बढी के नै भन्‍न सक्छु र ? तपाईंले आफ्नो दासलाई विशेष आदर गर्नुभएको छ ।19 हे परमप्रभु, तपाईंको दासको खातिर र तपाईंको आफ्नै उद्देश्य पूरा गर्नलाई आफ्ना सबै महान् कामहरू प्रकट होऊन् भनेर नै तपाईंले यो महान् काम गर्नुभएको छ ।20 हे परमप्रभु, तपाईं जस्‍तो अरू कोही छैन । हामीले सधैँभरि सुनेका छौँ कि तपाईंबाहेक अरू कोही परमेश्‍वर छैन ।21 किनकि तपाईंका मानिसहरू इस्राएल जस्‍तै यस पृथ्वीमा कुन जाति छ र, जसलाई तपाईं परमेश्‍वरले महान् र भयानक कार्यहरूद्वारा आफ्नो नाउँको निम्ति आफ्ना मानिसहरू बनाउनलाई मिश्र देशबाट छुटकारा दिनुभयो ? मिश्र देशबाट तपाईंले छुटकारा दिनुभएका आफ्ना मानिसहरूको सामुबाट तपाईंले जातिहरूलाई धपाउनुभयो ।22 तपाईंले इस्राएललाई सदाको निम्ति आफ्नो मानिसहरू बनाउनुभयो र तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्‍वर हुनुभएको छ ।23 यसैले अब हे परमप्रभु, आफ्नो दास र उसको घरानाको निम्ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्तै गर्नुहोस् ।24 तपाईंको नाम सदासर्वदाको निम्ति स्थापित होस् र महान् होस्, ताकि म तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्थापित हुँदा मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्‍छ ।’25 किनकि, हे मेरा परमेश्‍वर, तपाईंले आफ्नो दासको घर बनाउनुहुनेछ भनी उसलाई प्रकट गर्नुभएको छ । यसकारण तपाईंको दास, मैले तपाईंको सामु प्रार्थना चढाउने साहस गरेको छु ।26 अब हे परमप्रभु, तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ, र आफ्नो दाससित यो असल प्रतिज्ञा गर्नुभएको छः27 तपाईंको दासको घराना तपाईंको सामु सदा निरन्‍तर रहोस् भनी आशिष् दिने इच्‍छा तपाईंलाई भयो । तपाईं परमप्रभुले त्‍यसलाई आशिष् दिनुभएको छ, र त्‍यो सदाको निम्ति आशिषित हुनेछ ।”