16
तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्याए, अनि त्‍यसको निम्ति दाऊदले टाँगेको पालभित्र बीचमा राखे । तब तिनीहरूले परमेश्‍वरको सामु होमबलि र मेलबलि चढाए ।2 दाऊदले होमबल र मेलबलि चढाइसकेपछि, तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए ।3 तिनले हरेक इस्राएली, पुरुष र स्‍त्री दुवैलाई एउटा रोटी, एक टुक्रा मासु र किसमिसको केक खान दिए ।4 परमप्रभुका सन्‍दूकअगि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्‍वरको उत्सव मनाउन, धन्‍यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे ।5 ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्‌गी र वीणा बजाउँथे । आसापले चाहिँ ठूलो स्वरमा झ्याली बजाउनु पर्थ्यो ।6 बनायाह र यहासेल पूजाहारीहरूले परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर रूपमा तुरही बजाउनु पर्थ्यो ।7 तब त्‍यस दिन दाऊदले पहिलो पल्ट आसाप र तिनका दाजुभाइलाई परमप्रभुको निम्ति धन्‍यवादको यो गीत गाउनलाई नियुक्त गरे ।8 परमप्रभुलाई धन्‍यवाद चढाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँका कार्यहरू प्रचार गर ।9 उहाँको निम्ति गाओ, उहाँको स्तुति गाओ, उहाँका सबै अचम्मका कार्यहरूको बयान गर ।10 उहाँको पवित्र नाउँमा गौरव गर । परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्‍दित होस् ।11 परमप्रभु र उहाँका शक्तिको खोजी गर । निरन्‍तर उहाँको उपस्थिति खोज ।12 उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्‍चर्यकर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर,13 ए उहाँका दास इस्राएलका सन्‍तान हो, ए याकूबका मानिसहरू, उहाँका चुनिएकाहरू हो ।14 उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, समस्त पृथ्वीमा उहाँका फैसलाहरू रहन्‍छन् ।15 आफ्नो करारलाई उहाँले सदासर्वदा स्मरण गर्नुहुन्‍छ, हजार पुस्तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्झनुहुन्‍छ ।16 उहाँले अब्राहामसित बाँध्‍नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्‍छ ।17 यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित, र इस्राएलसँग अनन्‍त करारको रूपमा पुष्‍टि गर्नुभयो ।18 उहाँले भन्‍नुभयो “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा, तँलाई म कनान देश दिनेछु ।”19 तिनीहरू थोरै सङ्ख्यामा मात्र हुँदा, साह्रै थोरै हुँदा र तिनीहरू त्‍यो देशमा विदेशीहरू थिए,20 तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भए ।21 उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई दण्ड दिनुभयो ।22 उहाँले भन्‍नुभयो, “मेरा अभिषिक्त जनहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर ।”23 हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर ।24 जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सारा जातिहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर ।25 किनकि परमप्रभु महान् हुनुहुन्‍छ, र उच्‍च प्रशंसा हुनुपर्छ, र सारा देवताहरू भन्‍दा बढी उहाँकै भय राखिनुपर्छ ।26 किनकि जातिहरूका सबै देवताहरू केवल मूर्ति मात्र हुन्, तर परमप्रभुले त आकाश सृष्‍टि गर्नुभयो ।27 उहाँको उपस्थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्थानमा शक्ति र महिमा छन् ।28 मानिसहरूका वंश हो, परमप्रभुलाई प्रशंसा चढाओ, परमप्रभुलाई महिमा र शक्ति चढाओ ।29 परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ । भेटी ल्याओ र उहाँको सामु आओ । पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत् गर ।30 हे सारा पृथ्वी, उहाँको सामु थरथरी हो । संसार पनि स्थापित भएको छ । यसलाई हल्लाउन सकिँदैन ।31 स्वर्ग आनन्‍दित होस्, र पृथ्वी रमाओस् । तिनले जातिहरूका बीचमा भनून्, “परमप्रभुले नै राज्‍य गर्नुहुन्‍छ ।”32 समुद्र गर्जियोस् र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून् । जमिन र त्‍यसमा भएका सबै कुरा उल्लसित होऊन् ।33 अनि जङ्‌गलमा भएका रूखहरू परमप्रभुको सम्मुख आनन्‍दले गाउन्, किनकि उहाँ पृथ्वीको न्‍याय गर्न आउँदै हुनुहुन्‍छ ।34 परमप्रभुलाई धन्‍यवाद देओ, किनकि उहाँ असल हुनुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्तताको सदासर्वदा रहन्‍छ ।35 तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई बचाउनुहोस् । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्‍यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौँ ।”36 परमप्रभु इस्राएलका परमेश्‍वरको सदासर्वदै प्रशंसा होस् । सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्तुति गरे ।37 यसैले दाऊदले दिनदिनको आवश्यक काम निरन्‍तर रूपमा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप र तिनका दाजुभाइहरूलाई राखे ।38 ओबेद-एदोम र तिनका अठसट्ठी जना आफन्‍तहरू पनि समावेश गरिएका थिए । यदूतूनका छोरा ओबेद-एदोम र होसा द्वारपालहरू भए ।39 सादोक पूजाहारी र तिनका मित्र पूजाहारीहरूले गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्थानको सामु सेवा गर्नु पर्थ्यो ।40 परमप्रभुको व्यवस्थामा लेखिएका सबै कुराबमोजिम तिनीहरूले बिहान र बेलुकी निरन्‍तर रूपमा परमप्रभुको निम्ति वेदीमा होमबलि चढाउनु पर्थ्यो । यो कुरा उहाँले इस्राएललाई आज्ञाको रूपमा दिनुभयो ।41 तिनीहरूसँगै हेमान र यदूतून र नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्‍यवाद चढाउन खटाइए, किनभने उहाँको करारको विश्‍वसनीयता सदासर्वदै रहिरहन्‍छ ।42 पवित्र भजनको निम्ति तुरहीहरू र झ्यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे ।43 तब सबै मानिसहरू आ-आफ्नो घर फर्के, र दाऊदचाहिँ आफ्नो परिवारलाई आशीर्वाद दिन गए ।