15
दाऊदले आफ्नो निम्ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्‍वरका सन्‍दूकको निम्ति एउटा ठाउँ तयार गरे र त्‍यसको लागि एउटा पाल टाँगे ।2 तब दाऊदले भने, "परमेश्‍वरको सन्‍दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्‍दूक बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्‍नुभएको थियो ।"3 त्‍यसपछि परमप्रभुको सन्‍दूकलाई त्‍यसको निम्ति तयार गरिएको ठाउँमा ल्याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।4 दाऊदले हारूनका सन्‍तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए ।5 कहातका सन्‍तानबाट मुखिया उरीएल र तिनका आफन्‍तहरू १२० जना थिए ।6 मरारीका सन्‍तानबाट मुखिया असायाह र तिनका आफन्‍तहरू २२० जना थिए ।7 गेर्शोनका सन्‍तानबाट मुखिया योएल र तिनका आफन्‍तहरू १३० जना थिए ।8 एलीजापानका सन्‍तानबाट मुखिया शमायाह र तिनका आफन्‍तहरू २०० जना थिए ।9 हेब्रोनका सन्‍तानबाट एलीएल मुखिया र तिनका आफन्‍तहरू ८० जना थिए ।10 उज्‍जीएलका सन्‍तानबाट मुखिया अम्मीनादाब र तिनका आफन्‍तहरू ११२ जना थिए ।11 दाऊदले सादोक र अबियाथार पूजाहारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाबलाई बोलाए ।12 तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्छौ ।13 तिमीहरूले यसलाई पहिलो पल्ट बोकेनौ । यसैले परमप्रभु हाम्रा परमेश्‍वर हामीमाथि क्रोधित हुनुभयो, किनकि हामीले उहाँको खोजी गरेनौँ वा उहाँको आज्ञा पालन गरेनौँ ।”14 यसैले परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूकलाई तिनीहरूले ल्याउन सकून् भनेर पूजाहारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे ।15 यसैले परमप्रभुको वचनको अनुसरण गरेर मोशाले आज्ञा दिएझैँ लेवीहरूले परमेश्‍वरको सन्‍दूकलाई आ-आफ्ना काँधमा डन्डाले बोकेर ल्याए ।16 लेवीहरूका मुखियाहरूले आ-आफ्ना दाजुभाइलाई बाजा, सारङ्‌गी, वीणा र झ्यालीको साथ ठूलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्‍दका साथ सङ्‌गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए ।17 यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइहरूमध्‍ये बेरेक्याहका छोरा आसापलाई नियुक्त गरे । तिनीहरूले मरारीहरूको सन्‍तानहरूका आफन्‍त कूशायाहका छोरा एतानलाई पनि नियुक्त गरे ।18 तिनीहरूसँगै दोस्रो दर्जाका आफन्‍तहरू थिएः जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, अनि द्वारपालहरू ओबेद-एदोम र यीएल ।19 सङ्‌गीतकार हेमान, आसाप र एतानलाई ठूलो आवाज निकाल्ने काँसका झ्यालीहरू बजाउन नियुक्त गरियो ।20 जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, मासेयाह र बनायाहले सारङ्‌गीमा अलामोत राग बजाए ।21 मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, ओबेद-एदोम, यीएल र अजज्‍याहले वीणामा शिमिनिथ राग बजाएर बाटोमा अगि लागे ।22 लेवीहरूका अगुवा कनन्‍याह सङ्‌गीतका निर्देशक थिए, किनकि तिनी सङ्‌गीत गुरु थिए ।23 बेरेक्याह र एल्काना सन्‍दूकका पहरेदारहरू थिए ।24 शबन्‍याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पूजाहारीहरूले परमेश्‍वरका सन्‍दूकको अगि तुरही बजाउनु पर्थ्यो । ओबेद-एदोम र येहियाह पनि सन्‍दूकका पहरेदारहरू थिए ।25 यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका सेनानीहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्‍दूक ल्याउनलाई रमाउँदै गए ।26 परमप्रभुका करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई परमेश्‍वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढे र सात वटा भेडा बलिदान चढाए ।27 सन्‍दूक बोक्‍ने लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्‍याहले जस्‍तै दाऊदले पनि असल मलमलका लुगा लाएका थिए । दाऊदले मलमलको एपोद लाएका थिए ।28 यसरी सबै इस्राएलले आनन्‍दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्याली, सारङ्‌गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्‍दूक ल्याए ।29 तर जब परमप्रभुका करारको सन्‍दूक दाऊदको सहरमा ल्याइयो, शाऊलकी छोरी मीकलले झ्यालबाट बाहिर हेरिन् । उनले दाऊद राजालाई नाच्दै र उत्सव मनाउँदै गरेका देखिन् । तब उनले आफ्नो मनमा तिनलाई तुच्‍छ ठानिन् ।