14
तब टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरूका साथै देवदारुका काठहरू, सिकर्मीहरू र डकर्मीहरू पठाए । तिनीहरूले तिनको निम्ति एउटा महल बनाए ।2 अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्याउनुभयो र उहाँका मानिसहरू इस्राएलको खातिर आफ्नो राज्‍यलाई उच्‍च पार्नुभयो भनी दाऊदलाई थाहा भयो ।3 यरूशलेममा दाऊदले अझै अरू पत्‍नीहरू ल्याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।4 यरूशलेममा जन्‍मेका तिनका छोराछोरीका नाउँ यी नै हुन्ः शम्मूअ, शोबाब, नातान, सोलोमन,5 यिभार, एलीशूअ, एल्पेलेत,6 नोगह, नेपेग, यापी,7 एलीशामा, बेलीयादा र एलीपेलेत ।8 अब दाऊद सम्पूर्ण इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्तीहरूले सुने, तब उनीहरू सबै तिनलाई खोज्‍न निस्के । तर दाऊदले यसको बारेमा सुने र उनीहरूको विरुद्धमा निस्किए ।9 अब पलिश्तीहरू आएका थिए र रपाईहरूको बेँसीमा आक्रमण गरेका थिए ।10 तब दाऊदले परमेश्‍वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्तीहरूलाई आक्रमण गरूँ ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्‍छ ?” परमप्रभुले तिनलाई भन्‍नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्पिदिनेछु ।11 यसैले तिनीहरू बाल-पराजीमसम्म आए, र त्‍यहाँ तिनले उनीहरूलाई पराजित गरे । तिनले भने, “वेगले बग्‍ने बाढीले किनार भत्काएझैँ परमेश्‍वरले मेरा शत्रुहरूलाई मद्वारा भत्काउनुभयो ।” यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम रह्यो ।12 पलिश्तीहरूले आफ्ना देवताहरू त्‍यहीँ छोडे र तिनलाई जलाउनु भन्‍ने हुकुम दाऊदले दिए ।13 तब पलिश्तीहरूले फेरि पनि उक्त बेँसीमा आक्रमण गरे ।14 त्‍यसैले दाऊदले फेरि पनि परमेश्‍वरसँग मदत मागे । परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तैँले अगाडिबाट आक्रमण गर्नु हुँदैन, तर उनीहरूको पछिल्तिर घेरा लगा र लहरे-पीपलका रूखहरू भएका ठाउँबाट उनीहरूकहाँ जा ।15 जब तैँले लहरे-पीपलका रूखका टुप्‍पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्‍छस्, तब फौजसहित आक्रमण गर् । यसो गर् किनभने परमेश्‍वर तिमीहरूका अगिअगि पलिश्तीहरूको सेनाहरूलाई आक्रमण गर्न जानुहुनेछ ।”16 यसैले परमेश्‍वरले आज्ञा गर्नुभएझैँ दाऊदले गरे । तिनले पलिश्तीहरूका सेनालाई गिबोनदेखि गेजेरसम्मै पराजित गरे ।17 तब दाऊदको ख्याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जातिहरूमाथि तिनको डर हालिदिनुभयो ।