13
दाऊदले आफ्ना हजार र सयका सेनानीहरू, हरेक अगुवाहरूसँग सल्लाह लिए ।2 तब तिनले इस्राएलका जम्मै समुदायलाई भने, “तपाईंहरूलाई असल लाग्छ भने, र यो परमप्रभु हाम्रा परमेश्वरबाट आएको हो भने, इस्राएलका हरेक इलाकामा बाँकी रहेका हाम्रा आफन्तहरू, र तिनीहरूका सहरहरूमा बसोबास गर्ने पूजाहारी र लेवीहरूकहाँ हामी समाचार पठाऔँ । हामीसँग सहभागी हुन तिनीहरूलाई भनियोस् ।3 हाम्रा परमेश्वरको सन्दूकलाई हामी आफूकहाँ फर्काएर ल्याऔँ, किनकि शाऊलको राज्यकालका समयमा हामीले उहाँको इच्छा खोजेनौँ ।”4 तब सबै समुदायले त्यसो गर्न सहमति दिए, किनभने सबै मानिसको दृष्टिमा ती कुरा उचित लाग्यो ।5 यसैले किर्यत-यारीमबाट परमेश्वरको सन्दूक ल्याउनलाई मिश्र देशको शिहोर नदीदेखि लेबो-हमातसम्मका सारा इस्राएललाई दाऊदले भेला गराए ।6 तब करूबहरूका बीचमा विराजमान हुनुहुने परमप्रभुको आफ्नै नाउँले परमप्रभु भनेर पुकारा गरिएको परमेश्वरको सन्दूक ल्याउनलाई दाऊद र सारा इस्राएल यहूदामा पर्ने बाला, अर्थात् किर्यत-यारीममा उक्लेर गए ।7 त्यसैले तिनीहरूले परमेश्वरको सन्दूकलाई एउटा नयाँ गाडामा राखे । अबीनादाबको घरबाट तिनीहरूले त्यो लिएर आए । उज्जाह र अहियोले उक्त गाडा धकेल्दै थिए ।8 दाऊद र सम्पूर्ण इस्राएलले परमेश्वरको सामु आफ्नो सारा शक्तिले उत्सव मनाइरहेका थिए । तिनीहरू वीणा, सारङ्गी, खैँजडी, झ्याली र तुरहीको साथमा गाउँदै थिए ।9 जब तिनीहरू कीदोनको खलामा पुगे, तब उज्जाहले सन्दूक समात्नलाई आफ्नो हात बढाए, किनभने गोरुहरूलाई ठेस खाए ।10 तब परमप्रभुको क्रोध उज्जाहको विरुद्धमा दन्कियो, र परमेश्वरले तिनलाई मार्नुभयो, किनकि उज्जाहले आफ्नो हात बढाएर सन्दूक छोएका थिए । तिनी परमेश्वरको सामु त्यहीँ मरे ।11 परमप्रभुले उज्जाहलाई गर्नु भएको प्रहारको कारणले दाऊद रिसाए । त्यस ठाउँलाई आजको दिनसम्म फारेस-उज्जाह भनिन्छ ।12 त्यो दिन दाऊद परमेश्वरसँग डराए । तिनले भने, “परमेश्वरको सन्दूकलाई कसरी मकहाँ घरमा ल्याउन म सक्छु ?”13 यसैले दाऊदले उक्त सन्दूकलाई दाऊदको सहरमा सारेनन्, तर एकातिर लागेर गित्ती ओबेद-एदोमको घरमा राखे ।14 यसरी सन्दूक ओबेद-एदोमको घरानासित तिनकै घरमा तीन महिनासम्म रह्यो । यसैले परमप्रभुले तिनको घर र तिनीसँग भएका सबै कुरामा आशिष् दिनुभयो ।