20
बसन्त ऋतुको समय, अर्थात् समान्यतया राजाहरू लडाइँ गर्न जाने समयमा योआबले सेनालाई युद्ध गर्न लगे र अम्मोनीहरूको देशलाई उजाड पारे । तिनले गए र रब्बालाई घेरा हाले । दाऊदचाहिँ यरूशलेममा नै रहे । योआबले रब्बालाई आक्रमण गरे र त्यसलाई पराजित गरे ।2 दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे, र त्यसको तौल सुनको एक तोडा भएको भेट्टाए, र त्यसमा बहुमूल्य रत्नहरू जडिएका थिए । त्यो शिरपेच दाऊदको आफ्नो शिरमा लाइयो, र तिनले त्यस सहरबाट धेरै परिणाममा लुटपाट गरे ।3 त्यस सहरमा भएका मानिसहरूलाई तिनले लिएर आए र उनीहरूलाई आरा र फलामका औजारहरू तथा बन्चराहरूका काममा लगाए । दाऊदले अम्मोनीहरूका सबै सहरका मानिसहरूलाई यस्तो कामका लगाए । तब दाऊद र तिनका सबै सेना यरूशलेममा फर्के ।4 यसको केही समयपछि गेजेरमा पलिश्तीहरूसँग लडाइँ भयो । हूशाती सिब्बकैले रपाईहरूका सन्तानमध्ये एक सिप्पैलाई मारे, र पलिश्तीहरूलाई अधीन गरियो ।5 पलिश्तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्हानानले गित्तीको गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बीँड कपडा बुन्ने जुलाहाको डन्डा जत्रो थियो ।6 गातमा भएको अर्को युद्धमा हरेक हातमा छ वटा औँला र हरेक खुट्टामा छ वटा औँला भएको एक जना धेरै अग्लो मानिस थियो । त्यो पनि रफाको सन्तान थियो ।7 जब त्यसले इस्राएललाई निन्दा गर्यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे ।8 तिनीहरू गातका रफाका सन्तानहरू थिए, र तिनीहरू सबै दाऊदका हातबाट र तिनका सिपाहीहरूका हातबाट मारिए ।