6
यसैले सोलोमनले परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । इस्राएलीहरू मिश्र देशबाट निस्केर आएको चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलमाथि राज्य गरेको चौथो वर्षको जीभ अर्थात् दोस्रो महिनामा कामको थालनी भएको थियो ।2 सोलोमन राजाले परमप्रभुको निम्ति बनाएका मन्दिरको लमाइ साठी हात, चौडाइ बीस हात र उचाइ तीस हात थियो ।3 मन्दिरको मुख्य सभाकक्षको सामुन्नेको दलान मन्दिरको चौडाइ बराबरको थियो अर्थात् बीस हातो लामो थियो, र त्यो मन्दिरको अगिल्तिर दश हातसम्म निस्केको थियो ।4 तिनले मन्दिरको छानामुनिका साँघुरा झ्यालहरू बनाए ।5 मुख्य सभाकक्षका भित्ताहरूको विपरीत तिनले यसको वरिपरि कोठाहरू बनाए अर्थात् तिनले भित्री र बाहिरी कोठा बनाए । तिनले चारैतिर कोठाहरू बनाए ।6 सबै भन्दा मुनिको तलाको चौडाइ पाँच हात, बीचको तलाको चौडाइ छ हात र तेस्रो तलाको चौडाइचाहिँ सात हात थियो । तिनले मन्दिरका चारैपट्टि बाहिरतिर मन्दिरको भित्तामा केही नघुसाऊन् भनी पालीहरू निर्माण गरे ।7 ढुङ्गाको खानीमा नै तयार पारिएका ढुङ्गाहरूबाट मन्दिर बनाइयो । यसको निर्माण हुँदा घन वा छिनु वा कुनै किसिमको फलामे औजारको आवाज सुनिएन ।8 मन्दिरको दक्षिणपट्टि सबै भन्दा तल्लो तलाको प्रवेशद्वारा थियो, अनि त्यहाँबाट बीचको र तेस्रो तलामा जानलाई सिँढी थियो ।9 यसरी सोलोमनले मन्दिर बनाएर सिध्याए । तिनले मन्दिरलाई दलिन र देवदारुका फल्याकहरूले ढाके ।10 तिनले मन्दिरको भित्री कक्षको विपरीत किनाराका कोठाहरू बनाए र हरेक कोठाको उचाइ पाँच हात थियो । ती मन्दिरसँगै देवदारुका काठका सत्तरीले जोडिएका थिए ।11 परमप्रभुको यो वचन सोलोमनकहाँ आयो,12 “तैँले बनाइरहेको यो मन्दिरको विषयमा भन्नुपर्दा, तैँले मेरा विधिविधानहरू पालन गरी न्याय कायम गरिस् र मेरा सबै आज्ञा पालन गरी तिनमा हिँडिस् भने मैले तेरा पिता दाऊदसित बाँधेको प्रतिज्ञा तँद्वारा नै पूरा गर्नेछु ।13 म इस्राएलका मानिसहरूका बीचमा बस्नेछु, र तिनीहरूलाई त्याग्नेछैनँ ।14 यसरी सोलोमनले मन्दिर बनाएर सिध्याए ।15 तिनले देवदारुका फल्याकहरूले मन्दिरको भुइँदेखि दलिनसम्म भित्रपट्टिका भित्ताहरू बनाई मन्दिरको भुइँमा सल्लाका फल्याकहरू ओछ्याए ।16 तिनले मन्दिरको पछाडिपट्टि भुइँदेखि दलिनसम्म देवदारुका बीस हात लामा फल्याकहरू मिलाएर राखे । तिनले यसलाई भित्री कोठा अर्थात् महा-पवित्रस्थान बनाए ।17 महा-पवित्रस्थानको अगाडिपट्टि रहेको मुख्य कक्ष अर्थात् पवित्रस्थान चालीस हात लामो थियो ।18 मन्दिरको भित्रपट्टिको देवदारुको काठमा फक्रेका फुल र लौकाका बुट्टा कुँदिएका थिए । ती सबै देवदारुका थिए । एउटै पनि ढुङ्गा देखिँदैनथ्यो ।19 परमप्रभुको करारको सन्दूक राख्नका लागि सोलोमनले मन्दिरको भित्री कोठा तयार पारे ।20 भित्री कोठा बीस हात लामो, बीस हात चौडा र बीस हात अग्लो थियो । सोलोमनले भित्ताहरू निखुर सुनले मोहोरी वेदीलाई देवदारुको काठले ढाके ।21 सोलोमनले मन्दिरको भित्री भाग निखुर सुनले मोहोरे, र भित्री कोठाको सामुन्ने तिनले सुनका सिक्रीहरू झुण्ड्याए ।22 मन्दिरको निर्माण नसकिएसम्म तिनले सम्पूर्ण भित्री भाग सुनले मोहोरे । भित्री भागमा भएको वेदीलाई पनि तिनले सुनले मोहोरे ।23 सोलोमनले भित्री कोठाको लागि जैतूनको काठबाट दुई वटा करूब बनाए । प्रत्येकको उचाइ दश हात थियो ।24 पहिलो करूबको एउटा पखेटा पाँच हात लामो थियो भने अर्को पखेटा पनि पाँचै हात लामो थियो । एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्म दश हात थियो ।25 दोस्रो करूबको नाप पनि दशै हात थियो । दुवै करूबको कद र आकार उही थिए ।26 एउटा करूबको उचाइ दश हात थियो र अर्कोको उचाइ पनि उति नै थियो ।27 सोलोमनले करूबहरूलाई सबै भन्दा भित्री कोठामा राखे । ती करूबका पखेटाहरू बाहिरतिर फैलिएका थिए । एउटा करूबको एउटा पखेटाले एकापट्टिको भित्तालाई र अर्को करूबको एउटा पखेटाले अर्कोपट्टिको भित्तालाई छुन्थे । तिनीहरूका अर्का पखेटाहरूले चाहिँ महा-पवित्रस्थानको बीच भागमा एक-अर्कालाई छुन्थे ।28 सोलोमनले करूबहरूलाई सुनले मोहोरे ।29 तिनले मन्दिरका चारैपट्टिका भित्री र बाहिरी कोठाहरूका सबै भित्तामा करूब, खजूरका बोट र फक्रेका फुलका बुट्टाहरू कुँदे ।30 सोलोमनले मन्दिरका भित्री र बाहिरी कोठाहरूका भुइँलाई सुनले मोहोरे ।31 सोलोमनले भित्री कोठाको प्रवेशद्वारको लागि पाँच पट्टिका थाम भएका जैतूनको काठका ढोकाहरू बनाए ।32 यसरी तिनले जैतूनको काठका दुई वटा ढोका बनाए, र तिनका करूब, खजूरका बोट र फक्रेका फुलका चित्रहरू खोपे । तिनले तिनमा निखुर सुनले मोहोरी करूबहरू र खजूरका बोटहरूलाई सुनले ढाके ।33 यसै गरी, सोलोमनले मन्दिरको मुख्य सभाकक्षको प्रवेशद्वारको निम्ति जैतूनको काठका चार पट्टिका थामहरू बनाए ।34 तिनले खोपिल्टामा घुम्ने दुई वटा खापा भएका सल्लाका दुई वटा ढोका पनि बनाए ।35 तिनले तिनमा करूब, खजूरका बोट र फक्रेका फुलका चित्रहरू कुँदी तिनलाई सुनले मोहोरे ।36 तिनले भित्री चोक काटेका ढुङ्गाका तीन लहर गरी र देवदारुको काठको सत्तरीको एक लहर गरी बनाए ।37 चौथो वर्षको जीभ महिनामा परमप्रभुको मन्दिरको जग बसालियो ।38 एघारौँ वर्षको बूल महिना अर्थात् आठौँ महिनामा निर्देशनमुताबिक मन्दिरका सबै भाग बनाएर सिध्याइयो । मन्दिर बनाउन सोलोमनलाई सात वर्ष लाग्यो ।