7
आफ्नो राजदरबार बनाउन सोलोमनलाई तेह्र वर्ष लाग्यो ।2 तिनले लेबनानको वन भनिने राजदरबार बनाए । यसको लमाइ एक सय हात, चौडाइ पचास हात र उचाइ तीस हात थियो । देवदारुका स्तम्भहरूका चार वटा लहर र तीमाथि देवदारुकै सत्तरीहरूले राजदरबार बनाइयो ।3 स्तम्भहरूमा अडिएका ती सत्तरीहरूमाथि देवदारुले छत बनाइयो । प्रत्येक लहरमा पन्ध्र वटा गरी जम्माजम्मी पैँतीस वटा सत्तरी थिए ।4 सत्तरीहरू तीन वटा लहरमा राखिएका थिए, र हरेक झ्याल एक-अर्कामा आमनेसामने थिए ।5 सबै ढोकाका आयतकार चौकोसहरू थिए अनि झ्याल तीन-तीन वटा पङ्क्तिमा एक अर्कातिर फर्केका थिए । त्यहाँ पचास हात लामो र तीस हात चौडा स्तम्भहरूले घेरिएको एउटा चोक थियो ।6 त्यसको सामु एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू थिए अनि एउटा बाहिर निस्केको छत थियो ।7 सोलोमनले सिंहासन कक्ष अर्थात् न्याय गर्नको लागि न्यायको कक्ष बनाए । यसको भुइँ देवदारुको काठले ढाकिएको थियो ।8 सोलोमनले आफू बस्ने महल त्यसको पछिल्तिर न्यायको भवन जस्तै बनाए । आफूले विवाह गरेर ल्याएका फारोकी छोरीको निम्ति पनि तिनले यो जस्तै घर बनाए ।9 यी भवनहरू ठीक तरिकाले मापन गरी करौँतीले काटी चारैतिर चिल्लो बनाइएका महङ्गा पत्थरहरूबाट सिङ्गारिएका थिए । यी ढुङ्गाहरू जगदेखि छतसम्म र विशाल चोकको बाहिरपट्टि पनि प्रयोग गरिएका थिए ।10 जगमा आठ र दश हातका लामा-लामा महङ्गा ढुङ्गाहरू हालिएका थिए ।11 तिनको माथि ठीक किसिमले काटिएका महङ्गा ढुङ्गाहरू र देवदारुका सत्तरीहरू थिए ।12 परमप्रभुको मन्दिरको चोक र त्यसको दलान जस्तै विशाल चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तीन वटा पङ्क्ति थिए, र देवदारुका सत्तरीहरूको एउटा पङ्क्ति थियो ।13 सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाउन लगाए ।14 हुराम नप्ताली कुलकी एउटी विधवाका छोरा थिए । तिनका पिता टुरोसवासी काँसाका कारिगर थिए । हुराम बुद्धि र समझशक्तिले भरिएका र काँसाका महान् काम गर्ने सिप भएका मानिस थिए । सोलोमन राजाको लागि काँसाको काम गर्न तिनी राजाकहाँ आए ।15 हुरामले दुई वटा काँसाका स्तम्भको रचना गरे । प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो ।16 तिनले स्तम्भहरूमाथि शिर राख्न ढालेका काँसाका दुई वटा स्तम्भ-शिर पनि बनाए । हरेक स्तम्भ-शिरको उचाइ पाँच हात थियो ।17 हरेक स्तम्भमाथि भएको स्तम्भ-शिरको निम्ति जालीस्वरूप सात वटा झुण्डिएका सिक्री बनाइए ।18 यसरी हुरामले स्तम्भहरूका स्तम्भ-शिर सिँगार्नलाई प्रत्येक सिक्रीको जालीका वरिपरि दुई वटा पङ्क्ति भएको बुट्टादार दारिम बनाए ।19 दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फुलको आकारका चार हात उचाइका थिए ।20 दुवै स्तम्भका स्तम्भ-शिरमा जाली नजिकैको कचौराको आकार भएको भागमा स्तम्भ-शिरको चारैपट्टि पङ्क्ति-पङ्क्ति गरी दुई सय बुट्टादार दारिम बनाइए ।21 तिनले मन्दिरको दलानमा ती स्तम्भहरू खडा गरे । दाहिनेपट्टिको स्तम्भलाई याकीन र देब्रेपट्टिको स्तम्भलाई बोअज नाउँ राखियो ।22 स्तम्भ-शिरहरूलाई लिली फुलको आकारमा सजाइयो । यसरी स्तम्भहरूको काम सम्पन्न भयो ।23 हुरामले ढालेर बनाइएको धातुको विशाल खड्कुँलो बनाए जसको बिट एउटा किनारादेखि अर्को किनारासम्म दश हात थियो । यसको उचाइ पाँच हात थियो, र परिधि तीस हात थियो ।24 त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दश वटा लौका बनाइएका थिए, र खड्कुँलो र लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए ।25 खड्कुँलोलाई बाह्र वटा गोरुमाथि राखिएको थियो - तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए । खड्कुँलो तीमाथि राखिएको थियो, र तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए ।26 खड्कुँलोको चौडाइ चार अङ्गुल थियो, र यसको बिटचाहिँ कचौराको बिट जस्तो फक्रेको लिली फुल जस्तो थियो । यसमा लगभग चवालीस हजार लिटर पानी अटाउँथ्यो ।27 हुरामले काँसाका दश वटा आधार बनाए । प्रत्येक आधार चार हात लामो, चार हात चौडा र तीन हात अग्लो थियो ।28 ती आधार यसरी बनाइएका थिएः तिनका वरिपरिका पाटाहरू ठाडो फ्रेममा जोडिएका थिए,29 र ती पाटा र फ्रेमहरूमा सिंह, गोरु र करूबहरू थिए । सिंह र गोरुहरूको माथि र तल ढलौटे मालाहरू थिए ।30 प्रत्येक आधारमा काँसाका धुरा भएका चार वटा चक्का थिए, र हरेकमा चार टेकामा अडेको एउटा बाटा थियो जसको चारैतिर ढलौटे मालाहरू थिए ।31 आधारभित्र खुला भाग थियो, जसको गोलाकार साढे एक हात थियो, र त्यसभित्र एक हात अग्लो मुकुट थियो । त्यसको खुला भागको वरिपरि बुट्टाहरू कुँदिएका थिए, र आधारका पाटाहरू गोलाकार नभई वर्गाकार थिए ।32 चार वटा चक्का पाटाहरूको मुनि थिए, र चक्काहरूका धुरा आधारसँग गाँसिएका थिए । हरेक चक्काको उचाइ साढे एक हात थियो ।33 ती चक्काहरू रथका चक्का जस्ता थिए । तिनका धुरा, बिट, सुइरा र नाभि सबै ढालेर बनाइएका धातुका थिए ।34 हरेक आधारका चार वटा समात्ने बिँड एउटा-एउटा कुनामा थिए, जुन आधारबाट बाहिर निस्केका थिए ।35 आधारहरूको टुप्पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो, अनि आधारका टेका र पाटाहरू त्यसकै टुप्पासँग गाँसिएका थिए ।36 पाटा र टेकाहरूका खाली ठाउँमा हुरामले करूबहरू, सिंहहरू र खजूरका रूखहरूको चित्र कुँदी त्यसको वरिपरि मालाहरू लगाए ।37 यसरी नै तिनले दश वटा आधार बनाए । ती सबै एउटै नाप र एउटै आकार भएका ढालेर बनाइएका थिए ।38 हुरामले काँसाका दश वटा बाटा बनाए । एउटा बाटामा आठ सय असी लिटर पानी अटाउँथ्यो । हरेक बाटा चार हातको थियो, र दशवटै आधारका लागि एउटा-एउटा बाटा थियो ।39 तिनले पाँच वटा आधार मन्दिरको दक्षिणपट्टि र पाँच वटा आधार उत्तरपट्टि राखे । तिनले खड्कुँलोचाहिँ मन्दिरको दक्षिणपट्टि फर्कने गरी पूर्वी किनारामा राखे ।40 हुरामले बाटाहरू, बेल्चाहरू र छर्कने बाटाहरू बनाए । यसरी तिनले परमप्रभुको मन्दिरमा सोलोमन राजाको लागि सबै काम सिध्याए ।41 तिनले दुई वटा स्तम्भ, स्तम्भको टुप्पामा कचौरा आकारका दुई वटा स्तम्भ-शिर माथिका स्तम्भ-शिरहरू सजाउने दुई वटा बुट्टादार जाली बनाए ।42 तिनले दुई वटा सजाउने जालीका निम्ति चार सय वटा दारिम (दुई वटा स्तम्भका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई पङ्क्ति दारिम),43 दश वटा आधार र आधारमाथि राख्नलाई दश वटा बाटा बनाए ।44 तिनले खड्कुँलो भनिने विशाल बाटा र त्यसको मुन्तिर बाह्र वटा गोरु,45 भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू अनि सबै चीजहरू बनाए । हुरामले परमप्रभुको मन्दिरको लागि सोलोमन राजाको निम्ति टल्काइएका काँसाबाट बनाएका थिए ।46 राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बीचमा ढालेर बनाउन लगाएका थिए ।47 सोलोमनले धेरै भाँडाकुँडा बनाएकाले तिनले जोखेनन् । तिनले काँसाको ओजन निधो गरेनन् ।48 सोलोमनले परमप्रभुको मन्दिरमा राखिने सबै सजाउने सामान सुनबाट बनाएका थिएः सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबिल,49 निखुर सुनका सामदानहरू जसलाई भित्री कोठाको दाहिनेपट्टि पाँच वटा र देब्रेपट्टि पाँच वटा गरी राखिन्थ्यो; फुलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्टाहरू ।50 सोलोमनले गिलासहरू, सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपौराहरू पनि बनाए र यी सबै निखुर सुनका थिए । तिनले भित्री कोठाका (अर्थात् महा-पवित्रस्थान) ढोकाहरू र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका निम्ति सुनका खोपिल्टाहरू पनि बनाए ।51 यसरी सोलोमन राजाले परमप्रभुको मन्दिरको निम्ति सबै काम गरी सिध्याए । त्यसैले सोलोमनले आफ्ना पिता दाऊदद्वारा अलग गरिएका चीजहरू अर्थात् चाँदी, सुन, सजाउने सामानहरू भित्र ल्याई परमप्रभुको मन्दिरका भण्डारमा राखे ।