1
शाऊलको मृत्‍युपछि अमालेकीहरूलाई आक्रमण गरेर दाऊद फर्के र सिक्लगमा दुई दिनसम्म बसे ।2 तेस्रो दिनमा, शाऊलको छाउनीबाट एक जना मानिस लुगा च्‍यातेर र शिरमा धूलो छरेर आए । जब तिनी दाऊदकहाँ आए, तब तिनले आफ्‍नो अनुहार भुईंमा घोप्‍टो पारे र आफूलाई लमतन्‍न पारे ।3 दाऊदले तिनलाई सोधे, “तिमी कहाँबाट आएको हौ ?” तिनले जवाफ दिए, “म इस्राएलको छाउनीबाट उम्केर भएको ।4 दाऊदले तिनलाई भने, “कृपया मलाई भन, के के भएका छन् ।” तिनले जवाफ दिए, “मानिसहरू युद्धबाट भागे । धेरै जना ढलेका छन् र धेरै जना मरेका छन् । शाऊल र उनका छोरा जोनाथन पनि मरेका छन् ।5 दाऊदले ती जवान मानिसलाई भने, “शाऊल र उनका छोरा जोनाथन मरेका छन् भनेर तिमीलाई कसरी थाहा भयो ?6 ती जवान मानिसले जवाफ दिए, “म संयोगवश गिल्बो डाँडामा पुगें र त्‍यहाँ शाऊल आफ्नो भालामा उनिएका थिए अनि रथहरू र घोडचढीहरूले उनलाई भेट्न लागेका थिए ।7 शाऊलले वरिपरि हेरे र मलाई देखे र मलाई बोलाए । मैले जवाफ दिएँ, ‘म यहाँ छु ।’8 उनले मलाई भने, ‘तँ को होस् ?’ मैले जवाफ दिएँ, ‘म अमालेकी हुँ ।’9 उनले मलाई भने, ‘मेरो छेउमा आएर मलाई मार्, किनकि ठूलो पीडाले मलाई समातेको छ, तर ममा अझै जीवन छ ।’10 त्‍यसैले म उनको छेउमा गएँ र उनलाई मारे, किनभने उनी ढलेपछि बाँच्‍नेछैनन् भन्‍ने मैले थाहा पाएँ । त्‍यसपछि मैले उनको शिरको शिरपेच र हातको बाजु लिएँ र हजूर मेरो मालिककहाँ ल्याएको छु ।11 त्‍यसपछि दाऊदले आफ्नो लुगा च्‍याते र तिनीसँग भएका सबै मानिसहरूले त्‍यसै गरे ।12 तिनीहरूले शाऊल, उनका छोरा जोनाथन, परमप्रभुका मानिसहरू र इस्राएलको घरानाको निम्ति विलाप गरे, रोए र साँझसम्म उपवास बसे, किनभने तिनीहरू तरवारद्वारा नाश भएका थिए ।13 दाऊदले ती जवान मानिसलाई सोधे, “तँ कहाँबाट आएको होस् ?” तिनले जवाफ दिए, “म एक जना विदेशी अमालेकीको छोरा हुँ ।14 दाऊदले तिनलाई भने, “परमप्रभुको अभिषिक्त राजालाई तेरो आफ्‍नै हातले मार्न तँलाई किन डर लागेन ?15 दाऊदले आफ्‍ना जवानमध्‍ये एक जनालाई बोलाएर भने, “जाऊ र यसलाई मार ।” त्‍यसैले त्‍यो मानिस गयो र तिनलाई प्रहार गर्‍यो ती अमालेकी मरे ।16 त्‍यसपछि दाऊदले त्‍यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, ‘मैले परमप्रभुका अभिषिक्त राजालाई मारेको छु’ ।17 त्‍यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्‍युमा यो विलापको गीत गाए ।18 तिनले यहूदाका सन्‍तानलाई यो विलापको गीत सिकाउन हुकुम दिए, जसलाई याशारको पुस्तकमा लिखिएको छः19 “ए इस्राएल तिम्रो महिमा मृत छ, तिम्रा उच्‍च स्थानहरूमा मारिएको छ । वीरहरू कसरी ढलेका छन् !20 यो कुरा गातमा नभन, यसलाई अश्कलोनका गल्‍लीहरूमा घोषणा नगर, ताकि पलिश्‍तीहरूका छोरीहरू रमाउन नपाउन्, ताकि बेखतनाका छोरीहरूले उत्सव मनाउन नसकून् ।21 ए गिल्बो डाँडा, तँमाथि कुनै शीत वा झरी नपरोस्, न त भेटीको निम्ति अन्‍न दिने मैदान नै होस्, किनकि त्‍यहाँ वीरहरूका ढाल अशुद्ध पारिएको छ । अब उप्रान्‍त शाऊलका ढालहरूमा तेल लगाइनेछैन ।22 मारिएकाहरूको रगतबाट, वीरहरूका शरीरबाट जोनाथनका धानु पछि फर्किएन र शाऊलका तरवार रित्तो फर्केन ।23 शाऊल र जोनाथन जीवनमा प्रेमिलो र कृपालु थिए र आफ्‍नो मृत्‍युमा तिनीहरू छुटेनन् । तिनीहरू गिद्ध भन्‍दा द्रूत र सिंह भन्‍दा बलिया थिए ।24 ए इस्राएलकी छोरीहरू हो, शाऊलको निम्ति रोओ जसले तिमीहरूलाई गरगहना साथै बैजनी रङ्‌गको पहिरन पहिराइदिए र जसले तिमीहरूका लुगामा सुनका गहनाहरू लगाइदिए ।25 युद्धको बीचमा वीरहरू कसरी ढलेका छन् ! जोनाथन तिम्रा उच्‍च स्थानहरूमा मारिएका छन् ।26 ए मेरो भाइ जोनाथन, म तिम्रो निम्ति व्याकुल भएको छु । तिमी मेरो निम्ति साह्रै प्रिय थियौ । मप्रति तिम्रो प्रेम अद्‌भूत थियो, स्‍त्रीको प्रेमलाई नै माथ गर्ने थियो ।27 वीरहरू कसरी ढलेका छन्, र युद्धका हतियारहरू कसरी नष्‍ट भएका छन् ।”