31
यति बेला पलिश्‍तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका मानिसहरू पलिश्‍तीहरूका सामुबाट भागे र गिल्बो डाँडामा मरे ।2 पलिश्तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्‍तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।3 युद्ध शाऊलको विरुद्धमा निकै भारी पर्‍यो र धनुर्धारीहरूले तिनलाई भेट्टाए । तिनीहरूका कारणले गर्दा तिनी घोर पीडामा परे ।4 तब शाऊलले आफ्नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुत र त्‍यसले मलाई छेडिदे । नत्रता यी बेखतनाहरू आउनेछन् र मलाई दुर्व्यवहार गर्नेछन् ।” तर तिनका हतियार बोक्‍नेले त्‍यसो गरेन, किनकि ऊ साह्रै डराएको थियो । त्‍यसैले शाऊलले आफ्नै तरवार लिए र यसमाथि उनिए ।5 जब तिनका हतियार बोक्‍नेले शाऊल मरेको देखे, तिनी पनि त्‍यसैगरी आफ्नो तरवारमा उनिएर तिनीसँगै मरे ।6 यसरी शाऊल, तिनका तीन जना छोरा र तिनका हतियार बोक्‍ने मरे - यी मानिसहरू सबै त्‍यसै दिन मरे ।7 जब मैदानको पारीपट्टि भएका इस्राएलका मानिसहरू र यर्दनको पारिपट्टि भएकाहरूले इस्राएलका मानिसहरू भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरूले आफ्‍ना सहरहरू छाडे र भागे, अनि पलिश्‍तीहरू आए र तिनीहरूमा बसोबास गरे ।8 भोलिपल्‍ट यसो भयो, जब पलिश्‍तीहरू मृतकहरूलाई लुट्न आए तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मृत फेला पारे ।9 तिनीहरूले उनको शिर काटे, उनको हतियार लुटे र आफ्‍ना मूर्तिहरूका मन्‍दिरहरू र मानिसहरूकहाँ समाचार लैजानलाई पलिश्‍तीहरूका देशभरि दूतहरू पठाए ।10 उनका हतियारलाई तिनीहरूले अश्तोरेतको मन्‍दिरमा राखे र तिनीहरूले उनको शरीरलाई बेथ-शानको सहरको पर्खालमा बाँधे ।11 जब याबेश-गिलादका बासिन्‍दाहरूले पलिश्‍तीहरूले शाऊललाई गरेका कुरा सुने,12 तब सबै लडाकु मानिसहरू उठे र रातभरि यात्रा गरेर गए अनि शाऊल र तिनका छोराहरूको शरीर बेथ-शानको पर्खालबाट ल्याए । तिनीहरू याबेशमा गए र तिनीहरूलाई जलाए ।13 त्‍यसपछि तिनीहरूले उनीहरूका हड्‍डीहरू लिए र तिनलाई याबेशको झ्याउको रूखमुनि गाडे अनि तिनीहरू सात दिनसम्म उपवास बसे ।