1
न्‍यायकर्ताहरूले शासन गरेको समयमा मुलुकमा अनिकाल पर्‍यो । यहूदाको बेथलेहेमको एक जना मानिस आफ्नी पत्‍नी र दुई जना छोराहरूसँग मोआब देशतिर गए ।2 ती मानिसको नाउँ एलीमेलेक थियो, र तिनकी पत्‍नीको नाउँ नाओमी थियो । तिनका दुई जना छोराहरूको नाउँ महलोन र किल्योन थियो । तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए । तिनीहरू मोआब देशमा आइपुगे र त्‍यहाँ बोसबास गरे ।3 त्‍यसपछि नाओमीका पति एलीमेलेक मरे र तिनी आफ्‍ना दुई छोराहरूसहित छोडिइन् ।4 यी छोराहरूले मोआबका महिलाहरूमध्‍येबाट पत्‍नीहरू ल्याए । एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो । तिनीहरू त्‍यहाँ झण्डै दश वर्ष जति बसे ।5 त्‍यसपछि नाओमीलाई पति र आफ्ना दुई सन्‍तानविहीन पारेर महलोन र किल्योन दुवै मरे ।6 त्‍यसपछि नाओमीले आफ्ना बुहारीहरूसँगै मोआब छोडेर यहूदा फर्कने निर्णय गरिन्, किनभने परमप्रभुले आफ्‍ना मानिसहरूलाई आवश्यकतामा सहायता गर्नुभएको र तिनीहरूलाई खानेकुरा दिनुभएको कुरा तिनले मोआब प्रदेशमा सुनिन् ।7 त्‍यसैले तिनले आफ्ना दुई बुहारीहरूसँग बस्दै आएको ठाउँ छोडिन् र तिनीहरू यहूदाको मुलुकमा फर्कनलाई बाटो लागे ।8 नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू हरेक आ-आफ्नो आमाको घरमा फर्केर जाओ । जसरी तिमीहरूले मृतहरूप्रति र मप्रति दया देखाएका छौ, त्‍यसरी परमप्रभुले तिमीहरूलाई पनि दया देखाउनुभएको होस् ।9 परमप्रभुले तिमीहरू हरेकलाई अर्को पतिको घरमा विश्राम दिनुभएको होस् ।” त्‍यसपछि तिनले तिनीहरूलाई चुम्बन गरिन् र तिनीहरू ठूलो स्वरमा रोए ।10 तिनीहरूले तिनलाई भने, “होइन, हामी तपाईंसँगै तपाईंका मानिसहरूकहाँ फर्कनेछौँ ।11 तर नाओमीले भनिन्, “मेरा छोरीहरू, फर्क ! तिमीहरू मसँग किन जान्‍छौ ? के तिमीहरूका पति हुनलाई मेरो कोखमा छोराहरू छन् र ?12 मेरा छोरीहरू, फर्क, आ-आफ्नो बाटो लाग, किनभने पति पाउनलाई म धेरै वृद्ध भइसकेकी छु । यदि मैले, आज राति नै पति पाउँछु भन्‍ने आशा गर्छु भने र छोराहरू जन्‍माएँ भने पनि,13 के तिमीहरूले तिनीहरूको उमेर पुगेसम्म पर्खन्‍छौ ? के तिमीहरूले विवाह गर्न एउटा पति चुन्‍दैनौ र ? होइन, मेरा छोरीहरू ! यो त तिमीहरूको खातिर मलाई अति नै तीतो हुन्‍छ, परमप्रभुको हात मेरो विरुद्धमा लागेको छ ।14 त्‍यसपछि तिनका बुहारीहरू ठूलो स्वरमा रोए । ओर्पाले तिनकी सासूलाई बिदाइको चुम्बन गरिन्, तर रूथ तिनीसँगै टाँसिरहिन् ।15 नाओमीले भनिन्, “सुन, तिम्री बहिनी त आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ गइन् । तिम्री बहिनीसँगै फर्केर जाऊ ।16 रूथले भनिन्, “मलाई तपाईंबाट जान नलगाउनुहोस्, किनभने तपाईं जहाँ जानुहुन्‍छ, म त्‍यहाँ नै जानेछु; तपाईं जहाँ बस्‍नुहुन्‍छ, म त्‍यहाँ नै बस्‍नेछु; तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन् र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ ।17 तपाईं जहाँ मर्नुहुन्‍छ, म त्‍यहाँ नै मर्नेछु, र म त्‍यहीँ नै गाडिनेछु । यदि मृत्‍युबाहेक कुनै कुराले हामीलाई अलग गर्छ भने परमप्रभुले मलाई दण्ड दिनुभएको होस् र अझ यो भन्‍दा धैरै गर्नुभएको होस् ।18 जब नाओमीले रूथ तिनीसँगै जानलाई दृढ थिइन् भन्‍ने देखिन्, तिनले तिनीसँग तर्क गर्न छोडिन् ।19 त्‍यसैले तिनीहरू बेथलेहेमको नगरसम्म यात्रा गरे । तिनीहरू बेथलेहेममा आइपुग्दा सारा नगर नै तिनीहरूको निम्ति धेरै उत्साहित थियो । माहिलाहरूले भने, “के यिनी नाओमी नै हुन् ?20 तर तिनले तिनीहरूलाई भनिन्, “मलाई नाओमी नभन । मलाई मारा भन, किनभने सर्वशक्तिमानले मसँग धेरै तीक्‍ततापूर्ण रूपमा व्यवहार गर्नुभएको छ ।21 म पूर्ण भएर गएँ, तर परमप्रभुले मलाई फेरि रित्तो पारेर घरमा ल्याउनुभएको छ । त्‍यसैले परमप्रभुले मलाई दण्ड दिनुभएको र सर्वशक्तिमानले ममाथि विपत्ति ल्याउनुभएको देखेर पनि तिमीहरूले मलाई किन नाओमी भन्‍छौ ?22 यसरी तिनी र तिनकी मोआबी बुहारी रूथ मोआब देशबाट फर्के । तिनीहरू बेथलेहेममा जौको कटनी सुरु हुने समयमा आइपुगे ।