1
यहोशूको मृत्‍युपछि, इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर सोधे, “हाम्रा निम्ति कनानीहरूका विरुद्धमा युद्ध लड्‍नलाई तिनीहरूलाई पहिला कसले आक्रमण गर्नुपर्छ ?2 परमप्रभुले भन्‍नुभयो, “यहूदाले आक्रमण गर्नेछ । हेर, मैले तिनीहरूलाई यस देशमाथि अधिकार दिएको छु ।3 यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनीहरूलाई यसो भने, “हामीलाई दिइएको इलाकामा हामीसँग आओ, यसरी कनानीहरूका विरुद्ध हामीले एकसाथ युद्ध लड्‍न सक्‍छौँ । त्‍यसरी नै हामी पनि तिमीहरूलाई दिइएको इलाकामा तिमीहरूसँग जानेछौँ ।” यसैले शिमियोनी कुल तिनीहरूसँग गए ।4 यहूदाका मानिसहरूले आक्रमण गरे, र परमप्रभुले तिनीहरूलाई कनानीहरू र परिज्‍जीहरूमाथि विजय दिनुभयो । तिनीहरूले बेजेकमा तिनीहरूका दश हजार जनालाई मारे ।5 तिनीहरूले बेजेकमा अदोनी-बेजेकलाई भेट्टाए, र उनको विरुद्ध तिनीहरू लडे, अनि कनानीहरू र परिज्‍जीहरूलाई परास्त गरे ।6 तर अदोनी-बेजेक भागे, र तिनीहरूले उनलाई लखेटे र समाए, र तिनीहरूले उनका हात र खुट्टाका बुढी औँला काटिदिए ।7 अदोनी-बेजेकले भने, “हात र खुट्टाका बुढी औँला काटिएका सत्तरी जना राजाले मेरो टेबिलको मुनिबाट आफ्‍नो निम्ति भोजन बटुल्‍थे । मैले जस्‍तो गरेको थिएँ, परमेश्‍वरले मलाई त्‍यस्तै गर्नुभएको छ । ” तिनीहरूले उनलाई यरूशलेममा ल्याए, र उनी त्‍यहीँ मरे ।8 यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे र त्‍यसलाई कब्जामा लिए । तिनीहरूले त्‍यो सहरलाई तरवारको धारले आक्रमण गरे र त्‍यसमा आगो लगाइदिए ।9 त्‍यसपछि, यहूदाका मानिसहरू पहाडी देश, नेगेव र पश्‍चिमी पहाडका फेदीहरूमा बसोबास गर्ने कनानीहरूकहाँ युद्ध गर्न गए ।10 यहूदा हेब्रोनमा बस्‍ने (हेब्रोनको नाउँ पहिला किर्यत-अर्बा थियो) कनानीहरूतर्फ अगाडि बढे, र तिनीहरूले शेशै, अहीमन, र तल्मैलाई परास्त गरे ।11 त्‍यहाँबाट यहूदाका मानिसहरू दबीरका बासिन्‍दाहरूतर्फ अगि बढे (पहिला दबीरको नाउँ किर्यत-सेपेर थियो) ।12 कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गर्छ र त्‍यसलाई लिन्‍छ, त्‍यसको पत्‍नी हुनलाई मेरी छोरी अक्सालाई म दिनेछु ।13 कालेबका भाइ कनजका छोरा, ओत्‍निएलले दबीरमाथि कब्जा गरे, यसैले कालेबले आफ्नी छोरी अक्सा तिनकी पत्‍नी हुनलाई दिए ।14 चाँडै नै अक्सा ओत्‍निएलकहाँ आइन्, र आफ्ना बुबासँग तिनको निम्ति एउटा जमिन मागिदिनलाई बिन्‍ती गरिन् । तिनी आफ्नो गधाबाट तल झर्दै गर्दा, कालेबले तिनलाई सोधे, “तिम्रो निम्ति म के गर्न सक्‍छु ?15 तिनले उनलाई भनिन्, “मलाई एउटा आशिष् दिनुहोस् । तपाईंले मलाई नेगेवको भूमि दिनुभएको छ, मलाई पानीका मूलहरू पनि दिनुहोस् ।” यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो पानीका मूलहरू दिए ।16 मोशाका ससुराका वंश, केनीहरू खजूरका रूखहरूको सहरबाट आरादको नजिक यहूदाको उजाड-स्‍थानमा त्‍यहाँका मानिसहरूसँग बस्‍न गए, जुन नेगेवमा पर्छ ।17 यहूदाका मानिसहरू आफ्ना दाजुभाइ शिमियोनका मानिसहरूसँग गए र तिनीहरूले सपतमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरे र त्‍यसलाई पूर्ण रूपमा नाश गरे।त्‍यस सहरको नाउँ होर्मा थियो ।18 यहूदाका मानिसहरूले गाजा र त्‍यसको आसपासको क्षेत्र, अश्कलोन र त्‍यसको आसपासको क्षेत्र, अनि एक्रोन र त्‍यसको आसपासको क्षेत्र पनि कब्जा गरे ।19 परमप्रभु यहूदाका मानिसहरूसँग हुनुहुन्‍थ्यो र तिनीहरूले पहाडी देशमाथि अधिकार गरे, तर तिनीहरूले मैदानका बासिन्‍दाहरूलाई बाहिर निकाल्न सकेनन्, किनभने तिनीहरूसँग फलामका रथहरू थिए ।20 कालेबलाई हेब्रोन दिइयो (मोशाले भनेझैँ), र तिनले त्‍यहाँबाट अनाकका तीन जना छोरालाई बाहिर निकाले ।21 तर बेन्‍यामीनका मानिसहरूले यरूशलेममा बसोबास गर्ने यबूसीहरूलाई बाहिर निकालेनन् । यसैले यरूशलेममा आजको दिनसम्मै यबूसीहरू बेन्‍यामीनका मानिसहरूसँग बसोबास गर्दै आएका छन् ।22 योसेफका घरानाले बेथेललाई आक्रमण गर्नको निम्ति तयारी गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्‍थ्यो ।23 तिनीहरूले बेथेलमा जासुसी गर्न मानिसहरू पठाए (त्‍यो सहरलाई पहिला लूज भनिन्‍थ्यो) ।24 ती जासूसहरूले सहरबाट एक जना मानिस बाहिर निस्कँदै गरेको देखे, र तिनीहरूले त्‍यसलाई भने, “सहरभित्र कसरी प्रवेश गर्ने भनेर कृपया हामीलाई देखाउनुहोस्, र तपाईंप्रति हामी दयालु हुनेछौँ ।25 उसले तिनीहरूलाई त्‍यो सहरभित्र जाने बाटो देखायो, र यसैले तिनीहरूले त्‍यो सहरलाई तरवारको धारले आक्रमण गरे, तर तिनीहरूले त्‍यस मानिस र उसका जम्मै परिवारलाई जान दिए ।26 तब त्‍यो मानिस हित्तीहरूको देशमा गयो र एउटा सहर निर्माण गर्‍यो अनि त्‍यसलाई लूज नाउँ दियो, र आजसम्मै त्‍यसको नाउँ हो ।27 मनश्शेका मानिसहरूले बेथ-शान, तानाक, डोर, यिबलाम, र मगीद्दो र ती सबैका गाउँहरूमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन्, किनभने कनानीहरूले ती ठाउँहरूमा बस्‍ने पक्‍का गरेका थिए ।28 जब इस्राएल शक्तिशाली भए, तिनीहरूले कनानीहरूलाई आफ्नो निम्ति कडा परिश्रमले सेवा गर्न लगाए, तर तिनीहरूलाई कहिल्यै पनि पूर्ण रूपमा बाहिर निकालेनन् ।29 एफ्राइमले गेजेरमा बसोबास गर्ने कनानीहरूलाई बाहिर निकालेनन्, यसैले कनानीहरू गेजेरमा तिनीहरूका माझमा नै बसोबास गरे ।30 जबूलूनले कित्रोन वा नहलोलमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन्, र यसैले कनानीहरू तिनीहरूका माझमा नै बसोबास गरे, तर जबूलूनले कनानीहरूलाई कडा परिश्रमसँग तिनीहरूहरूको सेवा गर्न लगाए ।31 आशेरले अक्‍को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक, र रहोबमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन् ।32 यसैकारण आशेरको कुल कनानीहरूसँग (जो त्‍यस देशमा बसोबास गर्थे) बसोबास गरे, किनभने तिनीहरूले उनीहरूलाई बाहिर निकालेनन् ।33 नप्‍तालीका कुलले बेथ-शेमेश र बेथ-अनातमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन् । यसैले नप्‍तालीको कुल कनानीहरूका (ती मानिसहरू जो त्‍यस देशमा बसोबास गर्थे) बीचमा बसोबास गरे । तथापि बेथ-शेमेश र बेथ-अनातका बासिन्‍दाहरूलाई नप्‍तलीको निम्ति कडा परिश्रम गर्न लगाइयो ।34 एमोरीहरूले दानका कुललाई पहाडी देशमा बसोबास गर्न बाध्‍ये पारे, र तिनीहरूलाई तल मैदान आउन दिएनन् ।35 यसैले एमोरीहरू हेरेस पर्वत, अय्यालोन, र शाल्बीममा बसोबास गरे, तर योसेफका घरानाको सैन्‍य शक्तिले तिनीहरूलाई परास्त गर्‍यो, र तिनीहरूलाई कडा परिश्रमले उनीहरूको सेवा गर्न लगाइयो ।36 एमोरीहरूको सिमाना अक्रब्बीमको उकालोदेखि पहाडी देश सेलादेखि माथिसम्म पर्थ्यो ।