2
परमप्रभुका दूत गिलगालबाट माथि बोकीममा गए, र भने, “मैले तिमीहरूलाई मिश्र देशबाट ल्याएँ, र तिमीहरूका पुर्खाहरूलाई दिन्‍छु भनी मैले प्रतिज्ञा गरेको देशमा ल्याएँ । मैले भनेँ, ‘तिमीहरूसँगको मेरो करारलाई म कहिल्यै तोड्नेछैनँ ।2 यस देशमा बस्‍नेहरूसँग तिमीहरूले कुनै करार गर्नु हुँदैन । तिमीहरूले तिनीहरूका वेदीहरू भत्कानुपर्छ ।’ तर तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ । तिमीहरूले यो के गरेका छौ ?3 यसैले म अब भन्‍छु, ‘तिमीहरूको अगिबाट म कनानीहरूलाई बाहिर निकाल्नेछैनँ, तर तिनीहरू तिमीहरूका वरिपरिका काँढाहरू हुनेछन्, र तिनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्‍नेछन्’ ।4 जब परमप्रभुका दूतले यी वचन इस्राएलका सबै मानिसलाई भने, तब मानिसहरू चिच्‍चाए र रोए ।5 तिनीहरूले त्‍यस ठाउँलाई बोकीम नाउँ दिए । त्‍यहाँ तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढाए ।6 अब यहोशूले मानिसहरूलाई आ-आफ्नो बाटोमा पठाएका थिए, इस्राएलका मानिसहरू आ-आफ्नो जमिनमाथि अधिकार गर्न ती ठाउँहरूमा गए ।7 यहोशू र तिनीपछि पनि बाँचेका धर्म-गुरुहरू जसले परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै महान् कामलाई देखेका थिए, तिनीहरूले आफ्‍नो जीवनकालभरि नै परमप्रभुको सेवा गरे ।8 परमप्रभुका सेवक नूनका छोरा यहोशूको ११० वर्षको उमेरमा मृत्‍यु भयो ।9 तिनीहरूले उनलाई गाश पर्वतको उत्तरपट्टि, एफ्राइमको पहाडी देश, तिम्‍नथ-हेरेसमा उनको अधिकारमा दिइएको जमिनको सिमानाभित्र गाडे ।10 त्‍यस पुस्ताका सबै जना आफ्‍ना पुर्खाहरूसँगै मिले । तिनीहरू पछि परमप्रभु र उहाँले इस्राएलको निम्ति गर्नुभएका कामको बारेमा जानकारी नभएका अर्को पुस्ता खडा भयो ।11 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा दुष्‍ट थियो त्‍यही गरे र तिनीहरूले बाल देवताको सेवा गरे ।12 तिनीहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउनुहुने तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरसँग तिनीहरूले सम्बन्ध तोडे । तिनीहरूले अन्‍य देवताहरू, तिनीहरूका वरिपरि भएका मानिसहरूका देवताहरूलाई पछ्याए, र तिनीहरूलाई उनीहरूलाई ढोगे । तिनीहरूले परमप्रभुलाई क्रोधित बनाए किनभने,13 तिनीहरू परमप्रभुबाट टाढा भए, र बाल तथा अश्तोरेत देवताको पूजा गरे ।14 परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो, र उहाँले तिनीहरूलाई तिनीहरूका धन-सम्पत्ति लुट्ने लुटेराहरूकहाँ सुम्पनुभयो । उहाँले तिनीहरूलाई दासहरूझैँ बेचिदिनुभयो र तिनीहरू वरिपरिबाट शत्रुहरूले घेरिए, यसरी तिनीहरूले आफ्ना शत्रुहरूबाट आफैलाई बचाउन सकेनन् ।15 जहाँ-जहाँ इस्राएल युद्धको निम्ति गए, परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूलाई परास्त गर्नको निम्ति उहाँको हात तिनीहरूको विरुद्ध थियो, र तिनीहरू अत्‍यन्‍तै सकसमा परे ।16 त्‍यसपछि परमप्रभुले न्‍यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूका धन-सम्पत्ति लुट्नेहरूका हातबाट तिनीहरूलाई बचाए ।17 तापनि तिनीहरूले आफ्ना न्‍यायकर्ताहरूका कुरा सुनेनन् । तिनीहरू परमप्रभुप्रति विश्‍वासहीन भए र आफूलाई वेश्याहरूझैँ अन्‍य देवताहरूकहाँ सुम्पे र तिनीहरूको पूजा गरे । परमप्रभुका आज्ञाहरू पालन गर्ने तिनीहरूका पुर्खाहरूले जिएका मार्गबाट तिनीहरू चाँडै नै तर्केर गए र आफ्ना पुर्खाहरूले झैँ तिनीहरूले गरेनन् ।18 जब परमप्रभुले तिनीहरूका निम्ति न्‍यायकर्ताहरू खडा गर्नुभयो, ती न्‍यायकर्ताहरू बाँचुञ्‍जेल परमप्रभुले तिनीहरूलाई सहायता गर्नुभयो र तिनीहरूका शत्रुहरूका हातबाट तिनीहरूलाई बचाउनुभयो । तिनीहरूलाई अत्‍याचार गर्ने र कष्‍ट दिनेहरूका कारणले तिनीहरूले चित्कार गर्दा परमप्रभुले तिनीहरूमाथि दया देखाउनुभयो ।19 तर न्‍यायकर्ता मरेपछि, तिनीहरू खराब बाटोतर्फ लाग्थे र तिनीहरूका पुर्खाहरूले गरेका भन्‍दा पनि भ्रष्‍ट कामहरू गर्थे । तिनीहरू अन्‍य देवताहरूको सेवा गर्न र तिनीहरूको पूजा गर्न तिनीहरूको पछि लाग्थे । तिनीहरूले आफ्ना कुनै पनि दुष्‍ट काम वा तिनीहरूका हठी चालहरूलाई त्‍याग्‍न इन्कार गरे ।20 परमप्रभुको क्रोध इस्राएलको विरुद्धमा दन्कियो । उहाँले भन्‍नुभयो, “यस जातिले मैले तिनीहरूका पुर्खालाई दिएको मेरा करारका शर्तहरूलाई तोडेका हुनाले र तिनीहरूले मेरा आज्ञा पालन नगरेका हुनाले,21 यहोशूको मृत्‍यु हुँदा, त्‍यसले बाँकी छोडेका सबै जातिलाई म अबदेखि उसो तिनीहरूका सामुबाट धपाउनेछैनँ ।22 इस्राएलका मानिसहरू आफ्‍ना पुर्खाहरूले झैँ परमप्रभुको मार्गलाई पछ्याएर ती मार्गमा हिँड्नेछन् या छैनन् भनेर जाँच्‍नको निम्ति म यसो गर्नेछु ।23 यसकारण परमप्रभुले ती जातिहरूलाई छोडिदिनुभयो र तिनीहरूलाई तुरुन्‍तै धपाउनुभएन र यहोशूको हातमा सुम्पनुभएन ।