1
परमप्रभुका दास मोशाको मृत्युपछि परमप्रभु मोशाका मुख्य सहायक नूनका छोरा यहोशूसँग यसरी बोल्नुभयो,2 “मेरो दास मोशाको मत्यु भएको छ । यसकारण, उठ्, तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरू अर्थात् इस्राएलका मानसिहरूलाई दिएको भूमिमा जाओ । तेरो खुट्टाको पैतालाले टेकेका सबै ठाउँ म तँलाई दिनेछु ।3 मैले मोशालाई प्रतिज्ञा गरेझैँ यो मैले तँलाई दिएको छु ।4 त्यो मरुभूमि र लेबनानदेखि महानदी यूफ्रेटिससम्म, हित्तीहरूका सबै भूमि र घाम अस्ताउने भूमध्य सागरसम्म हुनेछ ।5 तेरो सारा जीवनभरि तेरो सामु कोही पनि खडा हुन सक्नेछैन । जसरी म मोशासँग थिएँ, त्यसरी नै तँसँग हुनेछु । म तँलाई त्याग्नेछैनँ वा छोड्नेछैनँ ।6 बलियो र साहसी हो । तैँले यी मानिसहरूलाई मैले तिनीहरूलाई दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गरेको भूमि अधिकार गराउनेछस् ।7 बलियो हो र खुबै साहसी हो । मेरा दास मोशाले पालन गर्न तँलाई आज्ञा गरेका सबै व्यवस्था सावधानीसाथ पालन गर् । यसबाट दाहिनेतिर वा देब्रेतिर नलाग्, ताकि तँ जहाँ गए तापनि सफल हुन सक्नेछस् ।8 तैँले व्यवस्थाको यो पुस्तकबारे सदैव चर्चा गर्नेछस् । तैँले यसलाई दिनरात मनन गर्नेछस्, ताकि तैँले लेखेका सबै कुरा पालन गर्न सक्नेछस् । अनि तेरो फलिफाप हुनेछ र तँ सफल हुनेछस् ।9 के मैले तँलाई आज्ञा गरेको होइनँ र ? बलियो र साहसी हो ! नडरा । निराश नहो । तँ जहाँ गए पनि परमप्रभु परमेश्वर तँसँग हुनुहुन्छ ।10 अनि यहोशूले मानिसहरूका अगुवाहरूलाई आज्ञा गरे,11 “छाउनीभरि जाओ र मानिसहरूलाई आज्ञा गर, ‘तिमीहरूका निम्ति खानेकुराहरू तयार पार । तिमीहरू तीन दिनमा यर्दन नदी तरेर पारि जानेछौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको भूमि अधिकार गर्नेछौ’ ।12 यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई भने,13 “परमप्रभुका दास मोशाले तिमीहरूलाई भनेका वचनहरू सम्झ । तिनले भनेका थिए, ‘परमप्रभुले तिमीहरूलाई विश्राम दिइरहनुभएको छ र उहाँले तिमीहरूलाई यो भूमि दिँदै हुनुहुन्छ ।’14 तिमीहरूका पत्नीहरू, तिमीहरूका स-साना बालबच्चाहरू र तिमीहरूका गाईवस्तुहरू मोशाले दिएका यर्दन वारिको भूमिमा नै रहनेछन् ।15 तर परमप्रभुले तिनीहरूलाई पनि तिमीहरूलाई झैँ विश्राम नदिनुभएसम्म तिमीहरूका योद्धाहरू तिमीहरूका भाइहरूसँग पारि जानेछन् र तिनीहरूलाई सहायता गर्नेछन् ।16 त्यसपछि तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई दिनुहुने भूमि अधिकार गर्नेछन् । त्यसपछि तिमीहरू परमप्रभुका दास मोशाले यर्दन वारि घाम झुल्कनेतिर दिएका तिमीहरूका आफ्नै भूमिमा फर्कनेछौ र यसलाई अधिकार गर्नेछौ ।17 तिनीहरूले यहोशूलाई जवाफ दिए, “तपाईंले हामीलाई आज्ञा गर्नुभएका सबै कुरा हामी गर्नेछौँ, र तपाईंले हामीलाई जहाँ पठाउनुहुन्छ हामी उतै जानेछौँ । हामीले मोशाको आज्ञा पालन गरेझैँ हामी तपाईंको आज्ञा पनि पालन गर्नेछौँ । परमप्रभु तपाईंका परमेश्वर मोशासँग रहनुभएझैँ तपाईंसँग रहनुभएको होस् ।18 तपाईंका आज्ञाहरू विरुद्ध विद्रोह गर्ने र तपाईंका वचनहरूको अवज्ञा गर्ने जोसुकैलाई मार्नुपर्छ । मात्र बलियो र साहसी हुनुहोस् ।”