2
नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना मानिसलाई जासूसको रूपमा पठाए । तिनले भने, “जाओ, त्‍यो भूमिलाई हेर, विशेष गरी यरीहोलाई हेर ।” तिनीहरू गए र राहाब नाउँ गरेकी वेश्याकहाँ आए र तिनीहरू त्‍यहीँ बास बसे ।2 यरीहोका राजालाई यसो भनियो, “हेर्नुहोस्, यस भूमिको भेद पत्ता लगाउन इस्राएलका मानिसहरू यहाँ आएका छन् ।3 यरीहोका राजाले राहाबकहाँ खबर पठाए र भने, “तिमीकहाँ आउने ती मानिसहरूलाई बाहिर लेऊ, जो तिम्रो घरमा प्रवेश गरेका थिए, किनभने तिनीहरू सारा भूमिको जासूसी गर्न आएका छन् ।4 तर ती महिलाले ती दुई जना मानिसलाई लगेर लुकाएकी थिइन् । तिनले भनिन्, “हो, मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका थिए, मलाई थाहा भएन ।5 तिनीहरू सहरको प्रवेशद्वार बन्‍द गर्ने समय हुँदा साँझपख गए । तिनीहरू कता गए मलाई थाहा भएन । तपाईंहरू छिटो-छिटो जानुभयो भने सम्भवतः तपाईंहरूले तिनीहरूलाई भेट्टाउनुहुनेछ ।6 तर तिनले तिनीहरूलाई कौसीमा लगेकी थिइन् र तिनले कौसीमाथि थुपारेकी सनको डाँठहरूमुनि लुकाएकी थिइन् ।7 त्‍यसैले ती मानिसहरू यर्दनको जँघारहरूतिर जाने बाटो हुँदै तिनीहरूको पिछा गरे । ती पिछा गर्नेहरू जाने बित्तिकै प्रवेशद्वार बन्‍द गरियो ।8 ती मानिसहरू राति सुत्‍नुअघि नै तिनी कौसीमाथि तिनीहरूकहाँ आइन् ।9 तिनले भनिन्, “मलाई थाहा छ, परमप्रभुले यो भूमि तपाईंहरूलाई दिनुभएको छ र तपाईंहरूको डर हामीमाथि आइपरेको छ । यो भूमिमा बस्‍ने सबै मानिस तपाईंहरूको सामु शिथिल हुनेछन् ।10 तपाईंहरू मिश्रबाट आउनुहुँदा परमप्रभुले लाल समुद्रको पानी कसरी सुकाउनुभयो भनी हामीले सुनेका छौँ । तपाईंहरूले यर्दन पारिका दुई जना एमोरी राजाहरू सीहोन र ओगलाई के गर्नुभयो भनेर पनि हामीले सुनेका छौँ ।11 हामीले यो सुन्‍ने बित्तिकै हाम्रा हृदय शिथिल भए, कसैसँग पनि साहस रहेन, किनभने परमप्रभु तपाईंहरूका परमेश्‍वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्‍वर हुनुहुन्‍छ ।12 बिन्‍ती छ, मैले जसरी तपाईंहरूलाई दया गरेको छु त्‍यसरी नै तपाईंहरूले पनि मेरो पिताको घरानालाई दयापूर्वक व्यवहार गर्नुहुनेछ भनी परमप्रभुको नाउँमा शपथ खानुहोस् । मलाई एउटा चिन्ह दिनुहोस्,13 कि तपाईंहरूले मेरा बुबा, आमा, दाजुभाइहरू, दिदी-बहिनीहरू र तिनीहरूका सबै परिवारको जीवन बचाउनुहुनेछ र तपाईंहरूले हामीलाई मृत्‍युबाट जोगाउनुहुनेछ ।14 ती मानिसहरूले तिनलाई भने, “मृत्‍युसम्म नै तिमीहरूको जीवनको सट्टामा हाम्रो जीवन ! यदि तिमीले हाम्रो कामबारे बताएनौ भने, जब परमप्रभुले यो भूमि हामीलाई दिनुहुनेछ हामी तिमीसँग दयालु र विश्‍वासयोग्य हुनेछौँ ।15 त्‍यसैले तिनले डोरीको सहायताले तिनीहरूलाई झ्यालबाट तल झारे । तिनी बसोबास गर्ने घर सहरको पर्खालभित्र नै बनाइएको थियो ।16 तिनले तिनीहरूलाई भने, “पहाडतिर जानुहोस् र लुक्‍नुहोस्, नत्र पिछा गर्नेहरूले तपाईंहरूलाई भेट्टाउनेछन् । पिछा गर्नेहरू नफर्केसम्म तीन दिनसम्म त्‍यहीँ लुक्‍नुहोस् । अनि आफ्नो बाटो लाग्‍नुहोस् ।17 ती मानिसहरूले तिनलाई भने, “यदि तिमीले यो कुरा गरेनौ भने हामीले तिमीलाई गरेका प्रतिज्ञाहरू लागु हुनेछैनन् ।18 हामी यो भूमिमा आउँदा तिमीले हामी जुन झ्यालबाट झरेका थियौँ त्‍यहीँ नै यो रातो डोरी बाँध्‍नुपर्छ र तिमीले तिम्रा बुबा, आमा, तिम्रा दाजुभाइहरू र तिम्रा बुबाका सबै घरानालाई घरभित्र ल्याउनुपर्छ ।19 तिम्रो घरबाहिर बाटोतिर जानेहरूको रगत तिनीहरूको शिरमाथि पर्नेछ र हामी दोषरहित हुनेछौँ । तर घरमा तिमीसँगै रहने कुनै माथि हात लगाइयो भने, त्‍यसको रगत हाम्रो शिरमा पर्नेछ ।20 तर यदि तिमीले हाम्रा कामहरूबारे बतायौ भने, तिमीले हामीलाई खान लगाएको शपथबाट हामी मुक्त हुनेछौँ ।21 राहाबले जवाफ दिए, “तपाईंहरूले भन्‍नुभएबमोजिम नै होस् ।” तिनले तिनीहरूलाई पठाए र तिनीहरू गए । अनि तिनले झ्यालमा त्‍यो रातो डोरी बाँधिन् ।22 तिनीहरू गए र पहाडतिर गए अनि तिनीहरूको पिछा गर्नेहरू नफर्केसम्म तिनीहरू तीन दिनसम्म त्‍यहीँ नै बसे । पिछा गर्नेहरूले बाटोमा सबैतिर खोजे र केही पनि भेट्टाएनन् ।23 ती दुई जना मानिस फर्के र नूनका छोरा यहोशूकहाँ आए र तिनीहरूले तिनीहरूमाथि आइपरेका सबै कुरा तिनलाई बताए ।24 तिनीहरूले यहोशूलाई भने, “साँच्‍चै, यो भूमि परमप्रभुले हामीलाई दिनुभएको छ । त्‍यो भूमिका सबै बासिन्‍दा हाम्रो कारणले शिथिल भइरहेका छन् ।”