5
टुरोसका राजा हीरामले सोलोमनकहाँ आफ्ना सेवकहरू पठाए किनकि आफ्नो पिताको सट्टामा सोलोमन राजा अभिषेक गरिएका थिए भनी तिनले सुनेका थिए । हीरामले दाऊदलाई सधैँ माया गर्थे ।2 सोलोमनले यसो भन्दै हीरामलाई वचन पठाए,3 “मेरा पिता दाऊद युद्धले घेरिएकाले परमप्रभु उहाँका परमेश्वरको नाउँमा उहाँले मन्दिर बनाउन सक्नुभएन भनी तपाईंलाई थाहै छ । उहाँको जीवनभर परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको खुट्टाको पैतालामुनि ल्याउनुभयो ।4 तर अहिले परमप्रभु मेरा परमेश्वरले मलाई हरेक क्षेत्रमा विश्राम दिनुभएको छ ।5 त्यसैले परमप्रभु मेरा परमेश्वरको नाउँमा एउटा मन्दिर बनाउने मेरो इच्छा छ जस्तो परमप्रभुले मेरा पिता दाऊदलाई यसो भन्नुभएको थियो, ‘म तेरो छोरोलाई तेरो सिंहासनमा बसाउनेछु, र त्यसले नै मेरो नाउँमा मन्दिर बनाउनेछ ।’6 त्यसकारण, अब तिनीहरूलाई मेरो निम्ति देवदारुका रूखहरू काट्न आज्ञा दिनुहोस् । मेरा दासहरू तपाईंका दासहरूसित मिल्नेछन्, र तपाईंले तोक्नुभएको ज्याला म तिनीहरूलाई दिनेछु । किनकि तपाईंलाई थाहा छ, कि सीदोनीहरू जस्तै रूख ढाल्ने सिपालु मानिसहरू हाम्रा बीचमा कोही छैन ।7 हीरामले सोलोमनको कुरा सुनेपछि तिनी अत्यन्तै खुसी भए र भने, “आज परमप्रभु धन्यका होऊन् जसले दाऊदलाई आफ्ना जातिको रेखदेख गर्न एउटा बुद्धिमान् छोरा दिनुभएको छ ।8 हीरामले सोलोमनलाई यस्तो वचन पठाए, “तपाईंले मलाई पठाउनुभएको सन्देश मैले सुनेको छु । म तपाईंले चाहना गर्नुभएका सबै देवदारु र सल्लाका काठ जुटाइदिनेछु ।9 मेरा दासहरूले लेबनानबाट समुद्रसम्म मूढाहरू ल्याउनेछन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा म बगाएर पठाउन लगाउनेछु । म त्यहाँ खोल्न लगाउनेछु, र तपाईंले ती लैजान सक्नुहुनेछ । मेरो घरानालाई भोजन जुटाइदिएर तपाईंले चाहनुभएको कुरा पूरा गर्नुहोस् ।10 त्यसैले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका मूढा हीरामले तिनलाई दिए ।11 सोलोमनले हीरामको घरानालाई भोजनको निम्ति पचास हजार मुरी गहूँ र साढे चार हजार लिटर शुद्ध तेल दिए । सोलोमनले यो वर्षैपिच्छे हीरामलाई दिन्थे ।12 आफूले प्रतिज्ञा गर्नुभएझैँ परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो । सोलोमन र हीरामको बीचमा शान्ति कायम थियो, र तिनीहरू दुई जनाले एउटा करार बाँधे ।13 सोलोमन राजाले सारा इस्राएलबाट तीस हजार बेगार काम गर्ने मानिसहरू जम्मा गरे ।14 तिनले तिनीहरूलाई हरेक महिना दश-दश हजार गरी लेबनानमा पठाए । तिनीहरू एक महिना लेबनानमा बस्थे र दुई महिना घरमा बस्थे । अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए ।15 सोलोमनका सत्तरी हजार भरिया र पहाडमा असी हजार ढुङ्गा काट्ने मानिस थिए ।16 मजदूरहरूका कामको रेखदेख गर्न खटिएका तीन हजार तीन सय नाइके थिए ।17 राजाको आज्ञामा तिनीहरूले मन्दिरको जगको निम्ति उच्च गुणस्तरका ठूला-ठूला ढुङ्गाहरू फोरेर निकाले ।18 त्यसैले सोलोमन र हीरामका कारीगरहरूसाथै गेबालका मानिसहरूले मन्दिर निर्माणको निम्ति काठ र ढुङ्गाहरू काटेर तयार पारे ।