3
सोलोमनले विवाहद्वारा मिश्रका राजा फारोसित मैत्रीपूर्ण सम्बन्ध गाँसे । तिनले फारोकी छोरीसित विवाह गरे, र तिनले आफ्नै महल, परमप्रभुको मन्‍दिरसाथै यरूशलेमको पर्खाल निर्माण गरेपछि उनलाई दाऊदको सहरमा ल्याए ।2 परमप्रभुको नाउँमा कुनै पनि घर निर्माण नभइसकेकोले मानिसहरूले उच्‍च स्थानहरूमा बलिदान चढाउँदै थिए ।3 आफ्ना पिता दाऊदका विधिविधानहरूमा हिँडी सोलोमनले परमप्रभुप्रति आफ्नो प्रेम देखाए, तर तिनले उच्‍च स्थानहरूमा बलिदान चढाए र धूप बाले ।4 राजा बलिदान चढाउन गिबोनमा गए किनकि त्‍यो निकै उच्‍च स्थान थियो । सोलोमनले त्‍यस वेदीमा एक हजार वटा होमबलि चढाए ।5 रातमा गिबोनमा परमप्रभु सपनामा सोलोमनकहाँ देखा पर्नुभयो । उहाँले भन्‍नुभयो, “तँ मबाट के चाहन्‍छस्, माग् ।6 त्‍यसैले सोलोमनले भने, “मेरा पिता दाऊद तपाईंको सामु विश्‍वसनीयतामा, धार्मिकतामा र हृदयको सोझोपनमा हिँडेकाले तपाईंले आफ्ना दास दाऊदलाई करारको ठूलो विश्‍वसनीयता देखाउनुभएको छ । तपाईंले उहाँप्रति करारको ठूलो विश्‍वसनीयता कायमै राख्‍नुभएको छ, र आज उहाँको सिंहासनमा बस्‍न एक जना पुत्र दिनुभएको छ ।7 अब हे परमप्रभु मेरा परमेश्‍वर, म सानो बालक भए तापनि तपाईंले आफ्ना दासलाई मेरा पिता दाऊदको ठाउँमा राजा बनाउनुभएको छ । मलाई मेरो कर्तव्य थाहा छैन ।8 तपाईंका दास तपाईंले छान्‍नुभएका मानिसहरूका बीचमा छन् जो असङ्ख्य र अनगिन्‍ती छन् ।9 त्‍यसैले मैले खराब र असल छुट्‌ट्‌याउन सकूँ भनेर मानिसहरूको न्‍याय गर्न तपाईंका दासलाई समझशक्तिको हृदय दिनुहोस् । किनकि तपाईंको यस महान् जातिलाई न्‍याय गर्न को सक्षम छ ?10 सोलोमनको यस बिन्‍तीले परमप्रभुलाई खुसी तुल्यायो ।11 त्‍यसैले परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तैँले आफ्नो लागि लामो जीवन वा धनसम्पत्ति वा तेरा शत्रुहरूको जीवन नमागी न्‍याय छुट्‌ट्‌याउने समझशक्ति मागेको छस् ।12 हेर्, अब तैँले मबाट मागेको सबै कुरा म पूरा गर्नेछु । म तँलाई बुद्धिमानी र समझशक्तिको हृदय दिनेछु । यसरी तेरो सामु कोही पनि तँ जस्‍तो हुनेछैन, र तँपछि पनि कोही पनि तँ जस्‍तो खडा हुनेछैन ।13 तैँले मबाट नमागेका कुराहरू अर्थात् धनसम्पत्ति र मान पनि मैले तँलाई दिएको छु ताकि राजाहरूका बीचमा तेरो जीवनभर तँ जस्‍तो कोही पनि नहोस् ।14 तेरा पिता दाऊदझैँ मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न तँ मेरो मार्गमा हिँडिस् भने म तेरो आयु लम्ब्याउनेछु ।15 त्‍यसपछि सोलोमन ब्युँझे, र यो त सपना पो रहेछ ! तिनी यरूशलेममा आए, र परमप्रभुको करारको सन्‍दूकको सामु खडा भए । तिनले होमबलि र मेलबलिहरू चढाए, अनि आफ्ना सबै सेवकहरूलाई भोज दिए ।16 त्‍यसपछि दुई जना वेश्या स्‍त्री राजाकहाँ आई तिनको सामु खडा भए ।17 एक जना स्‍त्रीले भनी, “हे मेरा मालिक, यो स्‍त्री र म एउटै घरमा बस्छौँ, अनि त्‍यस घरमा मैले एउटा बालक जन्‍माएँ ।18 मैले जन्‍म दिएको तेस्रो दिनमा यस स्‍त्रीले बालक जन्‍माई । हामी सँगसँगै थियौँ । घरमा हामीसित कोही पनि थिएन, तर हामी दुई जना मात्र थियौँ ।19 त्‍यसपछि रातमा यो स्‍त्रीले बालकलाई थिचेर मारिछ ।20 त्‍यसैले मध्‍य रातमा तपाईंकी दासी सुतिरहेको बेलामा त्‍यो उठी र छेउमा राखिएको मेरो छोरो लिएर काखमा राखिछ अनि मेरो काखमा चाहिँ त्‍यसको मरेको छोरो राखिछ ।21 म मेरो बच्‍चालाई दूध खुवाउन बिहान उठ्दा त्‍यो मरेको रहेछ । बिहान मैले त्‍यसलाई नियालेर हेर्दा त्‍यो मैले जन्‍माएको मेरो छोरो थिएन ।22 त्‍यसपछि अर्की स्‍त्रीले भनी, “त्‍यसो होइन । जीवित छोरोचाहिँ मेरो छोरो हो, र मरेकोचाहिँ तेरो छोरो हो ।” पहिलो स्‍त्रीले भनी, “त्‍यसो होइन । मरेकोचाहिँ तेरो छोरो हो, र जीवितचाहिँ मेरो छोरो हो ।” यसरी तिनीहरूले राजाको सामु बताए ।23 तब राजाले भने, “तिमीहरूमध्‍ये एउटीले भन्‍छौ, ‘यो जीवितचाहिँ मेरो छोरो हो, र तेरो छोरोचाहिँ मरेको छ ।’ त्‍यसै गरी, अर्कीले भन्‍छौ, ‘त्‍यसो होइन । तेरो छोरो मरेको छ, र मेरो छोरोचाहिँ जीवितै छ’ ।24 राजाले भने, “मलाई एउटा तरवार ल्याइदेऊ ।” त्‍यसैले तिनीहरूले राजाको सामु एउटा तरवार ल्याइदिए ।25 तब राजाले भने, “जीवित छोरोलाई काटेर दुई भाग लगा अनि आधा भाग एउटी स्‍त्रीलाई र बाँकी आधा भाग अर्की स्‍त्रीलाई दिनू ।26 तब आफ्नो छोरोको निम्ति दयाले भरिएर जीवित छोरोकी आमाले राजालाई भनी, “हे मेरा मालिक, जीवित बालक त्‍यसलाई नै दिनू र त्‍यसलाई कुनै पनि हालतमा नमार्नू ।” तर अर्की स्‍त्रीले भनी, “त्‍यो न मेरो हुने छ न तेरो । त्‍यसलाई दुई टुक्रा पारियोस् ।27 तब राजाले जवाफ दिए, “जीवित बालक पहिलो स्‍त्रीलाई दिनू, र त्‍यसलाई कुनै पनि हालतमा नमार्नू । त्‍यो नै बालककी आमा हो ।28 जब सारा इस्राएलले राजाले गरेको न्‍याय सुने, तिनीहरू राजादेखि डराए किनकि न्‍याय सम्पादन गर्न परमेश्‍वरको बुद्धि तिनमा थियो भनी तिनीहरूले देखे ।