2
दाऊदको मर्ने दिन नजिकिँदै गर्दा तिनले आफ्ना छोरा सोलोमनलाई यसो भने,2 “संसारको रीतझैँ म पनि मर्दै छु । त्‍यसकारण, बलिया होऊ, र आफैलाई मर्द साबित गर ।3 मोशाको व्यवस्थामा लेखिएका परमप्रभु तिम्रा परमेश्‍वरका मार्गहरूमा हिँड्न, उहाँका विधिहरू, आज्ञाहरू, निर्णयहरू र उहाँका करारका आदेशहरू पालन गर्न होशियार होऊ ताकि तिमी जता गए पनि तिमीले गर्ने सबै काममा तिम्रो उन्‍नति होस्,4 ताकि परमप्रभुले मेरो बारेमा यसो भन्‍नुभएको वचन उहाँले पूरा गर्नुभएको होस्, ‘तेरा छोराहरूले तिनीहरूका सारा हृदय र सारा प्राणले विश्‍वसनीयतासाथ मेरो सामु हिँड्न होशियारीपूर्वक आफ्ना आचरणको रेखदेख गरे भने इस्राएलको सिंहासनमा बस्‍ने उत्तराधिकारीको कहिल्यै अभाव हुनेछैन ।’5 सरूयाहका छोरा योआबले मलाई के गरे, र इस्राएलका दुई सेनापति अर्थात् नेरका छोरा अबनेर र येतेरका छोरा अमासलाई के गरे, सो तिमीलाई थाहै छ । तिनले दुवैलाई मारिदिए । तिनले शान्‍तिको समयमा युद्धको रगत बगाए, र युद्धको रगत आफ्नो कम्मरको पटुका र खुट्टाको जुत्तामा दले ।6 तिमीले सिकेको बुद्धिले योआबसित व्यवहार गर्नू, तर तिनको फुलेको कपाल शान्‍तिसित चिहानमा जान नपाओस् ।7 तथापि, गिलादका बर्जिल्लैका छोराहरूमाथि दया देखाउनू, र तिम्रो टेबिलमा खानेहरूमध्‍ये तिनीहरू पनि होऊन् किनकि म तिम्रो दाजु अब्शालोमबाट भाग्दा तिनीहरू मकहाँ आएका थिए ।8 हेर, बहूरीमको बेन्‍यामीनी गेराको छोरो शिमी तिमीसितै छ, जसले म महनोममा जाँदा त्‍यस दिन मलाई बेसरी सरापेको थियो । शिमी यर्दनमा मलाई भेट गर्न आयो, र त्‍यसले परमप्रभुको नाउँमा शपथ खाँदै भन्‍यो, ‘म तिमीलाई तरवारले मार्नेछैनँ ।’9 त्‍यसकारण, अब त्‍यसलाई दण्डबिना नछोड्नू । तिमी बुद्धिमानी मानिस हौ, र त्‍यसलाई के गर्नुपर्छ भनी तिमीलाई थाहा छ । तिमीले त्‍यसको फुलेको कपाल रगतसँगै चिहानमा ल्याउनू ।10 त्‍यसपछि दाऊद आफ्ना पुर्खाहरूसित सुते, र तिनलाई दाऊदको सहरमा गाडियो ।11 दाऊदले इस्राएलमाथि चालीस वर्षसम्म शासन गरे । तिनले हेब्रोनमा सात वर्षसम्म र यरूशलेममा तेत्तीस वर्षसम्म राज्‍य गरे ।12 तब सोलोमन आफ्ना पिता दाऊदको सिंहासनमा बसे, र तिनको शासन दृढतापूर्वक स्थापित थियो ।13 त्‍यसपछि हग्गीतका छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ आए । उनले भनिन्, “के तिमी शान्‍तिसितै आयौ ?” तिनले जवाफ दिए, “हजूर, शान्‍तिसित आएँ ।14 तब तिनले भने, “मैले तपाईंलाई केही कुरो भन्‍नु छ ।” उनले भनिन्, “भन ।15 अदोनियाहले भने, “तपाईंलाई थाहै छ, कि राज्‍य मेरै थियो, र सारा इस्राएलले म नै राजा हुनेछु भनी अपेक्षा गरेरहेका थिए । तर कुरो परिवर्तन भयो, र राज्‍य मेरो भाइलाई दिइयो किनकि परमप्रभुले यो तिनलाई दिनुभएको थियो ।16 अब म तपाईंलाई एउटा बिन्‍ती चढाउँछु र त्‍यसलाई इन्कार नगरिदिनुहोस् ।” बतशेबाले तिनलाई भनिन्, “भन ।17 तिनले भने, “मैले शूनम्मी अबीशगलाई पत्‍नीको रूपमा लैजान पाऊँ भनी सोलोमन राजालाई बिन्‍ती गरिदिनुहोस् ।18 बतशेबाले भनिन्, “ठीक छ । म राजासित कुरा गर्नेछु ।19 त्‍यसकारण अदोनियाहको निम्ति कुरा गर्न बतशेबा राजा सोलोमनकहाँ गइन् । उनलाई भेट्न राजा खडा भए र तिनले उनलाई दण्डवत् गरे । त्‍यसपछि राजा आफ्नो सिंहासनमा बसे, र राजाकी आमाको निम्ति एउटा सिंहासन ल्याउने हुकुम गरे । उनी राजाको दाहिने हातपट्टि बसिन् ।20 त्‍यसपछि उनले भनिन्, “तिमीलाई एउटा सानो बिन्‍ती चढाउने इच्‍छा छ, किनकि तिमीले इन्कार गर्नेछैनौ ।” राजाले उनलाई भने, “भन्‍नुहोस् मेरी आमा । म त्‍यसलाई इन्कार गर्नेछैनँ ।21 उनले भनिन्, “तिम्रो दाजु अदोनियाहलाई शूनम्मी अबीशग पत्‍नीको रूपमा देऊ ।22 राजा सोलोमनले आफ्नी आमालाई भने, “तपाईं किन शूनम्मी अबीशगलाई अदोनियाहको लागि माग्‍नुहुन्‍छ ? तपाईं तिनको लागि किन राज्‍य नै माग्‍नुहुन्‍न ? किनकि तिनी मेरा दाजु हुन् । किन पूजाहारी अबियाथार र सरूयाहका छोरा योआबको निम्ति पनि माग्‍नुहुन्‍न ?23 तब राजा सोलोमनले परमप्रभुको नाउँमा यसो भनी शपथ खाए, “यो बिन्‍तीको निम्ति अदोनियाहले आफ्नो ज्‍यान गुमाएनन् भने परमेश्‍वरले मलाई त्‍यो भन्‍दा कठोर व्यवहार गरून् ।24 त्‍यसकारण मलाई स्थापित गर्नुहुने, मलाई मेरा पिता दाऊदको सिंहासनमा राख्‍नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खडा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्‍दछु, कि आज निश्‍चय नै अदोनियाह मारिनेछन् ।25 त्‍यसैले राजा सोलोमनले यहोयादाका छोरा बनायाहलाई पठाए, र बनायाहले अदोनियाहलाई फेला पारी मारे ।26 तब राजाले पूजाहारी अबियाथारलाई भने, “तिम्रो आफ्नै जग्गा अनातोतमा जाऊ । तिमी मृत्‍युको लायक छौ, तर मेरा पिता दाऊदको सामु तिमीले परमप्रभुको सन्‍दूक बोकेकाले र मेरा पिता जस्‍तै हरेक मार्गमा तिमीले दुःख भोगेकाले तिमीलाई म यस बेला मार्दिनँ ।27 त्‍यसैले सोलोमनले अबियाथारलाई पूजाहारीको पदबाट हटाइदिए । यसरी शीलोमा बस्‍ने एलीका घरानाको बारेमा परमप्रभुले भन्‍नुभएको वचन पूरा भयो ।28 यो खबर योआबकहाँ आयो किनकि योआबले अदोनियाहलाई समर्थन गरेका थिए, यद्यपि तिनले अब्शालोमलाई भने समर्थन गरेका थिएनन् । त्‍यसैले योआब परमप्रभुको पालभित्र भागे, र वेदीका सीङहरू पक्रेर बसे ।29 योआब भागेर गई वेदीको छेउमा बसेका छन् भनी सोलोमनलाई बताइयो । तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई यसो भनी पठाए, “जाऊ र तिनलाई मार ।30 त्‍यसैले बनायाह परमप्रभुको पालभित्र प्रवेश गरी योआबलाई भने, “राजाले तिमीलाई बाहिर आउनलाई हुकुम गर्नुभएको छ ।” योआबले जवाफ दिए, “अहँ, म यहीँ नै मर्नेछु ।” त्‍यसैले बनायाह राजाकहाँ फर्के र भने, “योआब वेदीमा नै मर्न चाहन्‍छन् ।31 राजाले तिनलाई भने, “तिनले भने जस्‍तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट बिनाकारण योआबले बगाएको रगतको दोष लैजानेछौ ।32 तिनले बगाएको रगतको दोष तिनकै शिरमाथि परोस् किनकि तिनले मेरा पिता दाऊदको जानकारीबिनै आफू भन्‍दा धर्मी र उत्तम दुई जना मानिस अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासलाई आक्रमण गरी तिनीहरूलाई तरवारले मारे ।33 त्‍यसैले तिनीहरूको रगतको दोष सदाको निम्ति योआब र तिनका सन्‍तानहरूका शिरमाथि परोस् । तर दाऊद र तिनका सन्‍तानहरू अनि तिनको वंश र तिनको सिंहासनमा भने सदासर्वदा परमप्रभुबाट शान्‍ति आओस् ।34 तब यहोयादाका छोरा बनायाह माथि उक्ले अनि योआबलाई प्रहार गरी मारे । तिनलाई उजाड-स्थानमा तिनको आफ्नै जग्गामा गाडियो ।35 राजाले तिनको ठाउँमा यहोयादाका छोरा बनायाहलाई सेनापतिमा र अबियाथारको ठाउँमा सादोकलाई पूजाहारीमा नियुक्त गरे ।36 त्‍यसपछि राजाले शिमीलाई डाक्‍न पठाए र तिनलाई भने, “आफ्नो निम्ति यरूशलेममा घर बनाएर त्‍यहीँ बस, अनि त्‍यहाँबाट कतै नजाऊ ।37 किनकि जुन दिन तिमी किद्रोन उपत्‍यका पार गरेर जान्‍छौ, निश्‍चय नै तिमी मारिनेछौ भनी जान । तिम्रो रगतको दोष तिम्रै शिरमाथि पर्नेछ ।38 त्‍यसैले शिमीले राजालाई भने, “तपाईंले भन्‍नुभएको कुरो राम्रो छ । मेरा मालिक राजाले भन्‍नुभएझैँ हजूरको दासले गर्नेछ ।” त्‍यसैले धेरै दिनसम्म शिमी यरूशलेममा नै बसे ।39 तर तीन वर्षको अन्‍त्‍यमा शिमीका दुई जना दास गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए । त्‍यसैले तिनीहरूले शिमीलाई यसो भने, “हेर्नुहोस्, तपाईंका दासहरू गातमा छन् ।40 तब शिमी उठे अनि गधामा जीनकाठी कसेर आफ्ना दासहरूको खोजीमा आकीशकहाँ गए र गातबाट आफ्ना दासहरूलाई फर्काएर ल्याए ।41 शिमी यरूशलेमबाट गातमा गएर फर्केका छन् भनी जब सोलोमनलाई सुनाइयो,42 तब राजाले शिमीलाई डाक्‍न पठाए र तिनलाई भने, “ ‘जुन दिन तिमी यहाँबाट अन्‍त कतै जान्‍छौ, तिमी निश्‍चय नै मारिने छौ भनी जान’ भनी के मैले परप्रभुको नाउँमा शपथ खाई तिमीलाई गवाही दिएको थिइनँ र ? तब तिमीले मलाई भन्‍यौ, ‘हजूरले भन्‍नुभएको कुरा राम्रो छ ।’43 तब तिमीले किन परमप्रभुसित खाएको शपथ र मेरो आज्ञापालन गरेनौ ?44 राजाले शिमीलाई यसो पनि भने, “तिमीले मेरा पितालाई गरेका सबै दुष्‍टता तिमीलाई आफ्नो मनमा थाहा छ । त्‍यसकारण परमप्रभुले तिम्रो दुष्‍टता तिम्रै शिरमाथि फर्काइदिनुहुनेछ ।45 तर राजा सोलोमनचाहिँ आशिषित हुनेछन्, र दाऊदको सिंहासन परमप्रभुको सामु सदाको निम्ति स्थापित हुनेछ ।46 तब राजाले यहोयादाका छोरा बनायाहलाई आज्ञा दिएअनुसार तिनले शिमीलाई मारे । यसरी सोलोमनको हातमा शासन बलियो गरी स्थापित भयो ।