7
किर्यत-यारीमका मानसिहरू आएर परमप्रभुको सन्दूकलाई उठाए र डाँडामा भएको अबीनादाबको घरमा त्यो ल्याए । परमप्रभुको सन्दूकको रेखदेख गर्न तिनको छोरा एलाजारलाई तिनीहरूले अलग गरे ।2 त्यो बेलादेखि लामो समयसम्म अर्थात् बीस वर्षसम्म त्यो सन्दूक किर्यत-यारीममा रह्यो । इस्राएलका सबै घरानाले विलाप गरे र परमप्रभुतिर फर्कने इच्छा गरे ।3 शमूएलले इस्राएलका सारा घरानालाई भने, “तिमीहरू आफ्ना सारा हृदयले परमप्रभुतिर फर्किन्छौ, विदेशी देवताहरू र अश्तोरेतलाई तिमीहरूका माझबाट हटाउँछौ, आफ्नो हृदयलाई परमप्रभुतिर फर्काउँछौ र उहाँको मात्र आराधना गर्छौ भने, उहाँले तिमीहरूलाई पलिश्तीहरूको हातबाट छुटकारा दिनुहुनेछ ।4 त्यसपछि एस्राएलका मानिसहरूले बाल र अश्तोरेत हटाए र परमप्रभुको मात्र आराधना गरे ।5 तब शमूएलले भने, “सबै इस्राएललाई मिस्पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।6 तिनीहरू मिस्पामा भेला भए, पानी भरे र परमप्रभुको सामु खन्याए । त्यस दिन तिनीहरू उपवास बसे र भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौँ ।” शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे ।7 जब इस्राएलका मानिसहरू मिस्पामा भेला भएका छन् भन्ने पलिश्तीहरूले सुने, पलिश्तीहरूका शासकहरूले इस्राएललाई आक्रमण गरे । जब इस्राएलका मानिसहरूले यो सुने, तिनीहरू पलिश्तीहरूसँग डराए ।8 त्यसपछि इस्राएलका मानिसहरूले शमूएललाई भने, “हाम्रो निम्ति परमप्रभुसँग पुकारा गर्न नछोड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबट बचाउनुहुनेछ ।9 शमूएलले दूधे थुमालाई लिए र यसलाई परमप्रभुको निम्ति पूरै होमबलिको रूपमा चढाए । तब शमूएलले इस्राएलको निम्ति परमप्रभुसँग पुकारा गरे र परमप्रभुले जवाफ दिनुभयो ।10 शमूएलले होमबलि चढाउँदै गर्दा पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न आए । तर त्यस दिन पलिश्तीहरूको विरुद्धमा ठूलो गर्जनसहित परमप्रभु गर्जनुभयो र तिनीहरूलाई गोलमालमा पार्नुभयो, र तिनीहरू इस्राएलको सामुबाट भागे ।11 इस्राएलका मानिसहरू मिस्पाबाट गए र तिनीहरूले पलिश्तीहरूलाई लखेटे र उनीहरूलाई बेथ-करको मुनिसम्म मारे ।12 त्यसपछि शमूएलले एउटा ढुङ्गा लिए र मिस्पा र शेनको बीचमा त्यो खडा गरे । तिनले यसो भने, “परमप्रभुले हामीलाई यहाँसम्म सहायता गर्नुभएको छ ।13 यसरी पलिश्तीहरूलाई अधीन गरियो र तिनीहरू इस्राएलको सिमानाभित्र प्रवेश गरेनन् । शमूएलको समयभरि नै परमप्रभुको हात पलिश्तीहरूको विरुद्धमा थियो ।14 पलिश्तीहरूले इस्राएलबाट कब्जा गरेका एक्रोनदेखि गातसम्मका नगरहरू पुनर्स्थापना गरियो । इस्राएलले पलिश्तीहरूबाट आफ्ना इलाका फिर्ता लियो । अनि इस्राएल र एमोरीहरू बीच शान्ति थियो ।15 शमूएलले आफ्नो जीवनकालभरि नै इस्राएलको न्याय गरे ।16 तिनी हरेक वर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मार्थे । यी सबै ठाउँहरूमा इस्राएलका निम्ति तिनले झगडाहरूको फैसला गर्थे ।17 त्यसपछि तिनी रामामा फर्कन्थे, किनभने तिनको घर त्यहाँ थियो । अनि त्यहाँ पनि तिनले इस्राएलका निम्ति झगडाको फैसला गर्थे । तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी पनि निर्माण गरे ।