6
अनि पलिश्तीहरूको देशमा परमप्रभुको सन्‍दूक सात महिनासम्म रह्यो ।2 त्‍यसपछि पलिश्ती मानिसहरूले पूजाहारीहरू र जोखाना हेर्नेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई भने, “परमप्रभुको सन्‍दूकलाई हामीले के गर्नुपर्छ ? हामीले त्‍यसको आफ्नै देशमा त्‍यो कसरी पठाउनुपर्छ हामीलाई भन्‍नुहोस् ।3 पूजाहारीहरू र जोखाना हेर्नेहरूले भने, “तपाईंहरूले परमेश्‍वरको सन्‍दूक फिर्ता पठाउनुहुन्‍छ भने, कुनै उपहारबिना नपठाउनुहोस् । कुनै पनि हालतमा उहाँलाई दोषबलिसहित पठाउनुहोस् । तब तपाईंहरू निको हुनुहुनेछ र अहिलेसम्म उहाँको हात तपाईंहरूबाट किन नहटाइएको रहेछ भनी तपाईंहरूले जान्‍नुहुनेछ ।4 तब तिनीहरूले भने, “हामीले उहाँलाई फर्काइ रहँदा दोषबलि के हुनुपर्छ ?” तिनीहरूले जवाफ दिए, “पलिश्तीहरूको शासकहरूको सङ्‌ख्‍या जति छ त्‍यति नै सङ्‍ख्‍यामा सुनका पाँच गिर्खा र सुनका पाँच मूसाहरू बनाउनुहोस् । किनकि तपाईंहरू र तपाईंका शासकहरूलाई त्‍यही रूढीले प्रहार गर्‍यो ।5 यसैले तपाईंहरूले आफ्‍ना गिर्खाहरूको नमूनाहरू र देशलाई नाश पार्ने आफ्‍ना मूसाहरूको नमूनाहरू बनाउनुपर्छ र इस्राएलका परमेश्‍वरलाई महिमा दिनुपर्छ । शायद उहाँले आफ्‍नो हात तपाईंहरूबाट, तपाईंका देवाताहरूबाट र तपाईंको देशबाट हटाउनुहुनेछ ।6 जसरी मिश्रीहरू र फारोले आफ्नो हृदय कठोर पारे त्‍यसरी तपाईंहरूले किन आफ्‍नो हृदय कठोर पार्नुहुन्‍छ ? त्‍यस बेला परमेश्‍वरले तिनीहरूसँग कठोर व्यवहार गर्नुभयो । के मिश्रीहरूले मानिसहरू पठाएनन्, अनि तिनीहरूले छोडेर आएनन् र ?7 अब एउटा नयाँ गाडासँगै कहिल्यै जुवा नलागाइएका दुई वटा दुहुना गाई तयार पार्नुहोस् । गाईहरूलाई गाडामा बाँध्‍नुहोस्, तर तिनीहरूका बाछाबाछीलाई तिनीहरूबाट छुटाएर घरमा नै राख्‍नुहोस् ।8 तब परमप्रभुको सन्‍दूक लिनुहोस् र त्‍यसलाई गाडामा राख्‍नुहोस् । तपाईंहरूले दोषबलिको रूपमा उहाँलाई फर्काउने ती सुनका आकृतिहरूलाई त्‍यसको छेउमा एउटा बाकसमा राख्‍नुहोस् । अनि त्‍यसलाई पठाउनुहोस् र यसलाई आफ्नो बाटो जान दिनुहोस् ।9 त्‍यसपछि हेर्नुहोस्, त्‍यो बेथ-शेमेशतिर आफ्नै देशको बाटो जान्‍छ भने, यत्रो ठूलो विपत्ति परमप्रभुले नै ल्याउनुभएको रहेछ । तर होइन भने, हामीले जान्‍नेछौँ कि हामीलाई प्रहार गर्ने उहाँको हात होइन । बरु, संयोगले त्‍यसो भएको रहेछ भनी हामी जान्‍नेछौँ ।10 मानिसहरूलाई भनेअनुसार उनीहरूले गरे । उनीहरूले दुई वटा दुहुना गाईहरू लिए र तिनका बाछाबाछीलाई घरमा नै थुने ।11 उनीहरूले परमप्रभुको सन्‍दूक , साथै सुनका मूसाहरू र उनीहरूका गिर्खाको आकृतिहरू भएको बाकसलाई उक्त गाडामा राखे ।12 गाईहरू सोझै बेथ-शेमेशको दिशातिर गए । ती गाईहरू कराउँदै गए तर दाँया र बाँया कतैतिर नलागी, तिनीहरू लोकमार्ग हुँदै गए । पलिश्‍तीहरूका शासकहरू बेथ-शेमेशको सिमानासम्म नै तिनीहरूको पछि-पछि गए ।13 यति बेला बेथ-शेमेशका मानिसहरूले बेँसीमा गहूँको कटनी गरिरहेका थिए । तिनीहरूले आफ्‍ना आँखा उठाए र सन्‍दूकलाई हेरे र तिनीहरू आनन्‍दित भए ।14 बेथ-शेमेशको नगरबाट त्‍यो गाडा यहोशूको खेतमा आयो र त्‍यहाँ नै रोकियो । त्‍यहाँ एउटा ठूलो ढुङ्‌गा थियो, र तिनीहरूले गाडाको काठ चिरे र ती गाईहरूलाई परमप्रभुको निम्ति होमबलि चढाए ।15 लेवीहरूले परमप्रभुको सन्‍दूक र यससँगैको सुनका आकृतिहरू भएको बाकसलाई निकाले र तिनलाई त्‍यो ठूलो ढुङ्‌गामाथि राखे । बेथ-शेमेशका मानिसहरूले परमप्रभुलाई त्‍यसै दिन होमबलि र बलिदानहरू चढाए ।16 जब पलिश्तीहरूका पाँच जना शासकहरूले यो देखे, तब तिनीहरू एक्रोनमा फर्के ।17 पलिश्तीहरूले अश्दोदको निम्ति एउटा, गाजाको निम्ति एउटा, अश्कलोनको निम्ति एउटा, गातको निम्ति एउटा र एक्रोनको निम्ति एउटा गरी परमप्रभुलाई दोषबलिको रूपमा फर्काएका सुनका गिर्खाहरू यी नै हुन् ।18 सुनका मूसाहरू पलिश्ती शासकहरूका अधीनमा रहेका सबै किल्लाबन्‍दी गरिएका सहरहरू र गाउँहरूको सङ्ख्याअनुसार थिए । तिनीहरूले परमप्रभुको सन्‍दूक राखेका त्‍यो ठूलो ढुङ्‌गा बेथशेमेशीका यहोशूको खेतमा आजको दिनसम्म पनि साक्षीको रूपमा रहेको छ ।19 परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूलाई आक्रमण गर्नुभयो किनभने तिनीहरूले परमप्रभुको सन्‍दूकभित्र हेरेका थिए । उहाँले पचास हजार सत्तरी मानिसहरू मार्नुभयो । मानिसहरूले विलाप गरे, किनभने परमप्रभुले मानिसहरूलाई ठूलो आघात पुर्‍याउनुभएको थियो ।20 बेथ-शेमेशका मानिसहरूले भने, “यो पवित्र परमप्रभु परमेश्‍वरको सामु को खडा हुन सक्छ ? त्‍यो सन्‍दूक हामीबाट कसकहाँ जानेछ ?21 किर्यत-यारीमका बासिन्‍दाहरूकहाँ यसो भनेर तिनीहरूले दूतहरू पठाए, “पलिश्तीहरूले परमप्रभुको सन्‍दूक फिर्ता ल्याएका छन् । तल आउनुहोस् र त्‍यो आफ्‍नो साथमा लानुहोस् ।”