5
यति बेला पलिश्तीहरूले परमेश्वरको सन्दूक कब्जा गरेका, र तिनीहरूले त्यो एबेन-एजेरबाट अश्दोदमा ल्याएका थिए ।2 पलिश्तीहरूले परमेश्वरको सन्दूक लगे, दागोनको मन्दिरमा त्यो ल्याए र दागोनको नजिकै राखे ।3 जब अश्दोदका मानिसहरू अर्को दिन बिहान सबेरै उठे, हेर, दागोन त परमप्रभुको सन्दूकको सामु घोप्टो परेर ढलेको थियो । त्यसैले तिनीहरूले दागोनलाई उठाए र त्यसलाई आफ्नै स्थानमा खडा गरे ।4 तर जब तिनीहरू अर्को बिहान सबेरै उठे, हेर, दागोन परमप्रभुको सन्दूकको सामु घोप्टो परेर ढलेको थियो । दागोनको शिर र दुवै हातहरू टुक्रिएर ढोकामा अलपत्र थियो । दागोनको जिउ मात्र बाँकी रहेको थियो ।5 यसैकारण आज पनि दागोनको भवनमा आउने दागोनका पूजाहारीहरू र कसैले पनि अश्दोदको दागोनको ढोकामा टेक्दैनन् ।6 अश्दोदका मानिसहरूमाथि परमप्रभुको हात भारी भयो । उहाँले तिनीहरूलाई विनाश पार्नुभयो, अनि अश्दोद र त्यसको वरिपरि क्षेत्रहरूमा गिर्खाको रूढीले प्रहार गर्नुभयो ।7 जे भइरहेको थियो त्यो कुरा जब अश्दोदका मानिसहरूले थाहा पाए, तब तिनीहरूले भने, “इस्राएलका परमेश्वरको सन्दूक हामीसँग रहनु हुँदैन, किनभने हामी र हाम्रो देवता दागोनको विरुद्धमा उहाँको हात भारी भएको छ ।8 त्यसैले तिनीहरूले बोलाउन पठाए र पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्वरको सन्दूकलाई हामीले के गर्नुपर्छ ?” तिनीहरूले जवाफ दिए, “इस्राएलका परमेश्वरको सन्दूकलाई गातमा नै ल्याइयोस् ।” त्यसैले तिनीहरूले इस्राएलका परमेश्वरको सन्दूकलाई बोकेर त्यहाँ ल्याए ।9 तर तिनीहरूले त्यो वरिपरि ल्याएपछि, परमप्रभुको हात त्यो सहरको विरुद्धमा परेर ठूलो गोलमाल गोलमाल ? भयो । उहाँले सहरका साना र ठूला सबै मानिसहरूलाई प्रहार गर्नुभयो । अनि तिनीहरूमा गिर्खाको रूढी फैलियो ।10 त्यसैले तिनीहरूले परमेश्वरको सन्दूकलाई एक्रोनमा पठाए । तर परमेश्वरको सन्दूक एक्रोनमा आउने बित्तिकै, एक्रोनीहरूले यसो भन्दै कराए, “तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्नलाई इस्राएलका परमेश्वरको सन्दूक हामीकहाँ ल्याएका छन् ।11 त्यसैले तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए र भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्वरको सन्दूकलाई पठाइदिनुहोस्, र यो आफ्नै ठाउँतिर फर्कोस्, ताकि त्यसले हामी र हाम्रा मानिसहरूलाई नमारोस् ।” किनकि सहरभरि भयङ्कर मृत्युको त्रास फैलिएको थियो । त्यहाँ परमेश्वरको हात धेरै भारी पर्यो ।12 नमरेका मानिसहरूमा गिर्खाको रूढी आइपर्यो र सहरको क्रन्दन आकाशसम्मै पुग्यो ।