4
सम्पूर्ण इस्राएलभरि शमूएलले वचन दिए । यति बेला इस्राएल पलिश्तीहरूका विरुद्धमा लडाइँ गर्न गयो । तिनीहरूले एबेन-एजेरमा छाउनी हाले र पलिश्तीहरूले अपेकमा छाउनी हाले ।2 इस्राएल विरुद्ध युद्ध गर्न पलिश्तीहरू पङ्क्तिबद्ध भए । जब युद्ध फैलियो, पलिश्तीहरूद्वारा इस्राएल पराजित भयो, जसले युद्ध मैदानमा झण्डै चार हजार मानिसहरू मारे ।3 जब मानिसहरू छाउनीमा आए, इस्राएलका धर्म-गुरुहरूले भने, “आज परमप्रभुले हामीलाई पलिश्तीहरूको सामु किन पराजित गर्नुभयो ? परमप्रभुको करारको सन्दूकलाई शीलोबाट यहाँ ल्याऔँ, ताकि त्यो हामीसँग यहाँ नै रहोस्, जसले हामीलाई आफ्ना शत्रुहरूका हातबाट सुरक्षित राखोस् ।4 त्यसैले मानिसहरूले शीलोमा मानिसहरू पठाए । तिनीहरूले त्यहाँबाट सर्वशक्तमान् परमप्रभुको करारको सन्दूक बोके, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ । एलीका दुई जना छोराहरू होप्नी र पीनहास त्यहाँ परमेश्वरको करारको सन्दूकसँगै थिए ।5 जब परमप्रभुको करारको सन्दूक छाउनीमा ल्याइयो, इस्राएलका सबै मानिसहरू ठूलो सोरमा कराए र पृथ्वी नै गुञ्जियो ।6 जब पलिश्तीहरूले कराएको यो आवाज सुने, तिनीहरूले भने, “हिब्रूहरूको छाउनीमा यति ठूलो कराएको आवाजको अर्थ के हो ?” तब छाउनीमा परमप्रभुको सन्दूक ल्याइएको थियो भन्ने कुरा तिनीहरूले थाहा पाए ।7 पलिश्तीहरू डराए । तिनीहरूले भने, “छाउनीमा एउटा देवता आएको छ ।” तिनीहरूले भने, “हामीलाई धिक्कार छ ! पहिले यस्तो कुनै कुरा भएको छैन ।8 हामीलाई धिक्कार छ ! यी शक्तिशाली देवताहरूको शक्तिबाट हामीलाई कसले सुरक्षा दिन्छ ? मिश्रीहरूलाई उजाड-स्थानमा विभिन्न किसिमका विपत्तिहरूले प्रहार गर्ने देवताहरू यी नै हुन् ।9 ए पलिश्तीहरू हो, साहसी होओ र पुरुषार्थी बन, नत्र जसरी हिब्रूहरू तिमीहरूका दासहरू भएका छन् त्यसरी नै तिमीहरू तिनीहरूका दासहरू बन्नेछौ ।10 पलिश्तीहरूले यद्ध लडे, र इस्राएल पराजित भयो । हरेक मानिस आफ्नो घर भाग्यो र ठूलो नरसंहार भयो । किनकि इस्राएलका तीस हजार पैदल सिपाहीहरू मरे ।11 परमेश्वरको सन्दूक लगियो र एलीका दुई छोरा होप्नी र पीनहास मरे ।12 बेन्यामीनको एक जना मानिस युद्ध मैदानबाट आफ्नो लुगा च्यातिएको र शिरमा माटो लागेको अवस्थामा नै दौडे र त्यसै दिन शीलोमा आए ।13 त्यो आउँदा, एली आफ्नो आसनमा बाटोको छेवैमा बसेर हेरिरहेका थिए, किनभने परमेश्वरको सन्दूकको चिन्ताले तिनको हृदय काम्यो । जब त्यो मानिस सहर प्रवेश गर्यो र त्यो खबर भन्यो, तब सारा सहरमा रुवाबासी भयो ।14 जब एलीले रुवाबासीको हल्ला सुने, तब तिनले सोधे, “यो हल्लाखल्लाको अर्थ के हो ?” त्यो मानिस दौडेर आयो र एलीलाई भन्यो ।15 यति बेला एली अन्ठानब्बे वर्ष भएका थिए । तिनका आँखाहरू धमिला भएका थिए र तिनले देख्न सक्दैनथे ।16 त्यो मानिसले एलीलाई भन्यो, “युद्ध मैदानबाट आउने मानिस म नै हुँ । म युद्धबाट आज नै भागेको हुँ ।” एलीले भने, “हे मेरो छोरो, त्यो कस्तो भयो त ?17 सामाचार ल्याउने मानिसले जवाफ दियो र भन्यो, “पलिश्तीहरूको सामुबाट इस्राएली भागे । मानिसहरूका माझमा ठीलो पराजय पनि भएको छ । तपाईंका दुई छोरा होप्नी र पीनहास पनि मरे, र परमेश्वरको सन्दूक कब्जा गरेर लगिएको छ ।18 जब उसले परमेश्वरको सन्दूकको बारेमा भन्यो, तब एली ढोकाको छेउमा भएको आफ्नो आसनबाट पछाडितिर लडे । तिनको घाँटी भाँचियो र तिनी मरे, किनभने तिनी वृद्ध र गह्रौँ थिए । तिनी चालीस वर्षसम्म इस्राएलका न्यायकर्ता भएका थिए ।19 तिनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिइन् र बालक जन्माउने बेला बएको थियो । जब तिनले परमेश्वरको सन्दूक कब्जा गरेको, तिनको ससुरा र तिनको पति मरेको समाचार सुनिन्, तब तिनले घुँडा टेकिन् र बालक जन्माइन्, तर तिनको प्रसववेदनाले तिनलाई साह्रै पीडा भयो ।20 तिनको मृत्यु हुने बेलामा तिनलाई सेवा दिने स्त्रीले भनिन्, “नडराऊ, किनकि तिमीले एउटा छोरा जन्माएकी छ्यौ ।” तर तिनले जवाफ दिइनन् न त तिनीहरूले भनेका कुरालाई नै मनमा राखिन् ।21 “इस्राएलबाट महिमा गएको छ” भन्दै त्यो बालकको नाउँ तिनले ईकाबोद राखिन्, किनकि परमेश्वरको सन्दूक कब्जा गरिएको, अनि तिनका पति र ससुराको मृत्यु भएको थियो ।22 तिनले भनिन्, “महिमा इस्राएलबाट गएको छ, किनभने परमेश्वरको सन्दूक कब्जा गरिएको छ ।”