3
बालक शमूएलले एलीको अधीनमा रहेर परमप्रभुको सेवा गरे । ती दिनहरूमा परमप्रभुको वचन दुर्लभ थियो । त्‍यहाँ कुनै किसिमको नियमित अगमवाणीको दर्शन थिएन ।2 त्‍यस बेला एलीका आँखाहरू धमिला हुन थालेका हुनाले तिनले राम्ररी नदेख्‍ने भएर आफ्नै ओछ्यानमा पल्टिरहेका थिए ।3 परमेश्‍वरको बत्ती अझैसम्‍म निभेको थिएन, र शमूएल परमप्रभुको मन्‍दिरमा सुत्‍नलाई पल्टिरहेका थिए, जहाँ परमेश्‍वरको सन्‍दूक थियो ।4 परमप्रभुले शमूएललाई बोलाउनुभयो, जसले भने, “म यहाँ छु ।5 शमूएल कुदेर एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” एलीले भने, “मैले तँलाई बोलाइनँ । फेरि सुत् ।” त्‍यसैले शमूएल गए र सुते ।6 परमप्रभुले फेरि बोलाउनुभयो, “ए शमूएल ।” फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” एलीले जवाफ दिए, हे मेरो छोरो, मैले तँलाई बोलाइनँ । फेरि सुत् ।7 अझैसम्‍म शमूएलसँग परमप्रभुको बारेमा कुनै अनुभव थिएन, न त तिनलाई परमप्रभुको सन्‍देश कहिल्यै प्रकट गरिएको थियो ।8 परमप्रभुले शमूएललाई फेरि तेस्रोपल्‍ट बोलाउनुभयो । फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” तब परमप्रभुले त्‍यो केटोलाई बोलाउनुभएको थियो भनी एलीले महसुस गरे ।9 तब एलीले शमूएललाई भने, “जा र फेरि सुत् । उहाँले तँलाई फेरि बोलाउनुभयो भने, तैँले यसो भन्, ‘बोल्नुहोस्, हे परमप्रभु, किनकि तपाईंको दासले सुनिरहेको छ’ ।” त्‍यसैले शमूएल गए र फेरि एकपल्‍ट तिनको आफ्नै ठाउँमा पल्टे ।10 परमप्रभु आउनुभयो र खडा हुनुभयो । उहाँले अरू समयमा झैँ बोलाउनुभयो, “ए शमूएल, शमूएल ।” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको दासले सुनिरहेको छ ।11 परमप्रभुले शमूएललाई भन्‍नुभयो, “हेर्, म इस्राएलमा केही कुरा गर्न लागेको छु, जुन कुरा सुन्‍ने हरेकको कान झस्‍किनेछ ।12 त्‍यस दिन एलीको घरानाको विरुद्ध मैले भनेका हरेक कुरा सुरुदेखि अन्‍तसम्म नै म पूरा गर्नेछु ।13 म उसको घरानाको विरुद्ध सधैँको लागि एकैपल्‍ट न्‍याय गर्न लागेको छु भनी मैले उसलाई भनेको छु, किनभने उसका छोराहरूले आफैमाथि सराप ल्याए र उसले तिनीहरूलाई रोकेन ।14 यसकारणले गर्दा एलीको घरानाका पापहरू बलिदान वा भेटीद्वारा कहिल्यै पनि प्रायश्‍चित गरिनेछैन भनी मैले उसको घरानासँग शपथ खाएको छु ।15 शमूएल बिहानसम्म नै पल्टिरहे । अनि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले । तर त्‍यो दर्शनको बारेमा एलीलाई बताउन शमूएल डराए ।16 त्‍यसपछि एलीले शमूएललाई बोलाए र भने, “ए मेरो छोरो शमूएल ।” शमूएलले भने, “म यहाँ छु ।17 तिनले भने, “उहाँले तँलाई भन्‍नुभएको वचन के थियो ? कृपया त्‍यो मबाट नलुका । उहाँले तँसँग बोल्‍नुभएका सबै वचनमध्‍ये तैँले मबाट कुनै पनि कुरा लुकाइस् भने परमेश्‍वरले तँलाई त्‍यसै र त्‍यो भन्‍दा अझ धेरै गर्नुभएको होस् ।18 शमूएलले तिनलाई हरेक कुरा बताए । उनले तिनीबाट कुनै पनि कुरा लुकाएनन् । एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्‍छ । उहाँलाई जे असल लाग्छ सो गर्नुभएको होस् ।19 शमूएल बढे र परमप्रभु तिनीसँग हुनुहुन्‍थ्यो, र उहाँले आफ्नो भविष्यवाणीका वचनहरू कुनै पनि अपूर्ण रहेन ।20 परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्राएलीहरूले थाहा पाए ।21 परमप्रभु फेरि पनि शीलोमा देखा पर्नुभयो, किनभने आफ्नो वचनद्वारा शीलोमा शमूएलकहाँ उहाँ प्रकट हुनुभयो ।