9
यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका नातेदारहरूकहाँ शकेममा गए र तिनले उनीहरूलाई र आफ्नी आमाको परिवारका सबै वंशलाई यसो भने,2 “यो कुरा सोध्‍नुहोस् ताकि शकेमका सबै अगुवाहरूले सुन्‍न सकून्, ‘तपाईंहरूका निम्ति के असल हुन्‍छ, यरूब-बालका सबै सत्तरी जना छोराले तपाईंहरूमाथि शासन गरेको, कि एक जनाले मात्र शासन गरेको ?’ म तपाईंहरूकै हाड र मासु हुँ भन्‍ने कुरा सम्झनुहोस् ।3 तिनकी आमाका नातेदारहरूले तिनको बारेमा शकेमका अगुवाहरूसँग कुरा गरे, र तिनीहरू अबीमेलेकको पछि लाग्‍न सहमत भए, किनकि तिनीहरूले भने, “उनी हाम्रै भाइ हुन् ।4 उनीहरूले तिनलाई बाल-बरीतको मन्‍दिरबाट चाँदीका सत्तरी वटा सिक्‍का दिए र अबीमेलेकले ती सिक्‍काले हुर्दुङ्‌गे र साहसी मानिसहरू भाडामा लिए, जो तिनको पछि लागे ।5 अबीमेलेक ओप्रामा आफ्ना बुबाको घरमा गए, र तिनले एउटा ढुङ्‌गामा आफ्ना सत्तरी जना दाजुभाइ, यरूब-बालका छोराहरूलाई मारे । यरूब-बालका कान्‍छा छोरा, योताममात्र बाँकी रहे, किनभने उनी लुकेका थिए ।6 शकेम र बेथ-मिल्लोका सबै अगुवाहरू एकसाथ भेला भए, र शकेममा रहेको ठूलो रूखको छेउको खम्बामा अबीमेलेकलाई राजा बनाए ।7 जब योतामलाई यो कुराको बारेमा सुनाइयो, तिनी गए र गिरीज्‍जीम डाँडाको चुचुरामा खडा भए । तिनले ठूलो स्वरमा कराएर भने, “ए शकेमका अगुवाहरू हो, मेरो कुरा सुन, ताकि परमेश्‍वरले तिमीहरूलाई सुनून् ।8 एकपल्‍ट रूखहरूले आफ्नो निम्ति एउटा राजा अभिषेक गर्नको निम्ति निस्के । अनि तिनीहरूले जैतूनको रूखलाई भने, ‘हामीमाथि राज्‍य गर्नुहोस् ।’9 तर जैतूनको रूखले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई सम्‍मान दिने मेरो तेललाई त्‍यागेर, अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ ?’10 ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’11 तर नेभाराको रूखले तिनीहरूलाई भने, ‘के मैले मेरो गुलियोपन र मेरो असल फललाई त्‍यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ ?’12 ती रूखहरूले दाखको बोटलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’13 दाखको बोटले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई खुशी तुल्याउने मेरो नयाँ दाखमद्यलाई त्‍यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ ?’14 अनि ती सबै रूखहरूले काँढाको झाडीलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’15 त्‍यस काँढाको झाडीले रूखहरूलाई भन्‍यो, ‘तिमीहरू साँच्‍चै नै मलाई तिमीहरूमाथि राजा अभिषेक गर्न चाहन्‍छौ भने, आओ र मेरो छहारीमुनि सुरक्षित भएर बस । होइन भने, काँढाको झाडीबाट आगो बाहिर निस्कोस् र लेबनानका देवदारुहरूलाई त्‍यसले भस्म पारोस् ।’16 अब यसकारण, के तिमीहरूले अबीमेलेकलाई राजा बनाएर सत्‍यता र इमान्‍दारितामा काम गरेका छौ, र तिमीहरूले यरूब-बाल र उनका घरानालाई ठीक व्यवहार गरेका छौ, र उनले पाउन योग्य दण्ड तिमीहरूले उनलाई दिएका छौ भने -17 र मेरा बुबाले तिमीहरूका निम्ति युद्ध लडेका, आफ्नो प्राणलाई जोखिममा पारेका, र मिद्दानीहरूका हातबाट तिमीहरूलाई बचाएका कुरालाई विचार गरेका छौ भने,18 तर तिमीहरू त मेरा बुबाका घरानाका विरुद्धमा उठेका छौ र उनका सत्तरी जना छोराहरूलाई एउटै ढुङ्‌गामा मारेका छौ । अनि तिमीहरूले उनकी कमारीको छोरो, अबीमेलेकलाई शकेमका अगुवाहरूमाथि राजा तुल्याएका छौ, किनभने त्‍यो तिमीहरूको नातेदार हो ।19 तिमीहरूले यरूब-बाल र उनको घरानासँग इमान्‍दारिता र सत्‍यतामा व्यवहार गरेका भए, तिमीहरू अबीमेलेकमा खुशी रहो, र ऊ पनि तिमीहरूसँग खुशी रहोस् ।20 तर होइन भने, अबीमेलेकबाट आगो बाहिर निस्कोस्, र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस् । अनि शकेम र बेथ-मिल्लोका मानिसहरूबाट अबीमेलेकलाई भस्म पार्न आगो बाहिर आओस् ।21 योताम भागेर बेअरमा गए । उनी त्‍यहाँ बसे किनभने त्‍यो ठाउँ उनको दाजु अबीमेलेकबाट धेरै टाढा थियो ।22 अबीमेलेकले इस्राएलमाथि तीन वर्षसम्‍म राज्‍य गरे ।23 परमेश्‍वरले अबीमेलेक र शकेमका अगुवाहरूबीच एउटा दुष्‍ट आत्मा पठाउनुभयो । शकेमका अगुवाहरूले अबीमेलेकप्रतिको विश्‍वासमा धोका दिए ।24 यरूब-बालका सत्तरी जना छोराको हत्‍याको बदलास्वरूप, र तिनीहरूका हत्‍याको निम्ति तिनीहरूका भाइ अबीमेलेक दोषी होस्, र तिनीहरूलाई मार्नको निम्ति शकेमका मानिसहरूले उनलाई सहायता गरेका हुनाले तिनीहरू दोषी होऊन् भनेर परमेश्‍वरले यस्तो गर्नुभयो ।25 यसैले शकेमका अगुवाहरूले पहाडका चुचुराहरूमा उनलाई आक्रमण गर्न मानिसहरू कुरुवा राखे, र त्‍यो बाटो भएर हिँड्ने सबैलाई तिनीहरूले लुटे । यस बारेमा अबीमेलेकलाई भनियो ।26 एबेदका छोरा गाल आफ्ना नातेदारहरूसँग आए र तिनीहरू शकेममा गए । शकेमका अगुवाहरूले तिनीमाथि भरोसा गर्थे ।27 तिनीहरू बाहिर खेतमा गए र दाखका बोटहरूबाट दाखहरू बटुले, र तिनीहरूलाई कुल्चे । आफ्‍ना देवताहरूका मन्‍दिरमा तिनीहरूले एउटा चाड मनाए, र त्‍यहाँ तिनीहरूले खाए र पिए, र तिनीहरूले अबीमेलेकलाई सरापे ।28 एबेदका छोरा गालले भने, “अबीमेलेक को हो, र शकेम को हो, कि हामीले त्‍यसको सेवा गर्नुपर्ने ? के त्‍यो यरूब-बालको छोरा होइन ? के जबूल त्‍यसको अधिकारी होइन ? हामीले किन शकेमका पिता हमोरका मानिसहरूको सेवा गर्नुपर्ने ? हामीले किन अबीमेलेकको सेवा गर्ने ?29 यी मानिसहरू मेरो कमाण्‍डमा भएदेखि म अबीमेलेकलाई हटाइदिने थिएँ । मैले अबीमेलेकलाई भन्‍ने थिएँ, ‘तेरो सबै सेनालाई बाहिर बोला’ ।30 जब सहरका अधिकारी जबूलले एबेदका छोरा गालले भनेका कुरा सुने, तब तिनी रीसले चूर भए ।31 तिनले धोका दिने उद्देश्यले अबीमेलेककहाँ दूतकहरू पठाए, र यसो भन्‍न लगाए, “हेर्नुहोस्, एबेदका छोरा गाल र तिनका नातेदारहरू शकेममा आउँदैछन्, र तिनीहरूले सहरलाई तपाईंका विरुद्ध उचाल्दैछन् ।32 अब, तपाईं र तपाईंका सेनाहरू रातको समयमा उठ्नुहोस्, र मैदानमा आक्रमण गर्नलाई तयार बस्‍नुहोस् ।33 अनि बिहान, घाम उदाउने बित्तिकै, उठ्नुहोस् र सहरमा आक्रमण गर्नुहोस् । जब तिनी र तिनीसँग भएका मानिसहरू तपाईंको विरुद्धमा बाहिर आउँछन्, तब तिनीहरूलाई के गर्नुपर्छ त्‍यो गर्नुहोस् ।34 यसैकारण अबीमेलेक, र उनीसँग भएका सबै मानिस रातको समयमा उठे, र शकेमलाई आक्रमण गर्नको निम्ति चार समूहमा विभाजित भई ढुकेर बसे ।35 एबेदका छोरा गाल बाहिर निस्के र सहरको ढोकामा खडा भए । अबीमेलेक र उनीसँग भएका मानिसहरू तिनीहरू लुकिरहेका ठाउँबाट बाहिर निस्के ।36 जब गालले मानिसहरूलाई देखे, उनले जबूललाई भने, “हेर, मानिसहरू डाँडाका चुचुराबाट तल आउँदैछन् !” जबूलले तिनलाई भने, “तिमीले जे देख्दै छौ त्‍यो मानिसहरू जस्ता डाँडाका छाया हुन् ।37 गालले फेरि बोले र यसो भने, “हेर, मानिसहरू तल मैदानको बीचमा आइरहेका छन् र एउटा समूहचाहिँ जोखना हेर्नेको रूखको बाटो हुँदै आउँदै छ ।38 अनि जबूलले तिनलाई भने, “तिम्रा घमण्डपूर्ण कुराहरू अब कहाँ छन् ? तिमीले भन्‍थ्यौ, ‘अबीमेलेक को हो र हामीले किन त्‍यसको सेवा गर्नुपर्ने ?’ तिमीले तुच्‍छ ठानेका मानिसहरू यी नै होइनन् ? अब बाहिर जाऊ र तिनीहरूका विरुद्ध युद्ध लड ।39 गाल बाहिर निस्के र तिनी शकेमका मानिसहरूका अगि-अगि गए, र तिनले अबीमेलेकसँग युद्ध लडे ।40 अबीमेलेकले तिनलाई खेदे र गाल तिनको सामुबाट भागे । सहरको ढोकामा धेरै जना घाइते भएर मरे ।41 अबीमेलेक अरूमाहमा बसे । जबूलले गाल र तिनका नातेदारहरूललाई शकेमबाट बाहिर निकाले ।42 अर्को दिन शकेमका मानिसहरू मैदानमा निस्के, र यस कुराको जानकारी अबीमेलेकलाई दिइयो ।43 तिनले आफ्ना मानिसहरू लिए, उनीहरूलाई तीन समुहमा बाँडे, र तिनीहरू मैदानमा आक्रमण गर्नलाई ढुकेर बसे । उनले हेरे र सहरबाट मानिसहरू बाहिर आइरहेका देखे, र उनले आक्रमण गरे र तिनीहरूलाई मारे ।44 अबीमेलेक र उनीसँग भएका समूहहरूले आक्रमण गरेर सहरको ढोकालाई थुनिदिए । अरू दुई समूहले भने मैदानमा भएकाहरू सबैलाई आक्रमण गरे र तिनीहरूलाई मारे ।45 अबीमेलेक सहरको विरुद्ध दिनभर युद्ध लडे । तिनले त्‍यो सहरमाथि कब्जा गरे, र त्‍यहाँ भएका मानिसहरूलाई मारे । तिनले सहरका पर्खालहरूलाई भत्काइदिए र त्‍यसमाथि नून छरिदिए ।46 शकेमका किल्लाका सबै अगुवाहरूले जब यो सुने, तब तिनीहरू एल-बरीतको मन्‍दिरको किल्‍लामा प्रवेश गरे ।47 सबै अगुवाहरू शकेमको किल्लामा भेला भएका छन् भनेर अबीमेलेकलाई बताइयो ।48 अबीमेलेक र तिनीसँग भएका सबै मानिसहरू माथि सल्मोन डाँडातर्फ गए । अबीमेलेकले एउटा बन्चरो लिएर हाँगाहरू काटे । तिनले ती आफ्ना काँधमा बोके र आफूसँग भएका मानिसहरूलाई आज्ञा गरे, “मैले जे गरेको देखिरहेका छौ, छिटो-छिटो त्‍यसै गर ।49 यसैले हरेक व्‍यक्तिले हाँगाहरू काटे र अबीमेलेकको पछि लागे । तिनीहरूले ती किल्लाका पर्खालहरूमा अडाएर थुपारे, अनि त्‍यसमा आगो लगाइदिए, जसको कारणले शकेमको किल्लामा भएका सबै मानिसहरू, करीब एक हजार पुरुष र स्‍त्री मरे ।50 त्‍यसपछि अबीमेलेक तेबेसमा गए, र उनले तेबेसको विरूद्ध छाउनी हाले र त्‍यसलाई कब्जा गरे ।51 तर त्‍यस सहरमा एउटा बलियो किल्ला थियो, अनि त्‍यस सहरका सबै पुरुष र स्‍त्री र सबै अगुवाहरू त्‍यहाँ भागेर भित्रबाट ढोका थुने । तब तिनीहरू त्‍यस किल्लाको टुप्‍पोमा गए ।52 अबीमेलेक त्‍यो किल्लामा आए र त्‍यसको विरुद्ध लडे, र त्‍यस किल्लालाई जलाउन भनेर तिनी त्‍यसको ढोकानजिक आइपुगे ।53 तर एउटी स्‍त्रीले अबीमेलेकको शिरमा जाँतोको माथिल्लो फक्‍लेटो झारी र त्‍यसले तिनको खप्‍पर फुट्‍यो ।54 त्‍यसपछि उनले आफ्नो हतियार बोक्‍ने जवान मानिसलाई झट्टै बोलाए र उसलाई भने, “आफ्‍नो तरवार झिकेर मलाई मार्, ताकि कसैले मेरो बारेमा यस्तो नभनोस्, ‘एउटी स्‍त्रीले त्‍यसलाई मारी’ ।” त्‍यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए, र तिनी मरे ।55 जब इस्राएलका मानिसहरूले अबीमेलेक मरेको देखे, तिनीहरू घर फर्के ।56 यसरी परमप्रभुले अबीमेलेकले आफ्ना सत्तरी दाजुभाइहरूलाई मारेर आफ्ना बुबाको विरुद्ध गरेका दुष्‍टताको बदला लिनुभयो ।57 परमेश्‍वरले शकेमका मानिसहरूका दुष्‍टतालाई तिनीहरूकै टाउकोमा खन्‍याइदिनुभयो र तिनीहरूमाथि यरूब-बालका छोरा योतामको सराप पर्‍यो ।