8
एफ्राइमका मानिसहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई यो के गर्नुभयो ? तपाईं मिद्दानीहरूका विरुद्धमा युद्ध गर्न जानुहुँदा तपाईंले हामीलाई बोलाउनुभएन ।” तब उनीहरूले तिनीसँग ठूलो बहस गरे ।2 तिनले उनीहरूलाई भने, “तिमीहरूले गरेका तुलनामा मैले के नै गरेको छु र ? के अबीएजेरको सबै दाखको फसल भन्‍दा एफ्राइमको बोटमा टिप्‍न छुटेका दाख नै असल छैनन् र ?3 परमेश्‍वरले तिमीहरूलाई मिद्दानी शासकहरू, ओरेब र जएबमाथि विजय दिनुभएको छ ! तिमीहरूका तुलनामा मैले के प्राप्‍त गरेको छु र ?” जब तिनले यसो भने तब तिनीप्रतिको उनीहरूको रीस मर्‍यो ।4 गिदोन यर्दनमा आए, र तिनी र तिनीसँग भएका तीन सय जना मानिसले त्‍यो तरे । तिनीहरू थाकेका थिए, तापनि तिनीहरूले खेद्‍ने काम गरिरहे ।5 तिनले सुक्‍कोतका मानिसहरूलाई भने, “कृपया मेरो पछि आएका मानिसहरूलाई केही रोटी दिनुहोस्, किनकि तिनीहरू थाकेका छन्, र मचाहिँ मिद्दानी राजा जेबह र सल्मुन्‍नालाई खेद्‌दै छु ।6 तब अधिकारीहरूले भने, “के जेबह र सल्मुन्‍ना अब तिम्रा हातमा छन् र ? हामीले तिम्रो सेनालाई रोटी किन दिनुपर्‍यो ?7 गिदोनले भने, “परमप्रभुले हामीलाई जेबह र सल्मुन्‍नामाथि विजय दिनुभएपछि, मरुभूमिका काँढाहरू र घोच्‍ने झाडीले म तिमीहरूका छाला काढ्नेछु ।8 त्‍यहाँबाट तिनी पनीएलमा गए र त्‍यहाँका मानिसहरूसँग पनि त्‍यही कुरा भने, तर पनीएलका मानिसहरूले तिनलाई सुक्‍कोतका मानिसहरूले झैँ बोलेर जवाफ दिए ।9 तिनले पनीएलका मानिसहरूसँग पनि बोले र यसो भने, “जब म फेरि सकुशल आउनेछु, तब म यो किल्ला भत्काइदिनेछु ।10 यति बेला जेबह र सल्मुन्‍ना आफ्ना पन्ध्र हजार मानिससहित कर्कोरमा थिए । पूर्वका मानिसहरूका सबै सेनाहरूमा यति नै बाँकी थिए, कनभने त्‍यहाँ तरवार चलाउने एक लाख बीस हजार मानिसहरू मारिएका थिए ।11 नोबह र योगबहा भन्‍दा उता पालमा बस्‍नेहरूका हिँड्‍ने बाटोमा गिदोन अगि बढे । तिनले शत्रुको सेनालाई परास्त गरे, किनकि आक्रमण हुन्‍छ भनेर तिनीहरूले सोचेका थिएनन् ।12 जेबह र सल्मुन्‍ना भागे, र जब गिदोनले तिनीहरूलाई खेदे, तब तिनले मिद्दानका ती दुई जना राजा जेबह र सल्मुन्‍नालाई समाते, र तिनीहरूका जम्मै सेनाहरूमा त्रास ल्‍याए ।13 योआशका छोरा गिदोन युद्धबाट फर्केर हेरेस भन्‍ज्‍याङ्‌को बाटो गए ।14 तिनले सुक्‍कोतका एक जना जवान मानिसलाई समाए र उसलाई सोधे । त्‍यस जवान मानिसले सुक्‍कोतका सतहत्तर जना अधिकारी र एल्डरका नाउँ लेखिदियो ।15 गिदोन सुक्‍कोतका मानिसहरूकहाँ आए र भने “जेबह र सल्मुन्‍नालाई हेर, जसको बारेमा तिमीहरूले मेरो खिल्ली गर्‍यौ र यसो भन्‍यौ, ‘के तिमीले जेबह र सल्मुन्‍नालाई परास्‍त गरिसकेका छौ र ? हामीले तिम्रा सेनालाई रोटी दिनुपर्छ भन्‍ने कुरा हामीलाई थाहा छैन’ ।16 गिदोनले सहरका एल्डरहरूलाई नियन्‍त्रणमा लिए, र तिनले सुक्‍कोतका मानिसहरूलाई मरुभूमिका काँढाहरू र घोच्‍ने झाडीले दण्ड दिए ।17 तब तिनले पनीएलको किल्ला भत्काइदिए र त्‍यस सहरका मानिसहरूलाई मारे ।18 तब गिदोनले जेबह र सल्मुन्‍नालाई भने, “तिमीहरूले तबोरमा कस्ता मानिसहरूलाई मार्‍यौ ?” तिनीहरूले जवाफ दिए, “तिनीहरू तपाईं जस्‍तै थिए । तिनीहरूमध्‍ये हरेक व्‍यक्ति राजाका छोराजस्‍ता देखिन्‍थे ।19 गिदोनले भने, “तिनीहरू मेरा दाजु-भाइ, मेरी आमाका छोराहरू थिए । परमप्रभु जीवित हुनुभएको हुनाले, तिमीहरूले तिनीहरूलाई जीवितै राखेका भए, म तिमीहरूलाई मार्ने थिइनँ ।20 तिनले आफ्नो जेठो छोरो येतेरलाई भने, “उठ्‍ र उनीहरूलाई मार् ।” तर त्‍यो जवान मानिसले आफ्नो तरवार झिकेन किनकि ऊ डरायो, किनभने ऊ अझैसम्‍म एउटा सानो केटो नै थियो ।21 त्‍यसपछि जेबह र सल्मुन्‍नाले भने, “तपाईं नै उठेर हामीलाई मार्नुहोस् ! किनभने तपाईंसँग पुरुषको बल छ ।” गिदोन उठे र जेबह र सल्मुन्‍नालाई मारे । तिनले उनीहरूका ऊँटका घाँटीमा भएका चन्‍द्रहारका गहनाहरू पनि लगे ।22 त्‍यसपछि इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तपाईं, तपाईंका छोरा, तपाईंका नातिले हामीमाथि राज्‍य गरून्, किनभने तपाईंले हामीलाई मिद्दानीका हातबाट बचाउनुभएको छ ।23 गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि राज्‍य गर्नेछैनँ, न त मेरो छोराले राज्‍य गर्नेछ । परमप्रभुले नै तिमीहरूमाथि राज्‍य गर्नुहुनेछ ।24 गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्‍छुः तिमीहरू हरेकले आफ्नो लूटको सामानबाट मलाई कुण्डलहरू देओ ।” (मिद्दानीहरूले सुनका कुण्डल लगाउँथे, किनभने तिनीहरू इश्माएलीहरू थिए ।)25 तिनीहरूले जवाफ दिए, “ती तपाईंलाई दिन हामी खुशी छौँ ।” तिनीहरूले एउटा लुगा ओछ्याए र हरेक मानिसले आफ्नो लूटको सामनाबाट कुण्डलचाहिँ त्‍यसमा राखे ।26 उनले अनुरोध गरेका सुनका कुण्डलको तौल १,७०० शेकेल सुन भयो । यी सुन ती चन्‍द्रहारका गहनाहरू, अरू गहनाहरू, मिद्दानी राजाहरूले लगाएका बैजनी वस्‍त्र, र तिनीहरूका ऊँटका घाँटीमा भएका सिक्रीहरू भन्‍दा बाहेकका थिए ।27 गिदोनले ती कुण्डलहरूबाट एउटा एपोद बनाए र आफ्नो सहर ओप्रामा राखे, र सबै इस्राएलले त्‍यसको पूजा गरेर वेश्या जस्‍तै भए । गिदोन र उनका घरमा भएकाहरूका निम्ति यो एउटा पासो हुन गयो ।28 यसरी मिद्दानीहरू इस्राएलका मानिसहरूका अधीनमा रहे र तिनीहरूले आफ्नो शिर फेरि कहिल्यै उठाएनन् । यसरी गिदोनको समयमा देशमा चालीस वर्षसम्‍म शान्‍ति भयो ।29 योआशका छोरा, यरूब-बाल गए र आफ्नै घरमा बसे ।30 गिदोनको वंशमा सत्तरी छोराहरू थिए, किनकि तिनका धेरै जना पत्‍नीहरू थिए ।31 शकेममा बस्‍ने तिनकी उपपत्‍नीले पनि तिनको निम्ति एउटा छोरो जन्‍माइन्, र गिदोनले उसको नाउँ अबीमेलेक राखे ।32 योआशका छोरा गिदोन धेरै वृद्ध अवस्थामा मरे र तिनलाई आफ्नै बुबा योआशको चिहानमा अबीएजेरीहरूको ओप्रामा गाडियो ।33 गिदोनको मृत्‍यु हुनेबित्तिकै यस्‍तो भयो, इस्राएलका मानिसहरू फेरि फर्के र बाल देवताहरूको पूजा गरेर वेश्या जस्‍ता भए । तिनीहरूले बाल-बरीतलाई आफ्नो देवता बनाए ।34 इस्राएलका मानिसहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई सम्मान गर्न सम्‍झेनन्, जसले तिनीहरूलाई आफ्‍ना वरिपरि भएका सबै शत्रुबाट बचाउनुभएको थियो ।35 यरूब-बालले (अर्थात् गिदोनले) इस्राएलमा तिनीहरूका निम्ति गरेका सबै असल कुराहरूका खातिर तिनीहरूले गिदोनको घरानालाई गरेका आफ्ना प्रतिज्ञाहरूलाई पूरा गरेनन् ।