7
त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले । मिद्दानीहरूको छाउनीचाहिँ तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो ।2 परमप्रभुले गिदोनलाई भन्नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो ।’3 यसकारण अब मानिसहरूले सुन्ने गरी घोषणा गर र यसो भन्, ‘जो डराएको छ, जो थरथर भएको छ, ऊ फर्कोस् र गिलाद डाँडाबाट बिदा होस्’ ।” यसैले बाइस हजार मानिसहरू फर्केर गए, र दश हजार बाँकी रहे ।4 परमप्रभुले गिदोनलाई भन्नुभयो, “मानिसहरू अझै पनि ज्यादै धेरै छन् । तिनीहरूलाई तल पानीमा लैजा, र त्यहाँ तेरो निम्ति तिनीहरूका सङ्ख्या म कम गरिदिनेछु । यदि म तँलाई भन्छु, ‘यो व्यक्तिचाहिँ तँसँग जानेछ’ भने, ऊ तँसँग जानेछ । तर यदि म तँलाई भन्छु, ‘यो व्यक्तिचाहिँ तँसँग जानेछैन’ भने, ऊ तँसँग जानेछैन ।5 यसैले गिदोनले मानिसहरूलाई तल पानीमा लगे, र परमप्रभुले तिनलाई भन्नुभयो, “घुँडा टेकेर पानी पिउनेहरूबाट कुकुरले झैँ चाटेर पानी पिउनेहरूलाई अलग गर् ।6 तीन सय जना मानिसहरूले चाटेर पिए । अरू बाँकी मानिसले घुँडा टेकेर पानी पिए ।7 परमप्रभुले गिदोनलाई भन्नुभयो, “यी चाटेर पानी पिएका तीन सय जना मानिसहरू लिएर तिमीहरूलाई म बचाउनेछु र मिद्दानीहरूमाथि विजय दिनेछु । अरू हरेक मानिसलाई आफ्नै ठाउँमा फर्केर जान दे ।8 यसैले चुनिएकाहरूले आ-आफ्ना सर-समान र तुरहीहरू लिए । गिदोनले इस्राएलका सबै मानिस, हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए, तर तिनले ती तीन सय जना मानिसलाई राखे । अब मिद्दानीको छाउनी तल बेँसीमा थियो ।9 त्यो रात परमप्रभुले तिनलाई भन्नुभयो, “उठ् ! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदै छु ।10 तर तँलाई तल जान डर लागेको छ भने, तेरो सेवक पूराहसँग तल छाउनीमा जा,11 र तिनीहरूले के भन्दैछन्, त्यो सुन्, र छाउनीमा आक्रमण गर्न तेरो साहस बढ्नेछ ।” यसैले गिदोन आफ्ना सेवक पूराहसँग तल छाउनीको सुरक्षाबल भएको ठाउँमा गए ।12 मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेँसीमा, सलहका हुलझैँ भेला भएर बसेका थिए । तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरू भन्दा पनि धेरै थिए ।13 जब गिदोन त्यहाँ पुगे, एक जना मानिसले आफ्नो साथीलाई सपनाको बारेमा भन्दै थियो । त्यस मानिसले भन्यो, “हेर, मैले एउटा सपना देखेँ, र जौको एउटा रोटी मिद्दानीको छाउनीभित्र गुड्दै आयो । त्यो पालमा आयो, र त्यसलाई जोडले हिर्कायो र त्यसलाई उल्टो गरी पल्टाइदियो, यसैले त्यो ढल्यो ।14 अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन । परमेश्वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ ।15 जब गिदोनले त्यस सपना भनेको र त्यसको अर्थ लगाइएको सुने, तब तिनले घोप्टो परेर दण्डवत् गरे । तिनी इस्राएलको छाउनीमा फर्केर गए र भने, “उठ ! परमप्रभुले तिमीहरूलाई मिद्दानी सेनामाथि विजय दिनुभएको छ ।16 ती तीन सय जना मानिसलाई तिनले तीन वटा समूहमा विभाजन गरे, र तिनले उनीहरूलाई सबै तुरहीहरू र हरेक गाग्रोभित्र राँको हालेर खाली गाग्रोहरू दिए ।17 तिनले उनीहरूलाई भने, “मलाई हेर, र म जे गर्छु त्यही गर । हेर ! जब म छाउनीको छेऊमा पुग्छु, तब म जे गर्छु तिमीहरूले त्यही गर्नू ।18 जब म तुरही फुक्छु, तब म र मसँग भएका सबै जनाले छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्नू र यसो भनेर कराउनू ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति !’।19 यसैले गिदोन र तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए । मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए, तिनीहरूले तुरहीहरू फुके र आफ्ना हातहरूमा भएका गाग्रोहरू फुटाए ।20 तीनै दलले तुरहीहरू फुके र गाग्रोहरू फुटाए । तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए र तुरही फुक्नलाई दाहिने हातमा बोके । तिनीहरू कराएर भने, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार ।21 हरेक मानिस आफ्नो ठाउँमा छाउनीको वरिपरि खडा भए र सबै मिद्दानी सेना भागे । तिनीहरू ठूलो स्वरमा कराए र भागे ।22 जब तिनीहरूले तीन सय तुरहीहरू फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकू र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो । सबै सेनाहरू सरेरातर्फ बेथ-शित्तामसम्म, र तब्बातको नजिक हाबिल-महोलाको सिमानासम्म भागे ।23 नप्ताली, आशेर, र सबै मनश्शेबाट इस्राएलका मानिसहरू बोलाइए, र तिनीहरू मिद्दानीहरूका पछि लागे ।24 गिदोनले यसो भन्दै एफ्राइमको सबै पहाडी देशमा दूतहरू पठाए, “मिद्दानीहरूको विरुद्ध तल जाओ र तिनीहरूलाई रोक्नको निम्ति बेथ-बरासम्म यर्दन नदीमाथि नियन्त्रण गर ।” यसैले एफ्राइमका सबै मानिसहरू एकसाथ भेला भए र बेथ-बरासम्म यर्दन नदीमाथि नियन्त्रण गरे ।25 तिनीहरूले दुई मिद्दानी राजकुमार, ओरेब र जएबलाई कब्जा गरे । तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा, र जएबलाई जएबको दाखको कोलमा मारे । तिनीहरू मिद्दानीहरूका पछि खेद्दै गए र तिनीहरूले यर्दनको वारि भएका गिदोनकहाँ ओरेब र जएबका टाउकाहरू लिएर आए ।