10
अबीमेलेकपछि, एफ्राइमको पहाडी देशको शामीरमा बसोबास गर्ने इस्साखारका एक जना मानिस, दोदोका नाति पुवाका छोरा तोला इस्राएललाई छुटकारा दिनको निम्ति खडा भए ।2 तिनले तेईस वर्षसम्म इस्राएलको न्‍याय गरे । तिनी मरे र तिनलाई शामीरमा दफन गरियो ।3 तिनी पछि गिलादी याईर आए । तिनले बाईस वर्षसम्म इस्राएलको न्‍याय गरे ।4 तिनका तीस जना छोराहरू थिए जो तीस वटा गधाहरूमा सवार हुन्‍थे र तिनीहरूका तीस वटा सहरहरू थिए, जसलाई आजको दिनसम्म हब्बात याईर भनिन्‍छ, जुन गिलाद देशमा पर्छ ।5 याईर मरे र उनलाई कामोनमा दफन गरियो ।6 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्‍यही गरेका कुरामाथि तिनीहरूले झनै थप गरे र बाल देवताहरू र अश्तोरेत देवीहरू, अरामका देवताहरू, सीदोनका देवताहरू, मोआबका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू र पलिश्तीहरूका देवीहरूको पूजा गरे । तिनीहरूले परमप्रभुलाई त्‍यागे र फेरि उहाँको आराधना गरेनन् ।7 इस्राएलप्रति परमप्रभु रीसले क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा र अम्मोनीहरूका हातमा बेचिदिनुभयो ।8 तिनीहरूले त्‍यस वर्ष इस्राएलका मानिसहरूलाई थिचोमिचो गरे र अत्‍याचार गरे, र अठार वर्षसम्म तिनीहरूले यर्दनपारी एमोरीहरूको देश अर्थात् गिलादमा भएका सबै इस्राएलीमाथि अत्‍याचार गरे ।9 त्‍यसपछि अम्मोनीहरू यहूदाको विरुद्धमा, बेन्‍यामीनका विरुद्धमा, र एफ्राइमका घरानाको विरुद्धमा युद्ध लड्नको निम्ति यर्दनपारि गए, ताकि इस्राएल धेरै नै व्याकुल भए ।10 तब इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर पुकारा गरे, “हामीले तपाईंको विरुद्धमा पाप गरेका छौँ, किनभने हामीले आफ्‍ना परमेश्‍वरलाई त्‍यागेका छौँ र बाल देवताहरूको पूजा गरेका छौँ ।11 परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्‍नुभयो, “के मैले तिमीहरूलाई मिश्रीहरू, एमोरीहरू, अम्मोनीहरू, पलिश्तीहरू,12 र सीदोनीहरूबाट समेत छुटकारा दिइनँ र ? अमालेकीहरू र मिद्दानीहरूले तिमीहरूलाई अत्‍याचार गरे । तिमीहरूले मलाई पुकार्‍यौ, र मैले तिमीहरूलाई तिनीहरूका शक्तिबाट छुटाएँ ।13 तापनि तिमीहरूले मलाई त्‍याग्यौ र अरू देवताहरूलाई पूज्‍यौ । यसकारण, मैले तिमीहरूलाई छुटकारा दिने मौकाहरू म अब निरन्‍तर थपिरहनेछैन ।14 जाओ र तिमीहरूले पूजा गरेका देवताहरूलाई नै पुकारा गर । तिमीहरूमाथि समस्या आइपर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन् ।15 इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौँ । तपाईंलाई जे असल लाग्छ त्‍यही हामीलाई गर्नुहोस् । कृपागरी आजको दिन मात्र हामीलाई बचाइदिनुहोस् ।16 तिनीहरूले आफ्ना बीचमा भएका विदेशी देवताहरू त्‍यागे र परमप्रभुको आराधना गरे । तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्‍नुभएन ।17 अनि अम्मोनीहरू एकसाथ भेला भए र गिलादमा छाउनी हाले । इस्राएलीहरू एकसाथ भेला भए र मिस्पामा आफ्नो छाउनी हाले ।18 गिलादका मानिसहरूका अगुवाहरूले एक-अर्कामा यसो भने, “अम्मोनीहरूसँग युद्ध लड्न सुरु गर्ने मानिस को हो ? ऊ नै गिलादमा बस्‍ने सबैका अगुवा हुनेछ ।”