30
“जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्नेछन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अन्‍य जातिहरूका बीचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झनेछौ,2 र तिमीहरूका सारा हृदय र प्राणले आज मैले तिमीहरू र तिमीहरूका सन्‍तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निर्वासनलाई उल्ट्‌याइदिनुहुनेछ र तिमीहरूलाई टिठ्‌याउनुहुनेछ ।3 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तितरबितर पार्नुभएका सबै जातिबाट तिमीहरूलाई फर्काएर ल्याई तिमीहरूलाई एकत्रित गर्नुहुनेछ ।4 तिमीहरूको कुनै पनि मानिस निर्वासित भएर आकाशमुनिको सबै भन्‍दा टाढा लगिए तापनि परमेश्‍वरले तिमीहरूलाई जम्मा गरी ल्याउनुहुनेछ ।5 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूले अधिकार गर्नुभएको र तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुनेछ । उहाँले तिमीहरूको भलो गर्नुहुनेछ र तिमीहरूका पिता-पुर्खाहरू भन्‍दा तिमीहरूलाई सङ्ख्यामा वृद्धि गर्नुहुनेछ ।6 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू र तिमीहरूका सन्‍तानहरूका हृदयको खतना गरिदिनुहुनेछ अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सारा हृदयले प्रेम गर्नेछौ अनि तिमीहरू जीवित हुनेछौ ।7 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई घृणा गर्ने र तिमीहरूको खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि यी सबै श्राप ल्याउनुहुनेछ ।8 तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्‍नेछौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्नेछौ ।9 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको देशका सबै काम, तिमीहरूका सन्‍तान, तिमीहरूका बाछा-बाछी, तिमीहरूको भूमिको फलमा प्रचुर मात्रामा उन्‍नति गराइदिनुहुनेछ । किनकि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूमा आनन्‍द मनाउनुभएझैँ तिमीहरूको उन्‍नतिमा पनि आनन्‍द मनाउनुहुनेछ ।10 तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा मान्‍यौ भने उहाँले यसो गर्नुहुनेछ ।11 किनकि आज मैले तिमीहरूलाई दिएको यो आज्ञा तिमीहरूका निम्ति कठिन छैन, न त प्राप्‍तै गर्न नसक्‍ने गरी टाढा छ ।12 ‘हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति स्वर्गमा गई यसलाई तल ल्याएर हामीलाई बताउने को छ ?’ भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो स्वर्गमा छैन ।13 ‘हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति सागर पार गरी यसलाई ल्याएर हामीलाई बताउने को छ ?’ भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो समुद्रपारि छैन ।14 तर तिमीहरूले पालन गर्न सक्‍ने गरी वचन तिमीहरूको नजिकै छ अर्थात् तिमीहरूको मुख र हृदयमा छ ।15 हेर, आज मैले तिमीहरूका सामु जीवन र भलाइ, मृत्‍यु र दुष्‍ट्‌याइँ राखिदिएको छु ।16 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गहरूमा हिँड्न र उहाँका आज्ञाहरूसाथै उहाँका निर्देशनहरू, विधिविधानहरू पालन गर्न आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आदेशहरू पालन गर्‍यौ भने तिमीहरू बाँच्‍नेछौ र तिमीहरूको वृद्धि हुनेछ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू प्रवेश गर्न लागेका देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ ।17 तर तिमीहरूका हृदय बरालिएर अटेरी भयौ र अरू देवताहरूप्रति आकर्षित भएर तिनीहरूको सामु निहुरी तिनीहरूको पूजा गर्‍यौ भने18 तिमीहरू पक्‍कै नष्‍ट हुनेछौ भनी आज म घोषणा गर्दछु । यर्दनपारि गएर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको आयु लामो हुनेछैन ।19 तिमीहरूको सामु मैले जीवन र मृत्‍यु अनि आशिष् र श्राप राखिदिएको छु भनी तिमीहरूको विरुद्धमा गवाही दिन आज मैले स्वर्ग र पृथ्वीलाई साक्षी राखेको छु । त्‍यसकारण, तिमीहरू र तिमीहरूका सन्‍तानहरू बाँच्‍न सकून् भनी जीवन रोज ।20 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँको कुरा पालन गर्न र उहाँमा टाँसिनका लागि यसलाई मान्‍नू । किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको दीर्घायु हुनुहुन्‍छ । परमप्रभुले तिमीहरूलाई दिन्‍छु भनी तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक, याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्‍न सक भन्‍नलाई यो आज्ञा मान्‍नू ।”