31
मोशा गएर सारा इस्राएलीलाई यी वचन भने,2 “म अहिले एक सय बीस वर्ष पुगेँ । अब मभित्र बाहिर गर्न सक्दिनँ । परमप्रभुले मलाई यसो भन्‍नुभएको छ, ‘तँ यर्दनपारि जाने छैनस् ।’3 परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरू भन्‍दा अगिअगि त्‍यहाँ जानुहुनेछ । उहाँले तिमीहरूकै सामु यी जातिहरूलाई नष्‍ट पार्नुहुनेछ, र तिमीहरूले तिनीहरूलाई धपाउनेछौ । परमप्रभुले भन्‍नुभएझैँ यहोशू तिमीहरू भन्‍दा अगि त्‍यहाँ जानेछन् ।4 परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्‍ट पार्नुभएझैँ तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ ।5 तिमीहरूले तिनीहरूसित युद्धमा जम्काभेट गर्दा परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनहुनेछ, र मैले तिमीहरूलाई दिएका सबै आज्ञामुताबिक तिनीहरूलाई गर्नू ।6 बलियो र खुबै साहसी होओ । नडराओ र तिनीहरूदेखि भयभीत नहोओ । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै जानुहुनेछ । उहाँले तिमीहरूलाई छाड्नुहुनेछैन, न त त्‍याग्‍नुहुनेछ ।7 मोशाले यहोशूलाई बोलाई सारा इस्राएलको सामुन्‍ने भने, “बलियो र खुबै साहसी होऊ, किनकि यी मानिसहरूलाई दिन्‍छु भनी परमप्रभुले तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमी यिनीहरूसँगै जाऊ । तिमीहरूले तिनीहरूलाई यसको अधिकार गर्न दिनेछौ ।8 परमप्रभु तिम्रो अगिअगि जानुहुनेछ । उहाँ तिमीसँगै हुनुहुनेछ । उहाँले तिमीलाई छाड्नहुनेछैन, न त त्‍याग्‍नुहुनेछ । नडराऊ, निरुत्साहित नहोऊ ।9 मोशाले यो व्यवस्था लेखेर लेवीका छोराहरू अर्थात् पूजाहारीहरूलाई दिए जसले परमप्रभुले करारको सन्‍दूक बोक्थे । तिनले इस्राएलका सारा धर्म-गुरुलाई पनि यसका प्रतिहरू दिए ।10 मोशाले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “हरेक सात वर्षको अन्‍त्‍यमा अर्थात् ऋणहरू रद्द गरिदिने समयमा, छाप्रो-वासको चाडमा,11 परमप्रभु तिमीहरूका परमेश्‍वरले उहाँको पवित्र वासस्थानको लागि उहाँले छान्‍नुहुने ठाउँमा सारा इस्राएली उहाँको सामु देखा पर्दा तिनीहरूले सुन्‍ने गरी सारा इस्राएलीको सामु तिमीहरूले यो व्यवस्थाका वचन पढ्नू ।12 पुरुष र स्‍त्रीहरू, बालबच्‍चाहरू, तिमीहरूका सहरभित्र बस्‍ने परदेशीलगायत सबै मानिसलाई भेला गराउनू ताकि तिनीहरूले सुनेर सिक्‍न सकून् र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आदर गर्न सकून् अनि यस व्यवस्थाका वचनहरू पालन गर्न सकून् ।13 यर्दनपारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुञ्‍जेलसम्म यो व्यवस्था नजान्‍ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न सिकून् ।14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, तँ मर्ने दिन आउँदै छ । यहोशूलाई डाकेर भेट हुने पालमा तेरो उपस्थितिमा ले ताकि म त्‍यसलाई आज्ञा दिन सकूँ ।” मोशा र यहोशू भेट हुने पालमा गएर आफैलाई उपस्थित गराए ।15 परमप्रभु बादलको खाँबोमा पालमा देखा पर्नुभयो । बादलको खाँबो पालको ढोकामाथि अडियो ।16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, तँ तेरा पिता-पुर्खाहरूसित सुत्‍नेछस् । जुन देशमा यी मानिसहरू जाँदै छन्, त्‍यहाँ तिनीहरूले अनौठा देवताहरूको पछि लागि आत्मिक व्यभिचार गर्नेछन् । तिनीहरूले मलाई त्‍याग्‍नेछन् र मैले तिनीहरूसित बाँधेको मेरो करार भङ्‌ग गर्नेछन् ।17 तब त्‍यस दिन मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कनेछ र म तिनीहरूलाई त्‍यागिदिनेछु । म तिनीहरूबाट मेरो मुहार लुकाउनेछु, र तिनीहरू नष्‍ट हुनेछन् । तिनीहरूले धेरै विपत्ति र सङ्‌कष्‍टहरू झेल्नेछन् अनि त्‍यस दिन तिनीहरूले भन्‍नेछन्, ‘के हाम्रा परमेश्‍वर हाम्रा बीचमा नहुनुभएकोले यी विपत्तिहरू हामीमाथि आइपरेका होइनन् र ?’18 तिनीहरू अन्‍य देवताहरूकहाँ फर्की तिनीहरूले गर्ने तिनीहरूका सबै दुष्‍ट्‌याइँको कारणले त्‍यस दिन म निश्‍चय नै तिनीहरूबाट मेरो मुहार लुकाउनेछु ।19 अब त्‍यसकारण तिमीहरूले आफ्नो निम्ति यो गीत लेखेर इस्राएलीहरूलाई सिकाओ । यसलाई कण्ठस्थ पार ताकि यो गीत इस्राएलीहरूको विरुद्धमा मेरो साक्षी होस् ।20 किनकि तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनी मैले प्रतिज्ञा गरेको दूध र मह बग्‍ने देशमा जब मैले तिनीहरूलाई ल्याएको हुनेछु, र तिनीहरू खाएर तृप्‍त भएर मोटाएका हुनेछन्, तब तिनीहरू अन्‍य देवताहरूकहाँ लागी तिनीहरूको सेवा गर्नेछन् र तिनीहरूले मेरो तिरस्कार गरी मेरो करार भङ्‌ग गर्नेछन् ।21 जब यस जातिमाथि धेरै खराबी र सङ्‌कष्‍ट आइपर्नेछन्, यो गीतले तिनीहरूको सामु साक्षीको रूपमा गवाही दिनेछ (किनकि यो तिनीहरूका सन्‍तानका मुखबाट बिर्सिनेछैन) । मैले तिनीहरूलाई प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई ल्याउनु भन्‍दा अगावै तिनीहरूले आज रचेका योजनाहरू मलाई थाहा छ ।22 त्‍यसैले त्‍यही दिन मोशाले यो गीत लेखी इस्राएलीहरूलाई सिकाए ।23 परमप्रभुले नूनका छोरा यहोशूलाई यस्तो आज्ञा दिई भन्‍नुभयो, “बलियो र खुबै साहसी होऊ । किनकि मैले इस्राएलीहरूलाई प्रतिज्ञा गरेको देशमा तैँले तिनीहरूलाई ल्याउने छस्, र म तँसित हुनेछु ।24 मोशाले यस व्यवस्थाका वचनहरू लेखिसिध्‍याएपछि25 परमप्रभुको करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई तिनले आज्ञा दिए,26 “व्यवस्थाको यस पुस्तकलाई लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्‍दूकको छेउमा राख ताकि यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा रहोस् ।27 किनकि म तिमीहरूको विद्रोह र हठ जान्‍दछु । हेर, आज म तिमीहरूसित जीवित छँदा नै तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही भएका छौ । मेरो मृत्‍युपछि झन् कति धेरै विद्रोही हुन्‍छौ ?28 तिमीहरूका कुलका सबै धर्म-गुरुहरू र तिमीहरूका अधिकारीहरूलाई भेला गर ताकि तिनीहरूले सुन्‍ने गरी मैले यी वचनहरू तिनीहरूलाई बोल्न सकूँ र तिनीहरूको विरुद्धमा स्वर्ग र पृथ्वीलाई साक्षी राख्‍न सकूँ ।29 किनकि म जान्‍दछु, कि मेरो मृत्‍युपछि तिमीहरू पूर्ण रूपमा भ्रष्‍ट भई मैले तिमीहरूलाई दिएको मार्गबाट बरालिनेछौ । आगामी दिनहरूमा तिमीहरूमाथि विपत्तिहरू आइपर्नेछन् । तिमीहरूका हातका कामहरूले तिमीहरूले परमप्रभुलाई चिढ्याई उहाँको दृष्‍टिमा दुष्‍ट कामहरू गर्ने भएकोले यसो हुनेछ ।30 मोशाले यस गीतका शब्दहरू सुरुदेखि अन्‍त्‍यसम्म इस्राएलीहरूका सारा समुदायलाई सुनाए ।