29
होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशामार्फत इस्राएलीहरूलाई दिनुभएका वचनहरू यी नै हुन् ।2 मोशाले सारा इस्राएलीलाई डाकेर भने, “मिश्र देशमा फारो, तिनका सबै अधिकारी र तिनका सबै देशमा परमप्रभुले तिमीहरूका सामु गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ ।3 तिमीहरूका आँखाले डरलाग्दो दुःखकष्ट, चिन्ह र आश्चर्यहरू देख्यौ ।4 तर आजको दिनसम्म परमप्रभुले तिमीहरूलाई जान्ने हृदय, देख्ने आँखा वा सुन्ने कान दिनुभएको छैन ।5 मैले तिमीहरूलाई चालीस वर्षसम्म उजाड-स्थानमा अगुवाइ गरेको छु । तिमीहरूका लुगा फाटिएन, न त तिमीहरूका जुत्ता च्यातिए ।6 तिमीहरूले अरू कुनै रोटी खाएनौ, न त तिमीहरूले कुनै अरू मद्य पियौ ताकि म नै परमप्रभु तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले जान्न सक ।7 तिमीहरू यस ठाउँमा आउँदा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग तिमीहरूको विरुद्धमा युद्ध गर्न आए र हामीले तिनीहरूलाई परास्त गर्यौँ ।8 हामीले तिनीहरूको देश कब्जा गरी रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौँ ।9 त्यसकारण, तिमीहरूले गर्ने हरेक कुरामा तिमीहरूको उन्नति होस् भनेर यस करारका वचनहरू पालग गर र मान ।10 आज तिमीहरूका नायक, कुल, धर्म-गुरु, अधिकृत र इस्राएलका सबै मानिस परमप्रभु तिमीहरूका परमेश्वरको सामु खडा छौ ।11 तिमीहरूका छोराछोरीहरू, पत्नीहरू, तिमीहरूको छाउनीमा भएका प्रवासी दाउरे र पर्नेनी सबै उहाँको सामु खडा छौ ।12 आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको करारभित्र प्रवेश गर्न र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित खान लाग्नुभएको शपथभित्र प्रवेश गर्दै छौ13 ताकि आज उहाँले तिमीहरूलाई आफ्नै जाति बनाउनुभएको होस् र उहाँले भन्नुभएझैँ उहाँले तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँ तिमीहरूका परमेश्वर होऊन् ।14 किनकि मैले यो करार र यो शपथ आज परमप्रभु तिमीहरूका परमेश्वरको सामु15 यहाँ उभिनेहरूसित मात्र नभएर आज हामीसित यहाँ नहुनेहरूसित पनि बाँध्दै छु ।16 हामी मिश्रमा कसरी बस्यौँ र जाति-जातिहरूका बीचबाट हामी कसरी आयौँ भनी तिमीहरू जान्दछौ ।17 तिनीहरूका बीचमा भएका काठ र ढुङ्गा, चाँदी र सुनले बनेका घिनलाग्दा मूर्तिहरूलाई तिमीहरूले देखेका छौ ।18 तिमीहरूका बीचमा भएका कुनै पुरुष, स्त्री, घराना, कुलको हृदय परमप्रभु हाम्रा परमेश्वरबाट तर्केर गई ती जातिहरूका देवताहरूको पूजा गर्न पछि नलागोस् भन्ने कुरामा निश्चित होओ । तिमीहरूका बीचमा यस्तो तीतो विष उत्पन्न गर्ने कोही नहोस् ।19 त्यस्तो व्यक्तिले यो श्रापका वचनहरू सुन्दा त्यसले आफैलाई आशिष् दिई आफ्नो हृदयमा यसो भन्छ, ‘म मेरो हृदयको हठीपनामा हिँडे तापनि मसित शान्ति हुनेछ ।’ यसले सुक्खा जमिनसँगै भिजेको जमिनलाई पनि नष्ट गर्नेछ ।20 परमप्रभुले त्यसलाई क्षमा दिनुहुनेछैन, बरु परमप्रभुको क्रोध र उहाँको डाह त्यो मानिसको विरुद्धमा दन्कनेछ अनि यस पुस्तकमा लेखिएका सबै श्राप त्यसमाथि आउनेछन् । यसरी परमप्रभुले आकाशमुनिबाट त्यसको नाउँ मेटिदिनुहुनेछ ।21 व्यवस्थाको यस पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलका सबै कुलबाट विनाशको निम्ति अलग गर्नुहुनेछ ।22 तिमीहरूपछि आउने पुस्ता अर्थात् तिमीहरूका सन्तान र सुदूर देशबाट आउने परदेशीले यस देशमा आइपरेका विपत्तिहरू र परमप्रभुले ल्याउनुभएका विपत्तिहरू देख्दा तिनीहरूले यस बारेमा भन्नेछन् ।23 परमप्रभुले आफ्नो रीस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुनेछ ।24 अन्य जातिहरूसँगै तिनीहरूले भन्नेछन्, ‘किन परमप्रभुले यस देशलाई यसो गर्नुभएको ? यो डरलाग्दो रीसको मतलब के हो ?’25 मानिसहरूले भन्नेछन्, ‘तिनीहरूले मिश्रबाट ल्याउनुहुने परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्वरले तिनीहरूसित बाँध्नुभएको करार त्यागेकाले गर्दा यसो भएको हो ।26 तिनीहरू आफूले नचिनेका र उहाँले तिनीहरूलाई नदिनुभएको अन्य देवताहरूको पछि लागी तिनीहरूको सेवा गरेकाले र तिनीहरूका सामु निहुरेकाले गर्दा यसो भएको हो ।27 त्यसकारण, यस पुस्तकमा लेखिएका सबै श्राप आउने गरी परमप्रभुको रीस यस देशको विरुद्धमा दन्किएको हो ।28 परमप्रभुले आफ्नो रीस, क्रोध र भयानक कोपमा तिनीहरूलाई तिनीहरूको देशबाट जरैदेखि उखेली अर्को देशमा फ्याँक्नुभएको छ, जस्तो आज छ ।’29 गुप्त कुराहरू परमप्रभु हाम्रा परमेश्वरका मात्र हुन् । तर प्रकट भएका कुराहरू सदाको निम्ति हाम्रा र हाम्रा सन्तानहरूका हुन् ताकि हामीले यस व्यवस्थाका सबै वचन पालन गर्न सकौँ ।”