28
“आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञा पालन गर्न उहाँको कुरा होशियारीपूर्वक सुन्यौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई पृथ्वीका सबै जाति भन्दा उच्च बनाउनुहुनेछ ।2 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको कुरा सुन्यौ भने यी सबै आशिष् तिमीहरूमा आउनेछन् ।3 तिमीहरू सहरमा आशिषित् हुनेछौ र खेतमा आशिषित् हुनेछौ ।4 तिमीहरूका सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूका पशु, तिमीहरूका गाईवस्तुसाथै तिमीहरूका बाछा-बाछीमाथि आशिष् पर्नेछ ।5 तिमीहरूको डालो र पीठो मुछ्ने आरीमा आशिष् पर्नेछ ।6 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउनेछौ ।7 तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु पराजित गर्नुहुनेछ । तिनीहरू तिमीहरूको विरुद्धमा एउटा बाटो भएर आउनेछन्, तर तिमीहरूकै सामु सात वटा बाटो भएर भाग्नेछन् ।8 परमप्रभुले तिमीहरूका धनसार र तिमीहरूले हात लगाउने हरेक थोकमा आशिष् ल्याउनुहुनेछ । उहाँले तिमीहरूलाई दिन लाग्नुभएको देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ ।9 परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गरी उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले प्रतिज्ञा गरेअनुसार परमप्रभुले तिमीहरूलाई आफ्नो लागि अलग गर्नुभएको जातिको रूपमा स्थापित गर्नुहुनेछ ।10 तिमीहरू परमप्रभुको नाउँद्वारा डाकिएका छौ भनी पृथ्वीका सबै जातिले थाहा पाउनेछन्, र तिनीहरू तिमीहरूदेखि डराउनेछन् ।11 परमप्रभुले तिमीहरूका सन्तान, तिमीहरूका गाईवस्तु, तिमीहरूको भूमिको उब्जनी र तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूको उन्नति गराउनुहुनेछ ।12 ठीक समयमा वृष्टि दिन र तिमीहरूको देशको सबै काममा आशिष् दिन परमप्रभुले तिमीहरूका निम्ति आकाशमा भएको आफ्नो भण्डारण खुला गर्नुहुनेछ । तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर तिमीहरूले ऋण लिनेछैनौ ।13 परमप्रभुले तिमीहरूलाई शिर तुल्याउनुहुनेछ, पुच्छर होइन । तिमीहरू केवल माथि हुनेछौ, तल होइन । आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू पालन गर्न र मान्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको कुरा सुन्यौ भने,14 र आज मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूबाट दायाँ र बायाँ गएर अरू देवताहरूको सेवा गर्न तिनीहरूको पछि लागेनौ भने तिमीहरूले आशिष् पाउनेछौ ।15 तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्नेछन् ।16 तिमीहरूको सहर र तिमीहरूको खेतमा श्राप पर्नेछ ।17 तिमीहरूको डालो र पीठो मुछ्ने आरीमा श्राप पर्नेछ ।18 तिमीहरूको सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूको गाईवस्तु र बाछा-बाछीहरूमा श्राप पर्नेछ ।19 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्राप पर्नेछ ।20 तिमीहरूले दुष्ट काम गरी मलाई त्यागेकाले तिमीहरू चाँडै नष्ट नभएसम्म तिमीहरूले हात लगाउने हरेक थोकमा परमप्रभुले तिमीहरूमाथि श्राप, भ्रम र हप्की पठाउनुहुनेछ ।21 तिमीहरूले अधिकार गर्न जान लागेको देशमा तिमीहरूको नाउँनिशानै नमेटुञ्जेलसम्म परमप्रभुले तिमीहरूमाथि विपत्ति ल्याउनुहुनेछ ।22 परमप्रभुले तिमीहरूलाई सङ्क्रामक रोग, ज्वरो, सूज, खडेरी, प्रचण्ड ताप, चिलाउने बतास र ढुसीले आक्रमण गर्नुहुनेछ । तिमीहरू नष्ट नभएसम्म यी आइरहनेछन् ।23 तिमीहरूको शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको पृथ्वी फलाम हुनेछ ।24 परमप्रभुले तिमीहरूको देशको वृष्टिलाई धूलोपीठोमा बदल्नुहुनेछ । तिमीहरू विनाश नभएसम्म यो आकाशबाट आइरहनेछ ।25 परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुनेछ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जानेछौ, तर तिनीहरूबाट सात वटा बाटा भएर भाग्नेछौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइनेछौ ।26 तिमीहरूका लाश आकाशका चराचुरुङ्गीहरू र पृथ्वीका पशुहरूका लागि भोजन हुनेछन् । तिनीहरूलाई त्रसित पार्ने कोही हुनेछैन ।27 परमप्रभुले तिमीहरूलाई मिश्रका फोका, गिर्खा, पिला, चिलाउने रोगले आक्रमण गर्नुहुनेछ जसबाट तिमीहरू निको हुन सक्दैनौ ।28 परमप्रभुले तिमीहरूलाई पागलपन, अन्धोपन र मानसिक गोलमालले आक्रमण गर्नुहुनेछ ।29 अन्धोले अन्धकारमा छामछाम-छुमछुम गरेर हिँडे जस्तै तिमीहरू मद्यदिनमा हिँड्नेछौ, तिमीहरूले आफ्ना मार्गमा उन्नति गर्नेछैनौ । तिमीहरू सधैँ थिचोमिचोमा पर्नेछौ र लुटिनेछौ अनि तिमीहरूलाई बचाउने कोही हुनेछैन ।30 तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्नेछ । तिमीहरूले घर बनाउनेछौ, तर त्यसमा बस्न पाउनेछैनौ ।31 तिमीहरूले दाखबारी लगाउनेछौ, तर यसको फल खान पाउनेछैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिनेछ, तर तिमीहरूले त्यसको मासु खान पाउनेछैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिनेछ, र तिमीहरूले फिर्ता पाउनेछैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइनेछ, र तिमीहरूलाई सहायता गर्ने कोही हुनेछैन ।32 तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइनेछन् । तिमीहरूले पूरै दिन तिनीहरूको बाटो हेर्नेछौ, तर तिनीहरूलाई देख्नेछैनौ । तिमीहरूका हातमा कुनै शक्ति हुनेछैन ।33 तिमीहरूको देशको उब्जनी र तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिनेछ । तिमीहरू सधैँ थिचोमिचोमा पर्नेछौ र पेलिनेछौ ।34 यसरी तिमीहरू तिमीहरूले देख्नु परेको दृश्यद्वारा बौलाहा हुनेछौ ।35 परमप्रभुले तिमीहरूलाई तिमीहरूको शिरदेखि पैतालासम्म अनि घुँडा र खुट्टामा फोकाले आक्रमण गर्नुहुनेछ जसबाट तिमीहरू निको हुनै सक्दैनौ ।36 परमप्रभुले तिमीहरू र तिमीहरूले आफ्नो लागि रोजेका राजालाई तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिकहाँ धपाउनुहुनेछ । त्यहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देवताहरूलाई पूज्नेछौ ।37 परमप्रभुले तिमीहरूलाई सबै जातिको बीचमा धपाउनुहुनेछ जहाँ तिमीहरू हेला, तिरस्कार र गिल्लाका पात्र बन्नेछौ ।38 तिमीहरूले खेतमा धेरै बीउ लगाउनेछौ, तर थोरै मात्र कटनी गर्नेछौ किनकि सलहहरूले त्यसलाई खाइदिनेछन् ।39 तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्नेछौ, तर तिमीहरूले दाखरस पिउन पाउनेछैनौ, न त दाख नै जम्मा गर्न पाउनेछौ किनकि किराहरूले ती खाइदिनेछन् ।40 तिमीहरूका इलाकाभरि तिमीहरूले भद्राक्षका रूखहरू लगाउनेछौ, तर तिमीहरूले तेल निकाल्न पाउनेछैनौ, किनकि तिमीहरूका भद्राक्षका रूखहरूको फल झर्नेछन् ।41 तिमीहरूले छोराछोरीहरू जन्माउनेछौ, तर तिनीहरू तिमीहरूका हुनेछैनन् किनकि तिनीहरू दासत्वमा लगिनेछन् ।42 तिमीहरूका सबै रूख र तिमीहरूको भूमिको फललाई सलहहरूले नष्ट गरिदिनेछन् ।43 तिमीहरूको बीचमा बास गर्ने परदेशी तिमीहरू भन्दा माथि-माथि उठ्नेछ । तर तिमीहरूचाहिँ तल-तल झर्नेछौ ।44 त्यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्यसलाई ऋण दिनेछैनौ । त्यो शिर हुनेछ भने तिमीहरू पुच्छर हुनेछौ ।45 यी सबै श्राप तिमीहरूमाथि आइपर्नेछन् र तिमीहरू नष्ट नभएसम्म तिनले तिमीहरूको पिछा गर्नेछन् । उहाँले तिमीहरूलाई उहाँका आज्ञा र निर्देशनहरू पालन गर्न तिमीहरूले उहाँको कुरा नसुनेकाले यो हुनेछ ।46 चिन्ह र आश्चर्यको रूपमा यी श्रापहरू तिमीहरू र तिमीहरूका सन्तानहरूमाथि सदाको निम्ति आइपर्नेछन् ।47 तिमीहरूको उन्नति हुँदा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई हृदयबाट खुसीसाथ र आनन्दसाथ उहाँको आराधना नगरेकाले48 परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुहुने शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ । तिमीहरूले भोक, तिर्खा, नग्नता र गरिबीमा तिनीहरूको सेवा गर्नेछौ । उहाँले तिमीहरूलाई नष्ट नगरुञ्जेलसम्म उहाँले तिमीहरूको काँधमा जुवा हालिदिनुहुनेछ ।49 परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुनेछ जसको भाषा तिमीहरू बुझ्दैनौ ।50 यो एउटा क्रूर रूप भएको जाति हुनेछ जसले पाकाहरूलाई आदर गर्दैन र युवाहरूलाई स्नेह देखाउँदैन ।51 तिमीहरू नष्ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा-बाछी र तिमीहरूको देशको फल खानेछन् । तिमीहरूलाई नष्ट नगरुञ्जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्न, नयाँ मद्य वा तेल वा बाछा-बाछी वा भेडा-बाख्रा छाड्ने छैनन् ।52 तिमीहरूले भरोसा गरेका सहरहरूका अग्ला र मजबुत पर्खालहरू नढालेसम्म तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्नेछन् । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको तिमीहरूको देशका सबै सहरलाई तिनीहरूले घेराबन्दी गर्नेछन् ।53 तिमीहरूका शत्रुहरूले तिमीहरूमाथि कष्ट ल्याएको समयमा र तिमीहरूलाई घेराबन्दी गर्दा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएका तिमीहरूका आफ्नै सन्तान अर्थात् छोराछोरीका मासु खानेछौ ।54 तिमीहरूका बीचमा भएका कोमल र भद्र मानिसले पनि आफ्नै भाइ, आफ्नी प्यारी पत्नी र आफ्ना बाँकी रहेका बालबच्चालाई टिठ्याउनेछैन ।55 तिमीहरूको शत्रुले तिमीहरूका सबै सहरभित्र कष्ट ल्याएको समयमा र घेराबन्दी गर्दा यहाँसम्म हुनेछ कि त्यसले खाँदै गरेको आफ्ना बालबच्चाहरूको शरीरको मासु त्यसले कसैलाई दिनेछैन ।56 तिमीहरूको बीचमा भएकी कोमल र शिष्ट स्त्री जसले कोमलता र शिष्टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्न पनि चाहँदिन थिई, त्यस्ती स्त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी,57 अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्चाको मासु खानेछे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्तमा त्यसले त्यो मासु खानेछे ।58 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको महिमित र भययोग्य नाउँलाई आदर गर्न यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन पालन गरेनौ भने,59 परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानमाथि डरलाग्दा विपत्तिहरू ल्याउनुहुनेछ । ती लामो समयसम्म आउने भयानक डरलाग्दा र प्रचण्ड विपत्तिहरू हुनेछन् ।60 मिश्रमा जुन विपत्तिहरूदेखि तिमीहरू डराएका थियौ, उहाँले तिनै विपत्तिहरू तिमीहरूमाथि ल्याउनुहुनेछ ।61 ती तिमीहरूमा टाँसिनेछन् । यसको अतिरिक्त, तिमीहरू नष्ट नभएसम्म परमप्रभुले व्यवस्थाको यस पुस्तकमा नलेखिएका हरेक रोग र विपत्ति पनि तिमीहरूमाथि ल्याउनुहुनेछ ।62 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको कुरा नमानेकाले तिमीहरू आकाशका ताराहरूजत्तिकै सङ्ख्यामा धेरै भए तापनि तिमीहरूको सङ्ख्या थोरै हुनेछ ।63 तिमीहरूको भलो गर्न र तिमीहरूलाई गुणात्मक रूपमा वृद्धि गराउनमा परमप्रभु एक पटक जसरी रमाउनुभयो, त्यसै गरी तिमीहरूलाई नष्ट गरी विनाश गर्नमा उहाँ रमाउनुहुनेछ । तिमीहरूले अधिकार गर्न लागेको देशबाट तिमीहरू धपाइनेछौ ।64 परमप्रभुले तिमीहरूलाई पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म सबै जातिका बीचमा तितरबितर पारिदिनुहुनेछ । त्यहाँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका काठ र ढुङ्गाले बनेका देवताहरूको पूजा गर्नेछौ ।65 यी जातिहरूका बीचमा तिमीहरूले चैन पाउनेछैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ हुनेछैन । बरु, त्यहाँ परमप्रभुले तिमीहरूलाई थरथर काँप्ने हृदय, थाक्ने आँखा र शोक गर्ने प्राण दिनुहुनेछ ।66 तिमीहरूको जीवन तिमीहरूकै सामु आशङ्कामा झुण्डिनेछ । तिमीहरू हरेक दिन र रात डराउनेछौ अनि तिमीहरूको जीवनभर कुनै निश्चयता हुनेछैन ।67 तिमीहरूका हृदयमा हुने डर र तिमीहरूका आँखाले देख्नुपर्ने कुराहरूको कारणले बिहान तिमीहरूले ‘राति भइदिए हुन्थ्यो !’ भन्नेछौ भने राति तिमीहरूले ‘बिहान भइदिए हुन्थ्यो !’ भन्नेछौ ।68 परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूद्वारा तिमीहरू जुन बाटो भएर आएका थियौ त्यही बाटो भएर तिमीहरूलाई मिश्र देशमा फर्काएर लैजानुहुनेछ जुन बाटोको बारेमा उहाँले भन्नुभएको थियो, ‘तिमीहरूले फेरि मिश्र देख्नेछैनौ ।’ त्यहाँ तिमीहरूले आफैलाई कमारा-कमारीको रूपमा आफ्ना शत्रुहरूको हातमा बेच्नेछौ, तर कसैले तिमीहरूलाई किन्नेछैन ।”