27
मोशा र इस्राएलका धर्म-गुरुहरूले मानिसहरूलाई यसो भनी आज्ञा दिए, “आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर ।2 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा जान जब तिमीहरूले यर्दन नदी पार गर्नेछौ तब त्‍यस दिन तिमीहरूले ठूला-ठूला ढुङ्‌गाहरू खडा गरेर तिनलाई कमेरोले पोत्‍नू ।3 तिमीहरूले पार गरिसकेपछि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा त्‍यसको अधिकार गर्दा यो व्यवस्थाका सबै वचन तिनमा लेख्‍नू ।4 तिमीहरूले यर्दन पार गरिसकेपछि एबाल डाँडामा यी ढुङ्‌गाहरू खडा गर्नू जसमा मैले आज तिमीहरूलाई दिने यी आज्ञाहरू कमेरोले पोत्‍नू ।5 त्‍यहाँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति ढुङ्‌गाहरूको एउटा वेदी बनाउनू, तर तिनमा कुनै फलामे हतिहार प्रयोग नगर्नू ।6 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको वेदी प्रयोगमा नआएको ढुङ्‌गाको बनाउनू । त्‍यसमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई होमबलि चढाउनू ।7 त्‍यसमा तिमीहरूले मेलबलि र स्वैच्‍छिक बलि पनि चढाउनू । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्‍द मनाओ ।8 तिमीहरूले यी ढुङ्‌गाहरूमा यस व्यवस्थाका सबै वचन ज्‍यादै प्रस्टसँगै लेख्‍नू ।9 मोशा र पूजाहारी अर्थात् लेवीहरूले सारा इस्राएलीलाई भने, “हे इस्राएली हो, मौन भएर सुन । आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको जाति भएका छौ ।10 त्‍यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा पालन गर ।11 त्‍यही दिन मोशाले मानिसहरूलाई आज्ञा दिई भने,12 “तिमीहरूले यर्दन नदी पार गरेपछि मानिसहरूलाई आशिष् दिन यी कुलहरू गीरीज्‍जीम डाँडामा खडा होऊन्ः शिमियोन, लेवी, यहूदा, इस्साखार, योसेफ र बेन्‍यामीन ।13 श्रापको घोषणा गर्न यी कुलहरूचाहिँ एबाल डाँडामा खडा होऊन्ः रूबेन, गाद, आशेर, जबूलून, दान र नप्‍ताली ।14 ठूलो सोरमा लेवीहरूले इस्राएलीहरूलाई यसो भनेर जवाफ दिऊन्ः15 ‘कारीगरको हातले बनाएको जस्‍तै खोपेर वा ढालेर परमप्रभुको लागि घृणित मूर्ति गुप्‍तमा बनाउने मानिस श्रापित होस् ।’ तब सबै मानिसले भनून्, ‘आमेन ।’16 ‘आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ।’ तब सबै मानिसले भनून्, ‘आमेन ।’17 ‘आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्‌गो हटाउने मानिस श्रापित होस् ।’ तब सबै मानिसले भनून्, ‘आमेन ।’18 ‘दृष्‍टिविहीनलाई उल्टो बाटो देखाइदिने मानिस श्रापित होस् ।’ तब सबै मानिसले भनून्, ‘आमेन ।’19 ‘परदेशी, टुहुरा वा विधवाले पाउनुपर्ने न्‍याय हरण गर्ने मानिस श्रापित होस् ।’ तब सबै मानिसले भनून्, ‘आमेन ।’20 ‘आफ्नो पिताको अधिकार हरण गरी पिताकी पत्‍नीसँग सहवास गर्ने मानिस श्रापित होस् ।’ तब सबै मानिसले भनून्, ‘आमेन ।’21 ‘कुनै पनि किसिमको पशुसँग सम्भोग गर्ने मानिस श्रापित होस् ।’ तब सबै मानिसले भनून्, ‘आमेन ।’22 ‘आफ्ना बुबा वा आमाकी छोरी अर्थात् आफ्नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस् ।’ तब सबै मानिसले भनून्, ‘आमेन ।’23 ‘आफ्नी सासुसँग सहवास गर्ने मानिस श्रापित होस् ।’ तब सबै मानिसले भनून्, ‘आमेन ।’24 ‘आफ्नो छिमेकीलाई गुप्‍तमा मार्ने मानिस श्रापित होस् ।’ तब सबै मानिसले भनून्, ‘आमेन ।’25 ‘निर्दोष व्यक्तिलाई मार्न घूस लिने मानिस श्रापित होस् ।’ तब सबै मानिसले भनून्, ‘आमेन ।’26 ‘यस व्यवस्थाका वचन पूरा गर्न पालन नगर्ने मानिस श्रापित होस् ।’ तब सबै मानिसले भनून्, ‘आमेन ।’ ”