26
“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा आई यसको अधिकार गरेर वसोवास गर्छौ,2 तब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा भूमिको सबै उब्जनीको पहिलो फल लिनू । त्यसलाई एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्नुहुने ठाउँमा त्यसलाई लिएर जानू ।3 ती दिनमा सेवा गर्ने पूजाहारीकहाँ गएर यसो भन्नू, ‘परमप्रभु तपाईंका परमेश्वरले हामीलाई दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगेको छु भनी म उहाँको अगि स्वीकार गर्दछु ।’4 पूजाहारीले तिमीहरूका हातबाट डालोलाई लिई परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको सामू राखून् ।5 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सामु भन्नू, ‘मेरा पुर्खा फिरन्ते अरामी थिए । तिनी मिश्रमा गई त्यहीँ बसोबास गरे, र तिनका मानिसहरू सङ्ख्यामा थोरै थिए । त्यहाँ तिनीबाट एक महान्, शक्तिशाली र असङ्ख्य जाति बन्यो ।6 मिश्रीहरूले हामीलाई निष्ठुरतापूर्वक व्यवहार गरी हामीलाई दुःख दिए । तिनीहरूले हामीलाई कमाराहरूले गर्ने काम गर्न लगाए ।7 हामीले हाम्रा पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुलाई पुकार्यौँ, र उहाँले हाम्रो क्रन्दन, हाम्रो पीडा, हाम्रो श्रम र हाम्रो थिचोमिचो सुन्नुभयो ।8 परमप्रभुले हामीलाई शक्तिशाली हात, फैलिएको पाखुरा, ठूलो आतङ्क, चिन्ह र आश्चर्यहरूद्वारा मिश्रबाट ल्याउनुभयो ।9 अनि उहाँले हामीलाई यो ठाउँमा ल्याउनुभएको छ र हामीलाई दूध र मह बग्ने यो देश दिनुभएको छ ।10 अब हेर्नुहोस्, परमप्रभुले मलाई दिनुभएको यस देशको उब्जनीको पहिलो फल मैले तपाईंकहाँ ल्याएको छु ।’ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सामु त्यस डालोलाई राखेर उहाँको आराधना गर्नू ।11 अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू, तिमीहरूका बीचमा भएका लेवीसाथै परदेशीका निम्ति उहाँले गर्नुभएका सम्पूर्ण भलाइको कारणले आनन्द मनाओ ।12 दशांश दिने वर्ष अर्थात् तेस्रो वर्षमा तिमीहरूको उब्जनीको सबै दशांश अलग गरिसकेपछि तिमीहरूले त्यो परदेशी, अनाथ र विधवालाई दिनू ताकि तिमीहरूका सहरभित्र तिनीहरूले खाएर तृप्त होऊन् ।13 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सामु यसो भन्नू, ‘तपाईंले मलाई दिनुभएका सबै आज्ञामुताबिक जुन थोकहरू परमप्रभुका हुन् ती मैले मेरो घरबाट ल्याएर लेवी, परदेशी, अनाथ र विधवालाई दिएको छु । मैले तपाईंका कुनै पनि आज्ञा उल्लङ्घन गरेको छैनँ न त त्यसलाई बिर्सेको छु ।14 मेरो शोकको घडीमा मैले त्यो खाएको छैनँ, न म अशुद्ध हुँदा मैले त्यसलाई कतै राखेको छु, न त मृतकहरूको आदरमा मैले त्यो दिएको छु । मैले परमप्रभु मेरा परमेश्वरको आवाज सुनेको छु । तपाईंले मलाई दिनुभएको हरेक आज्ञा मैले पालन गरेको छु ।15 पवित्रस्थानबाट हेर्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ जुन स्वर्ग हो । तपाईंको जाति इस्राएल, तपाईंले हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको दूध र मह बग्ने देश अर्थात् हामीलाई दिनुभएको देशलाई आशिष् दिनुहोस् ।’16 आज परमप्रभु तिमीहरूका परमेश्वरले यी विधिविधानहरू पालन गर्न तिमीहरूलाई आज्ञा गर्दै हुनुहुन्छ । त्यसकारण, तिमीहरूका सारा हृदय र सारा प्राणले तिनको पालन गर र तिनलाई मान ।17 आज तिमीहरूले घोषणा गरेका छौ, कि परमप्रभु नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, र तिमीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू, आज्ञाहरू मान्नेछौ र उहाँको कुरा सुन्नेछौ ।18 आज परमप्रभुले घोषणा गर्नुभएको छ, कि तिमीहरू एउटा जाति हौ जो उहाँको प्रतिज्ञामुताबिक उहाँको आफ्नै निज सम्पत्ति हो, र तिमीहरूले उहाँका सबै आज्ञा मान्नेछौ ।19 अनि उहाँले सृजना गर्नुभएका सबै जाति भन्दा तिमीहरूलाई उच्चमा राख्नुहुनेछ, र तिमीहरूले प्रशंसा, ख्याति र आदर पाउनेछौ । तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभएझैँ उहाँको निम्ति अलग गरिएका जाति हुनेछौ ।”