25
“मानिसहरूका बीचमा झैझगडा भयो र तिनीहरू अदालतमा गए भने न्यायकर्ताहरूले तिनीहरूको न्याय गरून् अनि धर्मीलाई छाडिदिएर दुष्टलाई दोषी ठहराऊन् ।2 दोषी मानिसले पिटाइ खानुपर्छ भने न्यायकर्ताले त्यसलाई लम्पसार पर्न लगाएर न्यायकर्ताको उपस्थितिमा त्यसको अपराधअनुसार त्यसलाई कोर्रा हानोस् ।3 न्यायकर्ताले त्यसलाई चालीस कोर्रा लगाउन सक्छ, तर त्यस भन्दा बढीचाहिँ होइन । किनकि त्यस भन्दा बढी कोर्रा लगाए तिमीहरूको इस्राएली भाइ तिमीहरूको दृष्टिमा अपमानित हुनेछ ।4 दाइँ गर्दा गोरुलाई मोहोलो नलागाओ ।5 सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्नीलाई परिवार भन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्नी तुल्याओस्, र मृत लोग्नेको दाजु वा भाइले आफ्नो कर्तव्य पूरा गरोस् ।6 स्त्रीले जन्माउने पहिलो छोरोलाई मरेको व्यक्तिको नाउँ दिइयोस् ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस् ।7 तर देवरले आफ्नी भाउजुलाई राख्ने इच्छा गरेन भने मूल ढोकामा गई भाउजुले धर्म-गुरुहरूलाई यसो भनोस्, ‘मेरो देवरले इस्राएलमा त्यसको दाजुको नाउँ राख्न इन्कार गर्छ । त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य गर्दैन ।’8 तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर त्यससित कुराकानी गरून् । तर त्यसले ‘म भाउजुलाई राख्न चाहन्नँ’ भनी जिद्दी गर्यो भने9 भाउजु धर्म-गुरुहरूको उपस्थितिमा देवरकहाँ आई उसले त्यसको खुट्टाबाट जुत्ता फुकालेर त्यसको मुखमा थुकिदेओस् । भाउजुले यसो भनोस्, ‘आफ्नो दाजुको घर निर्माण नगर्ने मानिसलाई यसै गरिन्छ ।’10 इस्राएलमा त्यसको नाउँलाई ‘जुत्ता फुकालिएको घर’ भनिनेछ ।11 मानिसहरू एक-अर्कासित झगदा गर्दा एक जनाकी पत्नी आएर आफ्नो पतिलाई बचाउन विरोधीको गुप्ताङ्ग अँठ्याई भने,12 त्यसको हात काटिदिनू । त्यसलाई नटिठ्याउनू ।13 तिमीहरूले आफ्नो झोलामा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्नू ।14 तिमीहरूको घरमा पनि एउटै नापको लागि फरक किसिमका माना-पाथी नहोऊन् ।15 तिमीहरूसित सिद्ध र ठीक तौलका ढकसातै माना-पाथीहरू हुनुपर्छ ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूका आयु लामो होस् ।16 किनकि यस्ता कुराहरू गर्ने अर्थात् बेइमानीपूर्वक काम गर्ने सबै परमप्रभु तिमीहरूका परमेश्वरको लागि घृणित हुन् ।17 तिमीहरू मिश्रबाट आउँदा बाटोमा अमालेकीहरूले गरेको कुरो याद राख्नू ।18 तिनीहरूले तिमीहरूलाई बाटोमा भेटे र थाकेर हैरान भएकाहरू सबैलाई तिनीहरूले आक्रमण गरे । तिनीहरूले परमेश्वरको आदर गरेनन् ।19 त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा तिमीहरूका वरिपरि भएका तिमीहरूका सबै शत्रुबाट तिमीहरूलाई विश्राम दिनुभएपछि आकाशमुनि अमालेकीहरूको नाउँनिशानै मेटिदिन नभुल्नू ।”