17
“तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको लागि कुनै पनि खोट लागेको वा खराब भएको बलि नचढाउनू किनकि त्यो परमप्रभु तिमीहरूका परमेश्वरको लागि घृणित कुरो हुनेछ ।2 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा परमप्रभु तिमीहरूका परमेश्वरको दृष्टिमा तिमीहरूका बीचमा कुनै पुरुष वा स्त्रीले दुष्ट काम गर्यो भने वा उहाँको करार भङ्ग गर्यो भने,3 मैले आज्ञा नगरेको अन्य देवताहरूको पछि लागेर तिनीहरूको पूजा गर्यो भने वा सूर्य, चन्द्रमा वा कुनै पनि आकाशीय पिण्डलाई ढोग्यो भने,4 र यस बारेमा तिमीहरूलाई बताइयो भने वा तिमीहरूले यस बारेमा सुन्यौ भने तिमीहरूले होशियारीसाथ अनुसन्धान गर्नू । इस्राएलमा त्यस्तो घृणित कुरो गरिएको साँचो र निश्चित ठहरियो भने तिमीहरूले गर्नुपर्ने कुरो यही हो ।5 यस्तो दुष्ट काम गर्ने त्यो पुरुष वा स्त्रीलाई तिमीहरूले सहरको प्रवेशद्वारमा ल्याएर हरेक पुरुष, स्त्री र तिमीहरूले ढुङ्गाले हानेर मार्नू ।6 दुई वा तीन जना साक्षीको आधारमा त्यसलाई मारिनेछ । तर एक जना मात्र साक्षीको आधारमा त्यसलाई मारिनुहुँदैन ।7 तिनीहरूलाई मार्न ती साक्षीहरूले पहिले आ-आफ्ना हात उठाऊन् त्यसपछि अरू सबै मानिसले आ-आफ्ना हात उठाऊन् । यसरी तिमीहरूले आफ्ना बीचबाट दुष्टतालाई हटाउनेछौ ।8 हत्या वा दुर्घटनाबाट भएको मृत्यु वा एउटा वा अर्को व्यक्तिको अधिकार वा एउटा किसिमको हानि वा अर्को किसिमको विषय वा तिमीहरूका बीचमा भएका कुनै पनि वादविवाद मिलाउन तिमीहरूलाई गाह्रो भयो भने परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्नुहुने ठाउँमा जानू ।9 तिमीहरू लेवीका सन्तानहरू अर्थात् त्यस बेला न्यायको लागि सेवा गर्ने पूजाहारीहरूकहाँ जानू । तिनीहरूका सल्लाह लिनू र तिनीहरूले निर्णय सुनाउनेछन् ।10 परमप्रभुले आफ्नो पवित्र वासस्थानको रूपमा छान्नुहुने ठाउँमा तिमीहरूलाई दिइएको व्यवस्थालाई तिमीहरूले मान्नू ।11 तिनीहरूले गर्न भनी तिमीहरूलाई निर्देशन दिने हरेक कुरो मान्न तिमीहरू होशियार होओ । तिनीहरूले सिकाउने नियमलाई पछ्याउनू, र तिनीहरूले दिएको निर्णयअनुसार गर्नू । तिनीहरूले बताउने कुराबाट दायाँ वा बायाँतिर नतर्कनू ।12 परमप्रभु तिमीहरूका परमेश्वरको सामु सेवा गर्न खडा हुने पूजाहारी वा न्यायकर्ताको कुरा अहंकारी भएर नसुन्ने व्यक्ति मारिनेछ । तिमीहरूले इस्राएलबाट दुष्टता हटाओ ।13 सबै मानिस यो सुनेर डराउनेछन् अनि अब उसो अहंकारी हुनेछैनन् ।14 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा आइपुगेर यसको अधिकार गरेपछि र यसमा बसोबास गर्न थालेपछि तिमीहरूले ‘हाम्रा वरिपरि भएका सबै जातिले जस्तै हाम्रो शासन गर्न राजा चुन्नेछौँ’ भन्यौ भने,15 परमप्रभु तिमीहरूका परमेश्वरले चुन्नुहुने व्यक्तिलाई तिमीहरूले निश्चय नै राजाको रूपमा चुन्नू । तिमीहरूका दाजुभाइका बीचबाट नै तिमीहरूले आफ्ना लागि राजा चुन्नू । कुनै पनि परदेशीलाई आफ्नो राजा नबनाओ ।16 तर ती राजाले आफ्नो लागि घोडाहरूको वृद्धि नगरून् न त घोडाहरूको वृद्धिको लागि मानिसहरूलाई मिश्रमा फर्कन लगाऊन् किनकि ‘तिमीहरू त्यसरी फेरि कहिल्यै नजाओ’ भनी परमप्रभुले तिमीहरूलाई भन्नुभएको छ ।17 तिनले आफ्ना लागि धेरै पत्नीहरू नल्याऊन् नत्रता तिनको हृदय बरालिनेछ । तिनले सुन र चाँदीको थुप्रो नलगाऊन् ।18 तिनी आफ्नो राज्यको सिंहासनमा बस्दा तिनले पूजाहारीहरू अर्थात् लेवीहरूको सामु राखिएको व्यवस्थाको प्रतिबाट आफ्नो लागि एक प्रति मुट्ठामा उतारून् ।19 त्यो मुट्ठा तिनीसितै हुनुपर्छ, र तिनले आफ्नो जीवनभरि यसलाई पढ्नुपर्छ । यसरी तिनले परमप्रभु आफ्ना परमेश्वरको आदर गर्न सकून् अनि यस व्यवस्थाको सबै वचन र विधिविधान पालन गर्न सकून् ।20 तिनले आफैलाई आफ्ना दाजुभाइहरू भन्दा श्रेष्ठ नठानून् र यी आज्ञाहरूबाट तर्केर दायाँ वा बायाँ नलागून् भनेर तिनले यसो गर्नुपर्छ किनकि आफ्नो राज्यमा तिनी र तिनका सन्तानहरूले इस्राएलमा लामो समयसम्म शासन गर्नुपर्ने हुन्छ ।”